गुल्मीमा भेटिए १३ प्रजातिका नयाँ चरा

हिमाल प्रेस ५ फागुन २०७९ ११:१५ | Friday, February 17, 2023
गुल्मीमा भेटिए १३ प्रजातिका नयाँ चरा तस्बिरः बीसीएन।

गुल्मी- गुल्मीमा १३ प्रजातिका नयाँ चरा फेला परेका छन्। मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुंगा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए।

योसँगै गुल्मीमा चराको ३१२ प्रजाति पुगेका छन्। हाल मदाने क्षेत्रमा २७२ र रेसुंगा क्षेत्रमा २५८ प्रजातिका चरा भेटिएका हुन्। यी दुवै क्षेत्रमा पाइने २१८ प्रजातिका चरा छन्।

नेपालमा हालसम्म ८९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन्।

चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन्। रेसुंगा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन्।

गुल्मीमा विश्वकै दुर्लभ ६ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो। यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन्।

रेसुंगामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए। उनका अनुसार रेसुंगालाई थप संरक्षणका लागि काम गरिनेछ। डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताए।

चराको वासस्थान मानिने रेसुंगा क्षेत्र आफूहरूले संरक्षण गर्ने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। तर, रेसुंगा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ।

मदाने र रेसुंगा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन। मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुंगा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो।

वन विनाश, वासस्थान परिवर्तन र चोरी सिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ। रेसुंगा वन संरक्षण क्षेत्र १९ हजार २८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार ७६१ हेक्टरमा फैलिएको छ।

विश्वमा रहेकामध्ये ८.९ प्रतिशत चरा नेपालमा पाइन्छन्। नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो। गुल्मीको मदाने र रेसुंगा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको छ, जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ।

प्रकाशित: ५ फागुन २०७९ ११:१५ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast