दुई महिनामा तीन ठूला बाढी : गण्डकी जलाधारमा किन दोहोरिन्छ विपद्?

किरण पौडेल २८ असोज २०८३ १२:३१ | Wednesday, October 14, 2026
4
SHARES
दुई महिनामा तीन ठूला बाढी : गण्डकी जलाधारमा किन दोहोरिन्छ विपद्?

काठमाडौँ- पछिल्लो दुई महिनामा भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएका तीन ठूला बाढीले जनधन, बस्ती र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएका छन्। बाढीमा सयौँ मानिसको ज्यान गएको छ भने पाँच हजारभन्दा बढी बेपत्ता भएका छन्। सडक, पुल, जलविद्युत् आयोजना र बस्तीमा क्षति पुगेपछि प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।

छोटो अवधिमै एउटै नदी प्रणालीका तीन सहायक नदीमा ठूला बाढी आउनुले हिमाली क्षेत्रबाट उत्पन्न हुने नदीहरूको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। तर यी घटनाको प्रकृति, कारण र सम्भावित जोखिमबारे पर्याप्त अध्ययन हुन सकेको छैन।

भौगोलिक रूपमा भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी तीनवटै नदी नारायणी नदी प्रणालीका सहायक नदी हुन्। रसुवाको भोटेकोशी त्रिशूली हुँदै नारायणीमा मिसिन्छ। गोरखाको बूढीगण्डकी पनि धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा मिसिन्छ भने मुस्ताङबाट बग्ने कालीगण्डकी म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा, पूर्वी नवलपरासी हुँदे देवघाटमा नारायणीमा मिसिन्छ। यी नदीलाई गण्डकी जलाधार पनि भन्ने गरिन्छ।

भदौ १० मा रसुवाको भोटेकोशीमा बाढी आएको थियो। त्यसपछि असोज दोस्रो साता कालीगण्डकीमा बाढी आयो भने असोज २५ मा बूढीगण्डकीमा ठूलो बाढी आयो। लगातारका यी घटनाले नदी तटीय क्षेत्रको जोखिम र विपद् व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

जलाधारविज्ञ मधुकर उपाध्यायले गण्डकी जलाधार क्षेत्रमा पछिल्लो समय भएका तीनवटै घटना नयाँ प्रकृतिका रहेको बताए। उनका अनुसार यी विपद्का प्रमुख कारणमध्ये तापक्रम वृद्धि एक हो। उनले हिमालप्रेससँग भने, ‘चट्टान र ग्लेसियर जमेर बसेका हुन्छन्। हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा त्यस्ता संरचना कमजोर हुँदै गएका छन्। परिणामस्वरूप  पहिरा जाँदा विपद् निम्तिएको हो। यो निकै चिन्ताको विषय छ।’

उपाध्यायले भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीसँगै बगेको माटो उच्च हिमाली क्षेत्रबाट आएको बताए। केही वर्षअघि मेलम्चीमा र गत भदौमा भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको माटोको प्रकृति पनि उस्तै रहेको उनको भनाइ छ।

उनले हिमाली क्षेत्रबाट उत्पन्न हुने नदीका तटीय क्षेत्रमा यस्ता घटना बढ्न सक्ने भएकाले विकास आयोजना निर्माण गर्दा जोखिमको आकलन गर्नुपर्नेमा जोड दिए। ‘बूढीगण्डकीमा आएको बाढीले निर्माणाधीन जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनामाथि पनि प्रश्न उठाएको छ,’ उनले भने।

पुल्चोक इन्जिनियरिङ क्याम्पसअन्तर्गतको विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले गण्डकीका सहायक नदीमा पछिल्लो दुई महिनामा ठूला बाढी आए पनि एउटै नदी प्रणालीमा यसरी बाढी दोहोरिनुको कारणबारे अध्ययन हुन नसकेको बताए।

