सिरी ए : जिरुडको गोलमा मिलानको जित

हिमाल प्रेस २८ माघ २०७९ ९:२३ | Saturday, February 11, 2023
सिरी ए : जिरुडको गोलमा मिलानको जित

काठमाडौँ- एसी मिलानले इटालियन सिरी ‘ए’ मा हारको शृंखलालाई टुंगाएको छ। पछिल्ला तीन खेलमा लगातार हार व्यहोरेको मिलानले शुक्रबार राति टोरिनोमाथि १–० को जित दर्ता गर्‍यो। घरेलु मैदान सान सिरोमा मिलानलाई विजयी बनाउन ओलिभर जिरुडले गोल गरे।

कप्तान तथा फुलब्याक थियो हर्नान्डेजको क्रसमा जिरुडले हेडर गोल गरेका थिए। पेनाल्टी बक्सभित्र आएका क्रसमाथि आक्रमण गर्ने स्वाभाव भएका यी फ्रेन्च फरवार्डका लागि यो सातौँ लिग गोल हो।

यो जितले मिलानलाई तेस्रो स्थानमा पुर्‍याएको छ। २२ खेलबाट ४१ अंक बनाएको मिलान अब चौथो स्थानको एएस रोमा र पाँचौँ स्थानको लाजियोभन्दा क्रमशः एक र दुई अंकले अघि छ।

लिग उपाधितिर लम्किरहेको शीर्षस्थानको नापोली चाहिँ गत सिजनको च्याम्पियन मिलानभन्दा अझै १५ अंकले अगाडि छ। मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलान ४३ अंक बटुलेर दोस्रो स्थानमा छ। रोमा, लाजियो, नापोली र इन्टरले मिलानभन्दा एक–एक खेल कम खेलेका छन्।

रोमाले लेसे र लाजियाले एटलान्टाको सामना गर्ने तालिका छ। यी दुबै खेल शनिबार राति हुनेछन्। त्यसैगरी नापोली आइतबार राति क्रेमोनेजे र इन्टर मंगलबार राति साम्पडोरियासँग भिड्दैछन्। यी खेलका नतिजाले सिरीको अंक तालिकामा फेरबदल ल्याउने नै छन्।

गत सिजन इन्टरलाई दुई अंकले पछि पर्दै लिग च्याम्पियन बनेको मिलान यसपालि अस्थिर प्रदर्शन गरिरहेको छ। च्याम्पियन बन्दा जम्मा चार खेलमा पराजित भएको मिलानले जारी सिजन २२ खेलमध्ये पाँचमा पराजय भोगिसकेको छ। शीर्षचारमै नपार्ला कि भन्ने संशय उत्पन्न भइरहेका बेला टोरिनोमाथिको जितले मिलानलाई राहत दिएको छ।

‘मानसिक रुपमा हामी कमजोर देखिइरहेका थियौँ। जिरुडको गोलले हामीलाई राहात दियो। उनको गोलपछि हाम्रो समग्र प्रदर्शनमै परिवर्तन आयो। स्वाभाविक लयमा फर्कन यो जित हाम्रा लागि सानो तर महत्त्वपूर्ण कदम हुनसक्छ,’ मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने।

लगातारका प्रयास असफल भइरहेका बेला सुन्दर क्रस निकालेका फ्रेन्च फुलब्याक हर्नान्डेजले विश्वकपपछि आफू निराश बनेको र अब यो जितले आफ्नो लयमा सुधार ल्याउने विश्वास व्यक्त गरे। ‘पछिल्ला तीन खेल हामीले जसरी हार्‍यौँ, त्यसले हामी सबैलाई मानसिक रुपमा कमजोर बनाएका थियो। आशा छ यो जित परिवर्तनको संवाहक बन्नेछ,’ हर्नान्डेजले भने।

मिलानका लागि जितबाहेक अर्को पनि खुसीको खबर थियो, ज्लाटन इब्राहिमोभिचको पुनरागमन। ४१ वर्षीय स्ट्राइकर मे महिनायता पहिलो पटक बेन्चमा देखिए। गत सिजन आठ गोल गरेका इब्राहिमोभिचको आगमनले मिलान उत्साहित बनेको छ। जनवरी, २०२० मा फर्किएर मिलानलाई लिग च्याम्पियन बन्न सहयोग गरेका इब्राहिमोभिचको सम्झौता यही सिजन सकिँदैछ।

प्रकाशित: २८ माघ २०७९ ९:२३ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast