ब्राजिलले भन्यो, एन्सिलोट्टीलाई प्रशिक्षक बनाउने खबर झुटो हो

हिमाल प्रेस २८ माघ २०७९ १०:१३ | Saturday, February 11, 2023
ब्राजिलले भन्यो, एन्सिलोट्टीलाई प्रशिक्षक बनाउने खबर झुटो हो

काठमाडौँ- ब्राजिल राष्ट्रिय टिमको प्रशिक्षकमा कार्लो एन्सिलोट्टी नियुक्त हुन लागेको खबर ब्राजिलेली फुटबल संघ (सीबीएफ) ले खण्डन गरेको छ। हाल रियल म्याड्रिडसँग आबद्ध इटालेली प्रशिक्षक एन्सिलोट्टीले ब्राजिल राष्ट्रिय टिम सम्हाल्न लागेको चर्चा शुक्रबार युरोपका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा भएको थियो।

‘यो खबरमा कुनै सत्यता छैन। नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया सबैले थाहा पाउने गरी सुरु गरिनेछ। नयाँ प्रशिक्षक नियुक्त गर्ने सही समय आइसकेको छैन,’ सीबीएफले विज्ञप्तिमा भनेको छ।

विश्वकप २०२२ मा ब्राजिलको प्रदर्शन चित्तबुझ्दो नभएपछि तत्कालिन प्रशिक्षक टिटेले पदत्याग गरेका थिए। त्यसपछि ब्राजिलले नयाँ प्रशिक्षक नियुक्त गरिहालेको छैन।

उता एन्सिलोट्टी हाल रियलसँग मोरोक्कोमा छन्। क्लब विश्वकपका लागि उत्तरी अफ्रिका पुगेको रियलका प्रशिक्षक एन्सिलोट्टीले आफू सन् २०२४ सम्म अहिलेकै जिम्मेवारीमा रहने बताएका छन्।

‘म प्रस्ट छु, सन् २०२४ सम्म रियलमै रहनेछु। त्यसबेलासम्मका लागि मैले सम्झौता गरेको हुँ,’ गत जुनमा रियलको प्रशिक्षकमा नियुक्त भएका एन्सिलोट्टीले शुक्रबार भने। उनी दोस्र्रो पटक रियल सम्हालिरहेका छन्। इंग्लिस प्रिमियर लिगको एभरटन छाडेर रियल पुगेका एन्सिलोट्टीले गत सिजन म्याड्रिडको यो क्लबलाई ला लिगा र च्यामिपयन्स लिग जिताएका थिए।

यसपालि भने रियल बार्सिलोनाभन्दा आठ अंकले पछि परिसकेको छ। यसकारण एन्सिलोट्टी बर्खास्तमा पर्ने सम्भावनाबारे चर्चा भइरहेको छ।

क्रोएसियासँग पेनाल्टीमा हार व्यहोरेपछि विश्वकप क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा छ। पाँच पटक विश्वकप जितेको ब्राजिलसँग आबद्ध हुनसक्ने प्रशिक्षकमा पेप ग्वार्डिओला, जिनेदिन जिादन र जोसे मौउरिन्होलाई लिइएको छ।

प्रकाशित: २८ माघ २०७९ १०:१३ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast