सिरी ए : रन्थनिएको युभेन्टसलाई फियाेरेन्टिनाको चुनौती, इन्टरको भेट समस्याग्रस्त साम्पडोरियासँग

हिमाल प्रेस २७ माघ २०७९ १९:५२
26
SHARES
सिरी ए : रन्थनिएको युभेन्टसलाई फियाेरेन्टिनाको चुनौती, इन्टरको भेट समस्याग्रस्त साम्पडोरियासँग

काठमाडौँ- इटालेली फुटबलमा युभेन्टस र फियारेन्टिनाबीचको पुरानो प्रतिद्वन्द्विता निकै गहिरो छ। यी दुई क्लब एकै सहरका होइनन्। तर दुई सहरबीच नै प्रतिद्वन्द्विता भएकाले त्यहाँका क्लबहरू स्वतः प्रतिद्वन्द्वी बनेका हुन्।

युभेन्टस र फियोरेन्टिनाबीचको प्रतिद्वन्द्विता आइतबार राति नवीकरण हुँदैछ। यी दुई क्लब सिरी ए मा भिड्न लागेका हुन्। यो साता सिरी ए फर्कनै लाग्दा यो खेलको चर्चा सुरु भइसकेको छ। यसको कारण मैदानमा हुने प्रतिस्पर्धा होइन बरु युभेन्टसको पछिल्लो अवस्था हो।

आर्थिक अनियमितता गरेको भन्दै गत महिना युभेन्टसको १५ अंक घटाइएको थियो। अंक घटेपछि युभेन्टस तेस्रोबाट सिधैँ १० औँ स्थानमा झरेको थियो। त्यसपछि युभन्टस एटलान्टासँग बराबरीमा रोकियो भने मोन्जासँग पराजित भयो। गत बुधबार सालेरनिटानालाई पन्छाएपछि भने युभेन्टस १० औँ स्थानमा फर्किएको छ।

सालेरनिटानामाथिको जित युभेन्टसका लागि अर्को कारणले पनि विशेष बन्यो। त्यो थियो, स्ट्राइकर डुसान भ्लाहोभिचको प्रदर्शन। चोटका कारण लगातार आठ खेल गुमाएका भ्लाहोभिचले मोन्जासँगको खेलबाट पुनरागमन गरेका हुन्। त्यस खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनी सालेरनिटानाविरुद्ध भने सुरुबाटै मैदानमा उत्रिए। र दुई गोल गरे। अर्को गोलका लागि असिस्ट प्रदान गरे।

जितका बाबजुद युभेन्टस चौथो स्थानबाट १३ अंक टाढा छ। अंक कटौतीका बाबजुद युभेन्टसले अर्कोे सिजन च्याम्पियन्स लिग खेल्ने सपना त्यागिसकेको छैन। यसका लागि जारी सिजनका बाँकी खेलबाट अधिकतम अंक बटुल्ने लक्ष्य त छँदैछ, युभेन्टस अंक कटौतीविरुद्ध अदालत पनि जाँदैछ।

अंक कटौतीका बाबजुद युभेन्टसले अर्कोे सिजन च्याम्पियन्स लिग खेल्ने सपना त्यागिसकेको छैन। यसका लागि जारी सिजनका बाँकी खेलबाट अधिकतम अंक बटुल्ने लक्ष्य त छँदैछ, युभेन्टस अंक कटौतीविरुद्ध अदालत पनि जाँदैछ।

पछिल्लो समय युभेन्टस समर्थक अंक घटाउने निर्णय गरेका छानबिन सदस्यमाथि विभिन्न आरोप लगाइरहेका छन्। तीन सदस्यीय त्यस समितिमा एक सदस्य चाहिँ नापोली समर्थक रहेको र तिनकै प्रभावमा युभेन्टसको अंक घटाइएको आरोप छ। सामाजिक सञ्जालमा छानबिन समिति सदस्यसँग सम्बन्धित अनेकौँ भिडियो ‘भाइरल’ भएका छन्।

इटालेली सञ्चारमाध्यममा युभेन्टसकै चर्चा भइरहँदा नापोली भने लिग उपाधितिर लम्किरहेको छ। लगातार पाँच खेल जितेको नापोली २१ खेलबाट ५६ अंक बटुलेर शीर्षस्थानमा छ। नापोली इन्टर मिलानसँग हारेयता लगातार तीन–तीन अंक बटुलिरहेको छ।

नापोलीलाई हराएपछि उपाधि दौडमा फर्कने संकेत गरेको इन्टर चाहिँ हाल दोस्रो स्थानमा छ। तर नापोलीसँग इन्टरको दूरी १३ अंकको छ।

आइतबार राति नापोलीले आफ्नो २२ औँ खेलमा क्रेमोनेजेको सामना गर्दैछ। यो खेल नापोलीका लागि बदला लिने मौका हो। किनभने गत महिना नापोलीलाई क्रेमोनेजेले कोपा इटालियामा पराजित गरेको थियो।

