अंहिसा शताब्दी महोत्सव मनाउँदै चुम उपत्यका

हिमाल प्रेस २९ माघ २०७९ १५:५९
144
SHARES
अंहिसा शताब्दी महोत्सव मनाउँदै चुम उपत्यका

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गतको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव हुने भएको छ। २०८० साल वैशाख ६ गतेदेखि ९ गतेसम्म छेकम्पारमा शताब्दफ श्याग्या महोत्सव आयोजना गर्न लागिएको हो। अंहिसालाई स्थानीय भाषामा श्याग्या भनिन्छ।

अंहिसा क्षेत्र घोषणा भएको एकसय वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको हो। यस क्षेत्रको चिनारी हिमालसँगै अहिंसा क्षेत्रको रुपमा पनि होस् भन्ने उद्देश्य राखेर जैविक विविधताको संक्षरणमा योगदान पुर्‍याउन महोत्सव आयोजना गरिएको अहिंसा शताब्दी महोत्सव मूल आयोजक समितिका अध्यक्ष निमा लामाले बताए।

चुमनुब्री गाउँपालिकाका अध्यक्षसमेत रहेका लामाले भने, ‘यस महोत्सवले हामी सम्पूर्ण चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा हामीहरुको सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विश्वस्त छौँ,’ काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा लामाले भने, ‘१०० वर्षदेखि निरन्तरता दिएको अहिंसा अभियानमा सरकार प्रमुखको पनि प्रतिबद्धता खोजेका हौँ।’

महोत्सवको उद्घाटन वैशाख ६ गते प्रधानमन्त्रीले गर्नेछन्। उद्घाटनसँगै त्यसदिन शान्ति दीप प्रज्वलन, प्रकृति पूजा, अंहिसा क्षेत्र निरन्तरताको लागि सरकारी प्रतिबद्धता कायम गराउने कार्यक्रम हुनेछ।

७ गते शान्ति पदयात्रासँगै, धर्म गुरुबाट क्षमापूजा, सांस्कृतिक कार्यक्रम हुनेछ। त्यस्तै वुद्धको प्रवचन पनि सुनाइनेछ। महोत्सवकै अवसर पारेर त्यस क्षेत्रमा वृक्षारोपणको पनि तयारी गरिएको छ। महोत्सवको तेस्रो दिन ८ गते अंहिसा क्षेत्र संरक्षण र निरन्तरताका लागि युवाहरूबीच गोष्ठी सञ्चालन हुनेछ।

अंहिसा महोत्सव २०७७ सालमा नै गर्ने तयारी भए पनि कोभिड महामारीलगायतका कारण रोकिएको थियो। अहिंसा क्षेत्र घोषणा र निरन्तरता भएको १०० वर्ष २०७७ सालमा नै पुगेको थियो।

आयोजक समितिका अनुसार विसं.१९७७ सालको वुद्धजयन्तीको अवसर पारेर अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले चुमउपत्यकाका स्थानीयलाई हिंसा नगर्न सामुहिक प्रतिबद्धता गराएका थिए। यो क्षेत्र चीनको तिब्बतसँग सीमा जोडिएको क्षेत्र हो।

यहाँका स्थानीयले जनावर काटमार नगर्ने, डढेलो नलगाउने, शिकार नगर्ने, बुढो भएको जनावरलाई नमार्ने र त्यस्ता जनावरको मासु खाने व्यक्तिलाई नबेच्ने, चौँरीका बाच्छाहरू नमार्ने प्रतिबद्धतालाई सय वर्षदेखि निरन्तरता दिइरहेका छन्।

आयोजक समितिका अध्यक्ष लामाले गोरखाको चुम उपत्यका जस्तो निश्चित भूगोललाई नै अंहिसा क्षेत्र तोकिएको बारे आफूलाई थाहा नभएको पनि बताए।

‘चार किल्ला तोकेर भू-क्षेत्र नै अंहिसा क्षेत्र गरिएको अन्त कतै छैन। यो ठाउँ वुद्ध दर्शन र वैविक विविधताको खुला संग्रहालय हो’ लामाले भने। चार किल्ला तोकेर अंहिसा क्षेत्र घोषणा गर्ने काम भने २०६५ सालमा गरिएको हो। त्यसबेला छेकम्पार गाउँ परिषद्‌ले स्थानीयसँग प्रतिबद्धता गराएको थियो। यसबाहेक १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीयले हिंसा नगर्ने सामुहिक प्रतिबद्धता गरेका थिए। महोत्सवका लागि एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: २९ माघ २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =