नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित उद्योगपति विनोद चौधरी।
काठमाडौँ- वाइवाइ चाउचाउलाई विश्व बजारमा पुर्याएका, चौधरी समूहलाई विस्तार गरेका र फोर्ब्सको सूचीमा नेपालका एकमात्र डलर अर्बपतिका रूपमा सूचीकृत विनोद चौधरीले अब आफ्नो परिचयमा नेपाली कांग्रेसको शीर्ष तहका नेता पनि थपेका छन्। व्यवसायमा साम्राज्य विस्तार गर्न दशकौँ खर्चिएका चौधरीले राजनीतिमा भने एक दशक नबित्दै पार्टीको शीर्ष तहसम्मको यात्रा तय गरेका हुन्।
सन् २०२५-२६ को फोर्ब्स सूचीअनुसार करिब दुई अर्ब १० करोड अमेरिकी डलर (हालको विनिमयदरअनुसार करिब ३ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ) सम्पत्तिका मालिक चौधरी विश्वका दुई हजार धनाढ्यको सूचीभित्र पर्छन्। विश्वका धनाढ्यमा उनको स्थान दुई हजारको सूचीभित्र छ अर्थात् विश्वको दुई हजार धनाड्य गन्दा उनी पनि एकमा पर्छन्।
चौधरीको परिचय उद्योगपतिमा सीमित छैन। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति निर्वाचित भएपछि उनी पार्टीको शक्ति संरचनाको केन्द्रमा आइपुगेका छन्। कांग्रेस उपसभापति निर्वाचित भएका उनको राजनीतिक यात्रामा अर्को खुड्किलो थपिएको हो।
समावेशी समूहबाट उपसभापतिमा प्रतिस्पर्धा गरेका उनले १ हजार ७ सय ४५ मत पाए। निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६ सय ५८ मत प्राप्त गरे। फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत पाए।
मतान्तर ठूलो नभए पनि यसको सन्देश अर्थपूर्ण थियो। लामो राजनीतिक अनुभव बोकेकाहरूलाई पछि पार्दै चौधरी शीर्ष तहमा प्रवेश गरे। उनी कुनै न कुनै रूपमा उद्यमी हुँदा पनि राजनीतिमा थिए। उनीसँग सल्लाह र सहयोग नलिएको राजनीतिक दल र नेता विरलै होलान्। त्यही अर्थमा पनि उनी राजनीतिको केन्द्रमा भने सधै थिए। तर राजनीतिमा डुबुल्कि नै मारेको भने धेरै भएको छैन।
९ वर्षअघि कांग्रेस प्रवेश गरेका उद्योगपति चौधरी पार्टीको उपसभापतिमा निर्वाचित हुनु छोटो समयको असाधारण छलाङ हो। तर पदमा पुग्ने गति र जनताको जीवनमा परिवर्तन ल्याउने क्षमता एउटै होइनन्। वर्षौंदेखि वकालत गर्दै आएको नीतिगत सुधार र विकासको अवधारणालाई व्यवहारमा उतार्नुपर्ने चुनौती छ। त्यहीँबाट उनको राजनीतिक यात्राको वास्तविक मूल्यांकन सुरु हुनेछ।
राजनीतिक यात्रा छोटो, पृष्ठभूमि लामो
उनको औपचारिक राजनीति यात्रा कांग्रेसबाट सुरु भएको होइन। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेको समानुपातिक सभासद बने। उनलाई ‘पार्टीलाई सहयोग गरेको र समानुपातिकमा परेको’ भनेर पैसासँग पद किनेको आरोप पनि लगाइयो तर उनको क्षमता राजनीतिमा आउने प्रकारकै रहेको धेरै कम व्यक्तिले मात्र बुझेका थिए। त्यतिबेला उनको पहिचान संगठित कार्यकर्ता भन्दा पनि उद्योगीको थियो। पञ्चायतकालमा राजपरिवारसँग नजिक रहेको परिवारको व्यावसायिक पृष्ठभूमि थियो।