‘गण्डकीका सहायक नदीमा पछिल्ला दुई महिनामा ठूला बाढी आएका छन्। यसरी एउटै नदी प्रणालीमा केन्द्रित भएर बाढी आएको विषयमा अध्ययन हुन सकेको छैन,’ उनले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अन्य बाढीको तुलनामा बुढीगण्डकीमा गत आइतबार आएको बाढीमा बालुवा तथा सानाठूला ढुंगाको तुलनामा माटोको मात्रा बढी रहेको देखिन्छ। प्राधिकरणले बुधबार जारी गरेको प्रतिवेदनमा माटोको मात्रा बढी भएको कारण उक्त प्रवाहमा बिस्तारै वहने प्रकारको प्रवाहको विशेषता देखिएको उल्लेख छ।

प्राधिकरणका अनुसार यसको प्रमुख कारण घटनााको उद्गमस्थलमा पाइने पत्रे चट्टान तथा गेग्रानमा माटोको मात्रा तुलनात्मक रूपमा बढी हुनु हो।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार उक्त पहिरोका कारण करिब ३.५ शक्ति उत्पन्न भएको देखिन्छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार गण्डकी क्षेत्रमा निरन्तर विपद् निम्तिने गरी पहिरो जानुमा भूकम्प पनि एउटा कारण हो। उनले भने, ‘२०७२ को भूकम्पपछि गोरखादेखि दोलखासम्म सानाठूला गरी २५ हजार परकम्प गएका छन्।’

उनका अनुसार पछिल्ला समयमा भने भूकम्प नभएर पहिरोको कम्पनका कारण विपद् उत्पन्न भएको हो। गोरखा केन्द्र भएर २०७२ सालमा ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि हिमाली क्षेत्रको जमिन कमजोर हुँदै गएको भूगर्भविद्हरूको भनाइ छ।

बूढीगण्डकीमा पाँच जना बेपत्ता, पुल र जलविद्युत् आयोजनामा क्षति

गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि आइतबार बूढीगण्डकी नदीमा आएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। बाढीले घर, पुल, विद्युत् तथा सञ्चार संरचना र निर्माणाधीन जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका-६ चुम्चेतको उंगिलुङमा भेडीगोठमा रहेका पाँचजना बेपत्ता भएका हुन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीले धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको क्षेत्रमा क्षति पुर्‍याउनुका साथै आसपासका सातदेखि आठ घर बगाएको छ।

चुमनुब्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगेको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका-५ माछीखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ।

बाढीले आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगेको छ। माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २२ घर जोखिममा परेका छन्।

बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र निर्माणमा प्रयोग गरिएका केही उपकरणसमेत बगाएको प्राधिकरणले जनाएको छ। बाढीका कारण दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा पनि क्षति पुगेको छ।

खोज तथा उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन

बाढीको सूचना प्राप्त हुनासाथ नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी खटिएको राससले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार नेपाली सेनाका चारवटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएका छन्। हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको प्राधिकरणले जनाएको छ। इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खोज तथा उद्धारमा खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

बाढीको जोखिमबारे गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको उप्रेतीले बताए। उनका अनुसार गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई समेत परिचालनका लागि सूचना पठाइएको छ।

कालीगण्डकीमा बाढीले बस्ती, सडक र जलविद्युत् आयोजना प्रभावित

यसअघि असोज दोस्रो साता अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङदेखि नवलपरासीसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। चार दिनसम्मको वर्षाले उर्लिएको नदीले पुस्तौँदेखि बसोबास हुँदै आएका बस्ती, खेतीयोग्य जमिन, सडक, पक्की तथा झोलुंगे पुल, धार्मिक स्थल र तिनको संरक्षणका लागि निर्माण गरिएका तटबन्धमा क्षति पुर्‍याएको थियो। यस क्रममा कम्तीमा २० जनाको ज्यान गएको थियो।

