काठमाडौँ- धनुषाको धनौजी गाउँपालिका-३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ )का २३३ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाइएपछि उक्त परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मको क्षेत्रमा पर्ने उक्त स्थानको जग्गा नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्साको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीय परिवारले लामो समयसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन्।
करिब ११ वर्षदेखि रोकिएको प्रक्रिया अघि बढाएर अहिले २३३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त भएपछि लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका परिवारलाई राहत पुगेको छ।