२०४६ सालको परिवर्तनपछि उनी एमालेसँग नजिकिएको भनिए पनि उनी औपचारिक रूपमा कतै देखिएका थिएनन्। सहयोग र सुझाव भने सबै दललाई दिँदै आएका थिए। उनले राजनीतिमा संविधानसभामार्फत औपचारिकता देखाएका हुन। उनी स्वतन्त्र र लोकतान्त्रिक अभ्यास गर्ने मात्र होइन जिम्मा दिएर आफ्नो व्यवासाय फैलाउँदै आएका व्यक्ति थिए। समूहमा विश्वास राख्ने उनी जिम्मा दिएको व्यक्तिबाट भने सतप्रतिशत मेहनत खोज्ने व्यक्ति हुन्। त्यही भएर उनी आदेश दिने भन्दा नेतृत्वलाई जिम्मेवार बनाउन रुचाउ छन्।
केन्द्रको आदेशमा मात्र काम गर्ने होइन भन्ने सोच हुनाले उनी एमालेमा अटाउन सकेनन् र २०७४ सालमा नेपाली कांग्रेस प्रवेश गरे। त्यसलगत्तै उनी समानुपातिक सांसद बने। त्यसपछि उनको राजनीतिक यात्राले नयाँ मोड लियो। २०७८ सालको १४औं महाधिवेशनबाट मधेशी समावेशी समूहबाट केन्द्रीय सदस्य निर्वाचित भए। यसपटक पनि समावेशी बाटो रोजेर उपसभापति बने। उनी खुला रूपमा पनि आउन सक्थे तर आफ्नो समुदाय र पहिचानलाई बिर्सेनन् वा भुल्न चाहेनन्।
मारवाडी समुदायको पृष्ठभूमिबाट आएका उनले समावेशी संरचनामार्फत स्थान बनाए। अब त्यस प्रतिनिधित्वको मर्मअनुसार काम गर्नुपर्ने हुनाले सबैभन्दा पुरानो राजनीतिक दल भित्र उनको परीक्षा सुरु भएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नवलपरासी पश्चिम-१ बाट निर्वाचित भए। करिब २९ हजार ५०० मत पाएर हृदयेश त्रिपाठीलाई पराजित गरे। तर २०८२ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग ठूलो अन्तरमा पराजित भए अर्थात् उनी पनि रास्वपाको त्यो बाढीमा हेलिए।
संसदीय पराजय र पार्टीभित्रको उन्नति एकै समयमा देखिएको छ। उनी आफ्नो क्षेत्रमा पपुलर हुँदा हुँदै पनि पछिल्लो लहरका कारण जनताबाट प्रत्यक्ष अनुमोदन हुन सकेनन्। जुन उनको पहिलो राजनीतिक हार थियो। पुराना दल पुस्तासँगको वितृष्णा बढाउने काम हुँदा उनी त्यो भेलमा परेका थिए। तर अहिले उनी आन्तरिक निर्वाचनबाट दलभित्र भने शीर्ष पदमा पुगे। उनले आफ्नो क्षेत्रलाई मझबुत बनाउने मात्र होइन अब पार्टीभित्रको समर्थनमा रहेर फरक भूमिका खेल्न सक्छन् भन्ने देखाएको छ।
देउवाको नेतृत्वकालदेखि गगन थापाको नयाँ समीकरणसम्म उनी अटाए। उनले कांग्रेसभित्र उपस्थिति कायम राखे। परम्परागत रूपमा वडा-गाउँ-जिल्ला हुँदै माथि आएका भन्दा पनि व्यवसायबाट देशलाई नै प्रतिनिधित्व गरेर राजनीतिमा आएका नेताको छवि उनले बनाएका छन्। उद्योग, लगानी र व्यवस्थापनको अनुभव नै उनको मुख्य पूँजी हो। पार्टी नेतृत्व परिवर्तन हुँदा पनि उनले आफूलाई गुम्न दिएनन्।
वाइवाइको ब्रान्डदेखि नीतिगत सुधारसम्म
व्यवसायमा उनको सफलता राजनीतिक परिचयको बलियो आधार हो। वाइवाइ चाउचाउलाई नेपालबाट विश्व बजारसम्म पुर्याए। भारत, सर्बिया, बंगलादेश र इजिप्टलगायतमा कारखाना छन्। चौधरी समूहमा १ सय ६० कम्पनी र १ सय २३ ब्रान्ड जोडिएका छन्। यो उनको सफलताको एक उदाहरण हो। यो उनको कूटनीतिक सहकार्यको एक उदाहरण पनि हो।
उनको लगानी आतिथ्य सेवा, हाउजिङ, वित्तीय सेवा, शिक्षा र अन्य विविध उत्पादन मुलुक क्षेत्रमा पनि विस्तार छ। नेपालको पहिलो डिपार्टमेन्ट स्टोर खोल्ने उनका पिताको विरासतबाट सुरु भएको यो यात्रा अब बहुराष्ट्रिय रूपमा फैलिएको छ। नेपालमा उद्योगीहरूले राजनीतिक पहुँचलाई व्यावसायिक सहजतासँग जोड्ने आरोप सुनिन्छ। तर उनी व्यवासयबाट विश्वका दुई हजार व्यक्ति मध्ये एक बनेपछि राजनीतिमा आएका हुन्। कैयनले राजनीतिलाई नै व्वयसायको खुड्किलो बनाइरहँदा त्यसलाई सुधार गर्न चौधरी आएका हुन् भन्ने आभास दिएको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ।
चौधरीले भने राजनीतिमा पैसा कमाउन नभई नीतिगत सुधार र विकासको ढाँचा प्रस्तुत गर्न आएको बताउँदै आएका छन्। उद्योगमा लगानी, रोजगारी, उत्पादन र निर्यातका चुनौती उनले नजिकबाट बुझेका छन्। ती अनुभवलाई पार्टीको आर्थिक नीति, निजी क्षेत्रको विकास र रोजगारी सिर्जनासँग जोड्न सके उनको उपस्थिति अर्थपूर्ण हुनेछ। तर सफल व्यवसायी हुनु र सफल राजनीतिक नेता हुनु एउटै कुरा होइन।
व्यवसायमा निर्णय केन्द्रित हुन्छ। राजनीतिमा फरक विचार, सामाजिक विविधता र जनअपेक्षाबीच सहमति खोज्नुपर्छ। व्यवसायमा नाफा र विस्तार मापन हुन्छ। राजनीतिमा सार्वजनिक हित र नागरिकको विश्वास निर्णायक हुन्छ। यो भिन्नता आत्मसात् गर्न सके उनको अनुभव कांग्रेसका लागि उपयोगी हुन सक्छ। अन्यथा ब्रान्डको सफलतालाई राजनीतिक सफलताको प्रमाण ठान्ने जोखिम रहन्छ।
उपसभापतिमा चौधरीको परीक्षा नेतृत्वमा रहने र दललाई नेतृत्व गर्ने पछिल्लो सुरुवात हो। संसदीय चुनावमा पराजित भए पनि पार्टीको शीर्ष पदमा पुगेका उनी अब संगठन सुदृढीकरण, आर्थिक नीतिको स्पष्टता र जनविश्वास पुनर्निर्माणमा कति प्रभावकारी हुन्छन् भन्ने प्रश्नको सामना गर्नेछन्। त्यसलाई सम्बोधन गर्दै आगामी दिनमा पार्टी नेतृत्व दिन उनी अग्रसर हुने विश्वास देखिन्छ।
व्यवसायमा उनले नामलाई उत्पादन र ब्रान्डसँग जोड्न सके। राजनीतिमा नामभन्दा ठूलो कुरा नीति, निर्णय र परिणाम हुन्छ। वाइवाइ मात्र होइन उनको अन्य ब्रान्डको सफलता बजारले प्रमाणित गरेको छ। उपसभापतिका रूपमा उनको सफलता समय र कामले प्रमाणित गर्नुपर्नेछ।
यसलाई उनले कसरी अघि बढाउँछन्, वरपर कस्ता मानिस राखेर हिँड्छन् त्यसमा पनि राजनीतिले बाटो तय गर्नेछ। त्यसैले मसिना कुरामासमेत ध्यान दिएर अघि बढेमा डलर अर्बपति चौधरीले पुरानो दलको नेतृत्व र देशको नेतृत्व गर्न सक्नेछन्।