बाढीले म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा र नवलपरासीका नदी तटीय क्षेत्र प्रभावित भएका थिए। कालीगण्डकी करिडोरका विभिन्न खण्डमा समेत बाढी र पहिरोले क्षति पुर्‍याएको थियो। गैँडाकोटदेखि मुस्ताङको कोरालासम्म फैलिएको करिब ४४२ किलोमिटर लामो करिडोरका दर्जनौँ स्थानमा पहिरो खसेपछि सडक आवागमन प्रभावित भएको थियो।

बाढीले गुल्मीको पूर्तिघाटमा दुई संरचना बगाएको थियो भने गुल्मी, पर्वत र स्याङ्जाको सीमामा पर्ने सेतीवेणीका करिब ५० घर डुबानमा परेका थिए। स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने कालीगण्डकी जलविद्युत् परियोजनाले २०५१ सालमा निर्माण गरेको पक्की पुलसमेत जगैदेखि बगेपछि दुई जिल्लाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो।

बाढीले १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द गराएको थियो। नदीको बहावले गुल्मीको धार्मिक स्थल रिडी र पाल्पाको पर्यटकीय क्षेत्र रानीमहललाई समेत डुबानमा पारेको थियो।

रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर आसपासका क्षेत्र, व्यापारिक टहरा, खेलमैदान र कभर्डहल प्रभावित भएका थिए। पाल्पाको राम्दीमा धर्मशाला तथा घाट डुबानमा परेका थिए भने स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर जोड्ने केलादी पुलमा क्षति पुगेको थियो।

पूर्वी नवलपरासीको गैँडाकोटस्थित बोटे टोलमा मात्रै ११० घर डुबानमा परेका थिए। कालीगण्डकी र त्रिशूली नदी मिसिएर बनेको नारायणीको बाढीले चितवनका नदी तटीय क्षेत्र र नवलपरासीको सुस्ता गाउँलाई समेत प्रभावित बनाएको थियो।

मुस्ताङको उत्तरी हिमाली क्षेत्र र तिब्बती पठारबाट जलप्रवाह प्राप्त गर्ने कालीगण्डकी हिमालदेखि पहाड हुँदै तराईसम्म फैलिएको नदी हो। धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्व बोकेको यस नदीमा आएको बाढीले एकैपटक बस्ती, पूर्वाधार, ऊर्जा उत्पादन, यातायात र धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रभावित पारेको थियो।

भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति

भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। विपद् प्राधिकरणको तथ्यांकअनुसार उक्त बाढीमा एक हजार ४५३ जनाको मृत्यु भएको र पाँच हजार ५५० जना बेपत्ता भएको उल्लेख छ। बाढीपछि सरकारले प्रभावित जिल्लालाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेर खोज, उद्धार तथा राहतको काम थालेको थियो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका ५५ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको थियो। सात हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त हुँदा करिब ३३ हजार मानिस प्रभावित भएका थिए।

बाढीबाट भएको क्षतिको प्रारम्भिक आकलन चार खर्ब रुपैयाँभन्दा बढी छ भने पुनर्निर्माणका लागि सात खर्ब रुपैयाँभन्दा बढी खर्च आवश्यक पर्ने अनुमान गरिएको छ। सडक तथा पुल पुनर्निर्माण, घरबास गुमाएकाहरूलाई अस्थायी र स्थायी आवास उपलब्ध गराउने, विद्युत् तथा सञ्चार सेवा नियमित बनाउने र प्रभावित क्षेत्रको जनजीवन सामान्य अवस्थामा फर्काउने मुख्य चुनौती बनेका छन्।

रसुवाका कतिपय बस्ती सडक सञ्जालबाट विच्छेद भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुमा ३७ वटा अस्थायी आश्रयस्थलमा राखिएका प्रभावितमध्ये पछि करिब एक हजार ३०० जना २४ वटा केन्द्रमा बसिरहेका छन्।

तीनवटै घटनाले हिमाली क्षेत्रमा हुने परिवर्तन, पहिरो र बाढीको जोखिमबारे वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना प्रणाली र नदी तटीय क्षेत्रमा विकास आयोजना निर्माण गर्नुअघि जोखिमको मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast