सरकारले चालु आवको बजेट १४ प्रतिशतले घटायो [अर्धवार्षिक मूल्यांकन प्रतिवेदनसहित]

हिमाल प्रेस २९ माघ २०७९ १६:४६ | Sunday, February 12, 2023
सरकारले चालु आवको बजेट १४ प्रतिशतले घटायो [अर्धवार्षिक मूल्यांकन प्रतिवेदनसहित] प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटाएको छ। प्रतिनिधिसभामा आइतबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन पेस गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएका हुन्।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए।

पौडेलले समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेका हुन्। मन्त्री पौडेलका अनुसार यो रकम सुरु विनियोजनको ८६.४१ प्रतिशत हो।

मन्त्री पौडेलले १३ खर्ब ४१ अर्बको राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको जानकारी दिए।

अर्थमन्त्री पौडेलले चालु खर्चमा मिताव्ययिता कायम गरी खर्चलाई पुनःप्राथमिकीकरण गर्ने बताए। उनले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८४ करोड १६ लाख र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात् ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारको छ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुअघि आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सम्भव नभएको बताए।

‘कृषि र पर्यटन उद्योगमा सामान्य सुधार देखिए पनि उत्पादनमुलक उद्योग क्षमताअनुसार चल्न सकेका छैनन्,’ उनले भने, ‘सरकारको खर्च आम्दानीभन्दा बढी भएकाले आर्थिक वृद्धिदर अपेक्षाकृत हुने देखिँदैन।’

मन्त्री पौडेलले सरकारलाई बजेट सन्तुलन कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुर्‍याएको बताए। कोभिड(१९ ले ल्याएको आर्थिक मन्दी, रसिया(युक्रेन युद्धको विश्वव्यापी प्रभाव र आपूर्तिजन्य अवरोधलगायतले आर्थिक पुनरुत्थानमा प्रभावित बनाएको पौडेलको भनाइ छ।

उनले कोभिड महामारीको समयमा लिइएका अल्पकालीन योजना समीक्षा हुन नसक्दा सरकारी ढुकुटी थप समस्यामा गएको बताए।

आर्थिक गतिविधिमा आएको सुस्तता र आयातमा गरिएको कडाइले राजस्व संकलनमा असर परेको पौडेलले बताए। ‘खुला सीमा, चोरी पैठारी, अवैध आयात लगायतले पनि राजस्व संकलनमा समस्या निम्त्याएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यसबारे सरकार जानकार छ र समस्या समाधान गर्न लागिपरेका छौँ।’

सरकारलाई तत्कालीन र दीर्घकालीन दायित्वले स्रोत व्यवथापनमा समस्या देखिएकाले अत्यावश्यक बाहेकका खर्च कटौती गरेको पनि जानकारी गराए। उनले भने, ‘करिब २० प्रतिशत खर्च कटौतीको निर्णय लिएको छु।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समाधान गर्न निजी क्षेत्रको विश्वास लिने र पहल लिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २९ माघ २०७९ १६:४६ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast