काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ।
विनिता खड्का केन्द्रीय सदस्यमा निर्वाचित भए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले हालका लागि निर्वाचन समितिले परिणाम यथास्थितिमा राख्ने निर्णय गरेको हो।
महाधिवेशनका क्रममा मत मागिरहेका बेला ‘ठगी’ सम्बन्धी आरोपमा खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। सोमबार अदालतले भने उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
मतपरिणामअनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी छन्।
निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् ।
निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो।