नापोलीलाई पछ्याइरहेको इन्टर हाल आत्मविश्वासी देखिएको छ। यसको मुख्य कारण गत साता मिलान डर्बीमा हात पारेको जित हो। लिगमा १५ औँ जित दर्ता गर्ने दाउमा रहेको इन्टर सोमबार राति साम्पडोरियासँग भिड्दैछ। युभेन्टस जस्तै साम्पडोरिया पनि मैदानबाहिरका समस्याका कारण चर्चा र तनावमा छ।

साम्पडोरियाले आफ्ना खलाडीलाई तीन महिनादेखि तलब भुक्तान गर्न सकेको छैन। यस्तोमा साम्पडोरियालाई सिरी ए ले फेब्रुअरी १६ भित्र एक करोड १० लाख युरो भुुक्तानी गर्न समयसीमा दिएको छ। तोकिएको रकम भुक्तान गर्न नसके साम्पडोरियाको दुई अंक घटाइनेछ।

यसो हुनुको कारण हो, क्लबले सामना गरिरहेको आर्थिक संकट। साम्पडोरियाले आफ्ना खेलाडीलाई तीन महिनादेखि तलब भुक्तान गर्न सकेको छैन। यस्तोमा साम्पडोरियालाई सिरी ‘ए’ ले फेब्रुअरी १६ भित्र एक करोड १० लाख युरो भुुक्तानी गर्न समयसीमा दिएको छ। तोकिएको रकम भुक्तान गर्न नसके साम्पडोरियाको दुई अंक घटाइनेछ।

रेलिगेसनबाट बच्न संघर्षरत साम्पडोरियाका लागि यो सजाय घातक हुनेछ। किनभने अहिलेकै अवस्थामा दुई अंक घट्दा साम्पडोरिया र सबैभन्दा पुछारको क्रेमोनेजेको अंक बराबर हुनेछ।

साम्पडोरिया अहिले आएर आर्थिक संकटमा फसेको होइन। केही वर्षदेखि नै उसले यो संकटको सामना गरिरहेको छ। क्लबलाई अर्थिक संकटबाट पार गराउन नसकेको आरोप खेपेका बहुमत सेयरधनी मासिमो फेरेरोलाई दुई वर्षअघि अध्यक्ष पदबाट राजीनामा दिन बाध्य बनाइएको थियो। बैंकिङ कसुरमा जेल चलान भएपछि उनीमाथि राजीनामाको दबाब परेको थियो।

डेजान स्टान्कोभिचको प्रशिक्षणमा खेलिरहेको साम्पडोरियासँग हाल २१ खेलबाट १० अंक छ। रेलिगेसन क्षेत्रबाट बाहिर हुन साम्पडोरियालाई अहिलेको स्थितिमा थप आठ अंक चाहिन्छ। यस्तोमा दुई अंक कटौतीको खतरा टार्न साम्पडोरियालाई बैंक ऋण चाहिनेवाला छ।

शीर्षस्थानको नापोलीभन्दा १८ अंकले पछि परिसकेको मिलान पाँच खेलमा जितविहीन छ। एएस रोमा र लेसेसँग बराबरी खेलेको मिलान त्यसपछिका तीन खेलमा लाजियो, सासुओलो र इन्टरसँग नमज्जाले पराजित भएको थियो।

गत सिजन लिग विजेता बनेको एसी मिलान यसपालि शीर्षचारबाट बाहिरिसकेको छ। छैटौँ स्थानमा रहेकोे मिलानसँग २१ खेलबाट ३८ अंक छ। जुन चौथो स्थानको लाजियोको भन्दा एक अंकले कम हो। शीर्षचारबाट धेरै पर नरहेको मिलानले शुक्रबार राति टोरिनोको सामना गर्दैछ।

शीर्षस्थानको नापोलीभन्दा १८ अंकले पछि परिसकेको मिलान पाँच खेलमा जितविहीन छ। एएस रोमा र लेसेसँग बराबरी खेलेको मिलान त्यसपछिका तीन खेलमा लाजियो, सासुओलो र इन्टरसँग नमज्जाले पराजित भएको थियो।

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल आउनै लागेकाले मिलानले तत्कालै आफूलाई सम्हालन आवश्यक छ। यसकारण पनि टोरिनोविरुद्ध अनिवार्य जितका साथ मिलान मैदान उत्रिनेछ। घरेलु मैदान सान सिरोमा जित हात पारे मिलान टोटनहमसँग भिड्नुअघि केहीहदसम्म आत्मविश्वासी हुनेछ।

सिरी ‘ए’ मा यो साताः

शुक्रबार राति
एसी मिलानविरुद्ध टोरिनो, १ः३० बजे

शनिबार
इम्पोलीविरुद्ध स्पेजिया, ७ः४५ बजे
लेसेविरुद्ध एएस रोमा, १०ः४५ बजे
लाजियोविरुद्ध एटलान्टा, १ः३० बजे

आइतबार
उडिनेसेविरुद्ध सासुओलो, ५ः१५ बजे
बोलोन्याविरुद्ध मोन्जा, ७ः४५ बजे
युभेन्टसविरुद्ध फियारेन्टिना, १०ः४५ बजे
नापोलीविरुद्ध क्रेमोनेजे, १ः३० बजे

सोमबार राति
हेल्लास भेरोनाविरुद्ध सालेरनिटाना, ११ः१५ बजे
साम्पडोरियाविरुद्ध इन्टर मिलान, १ः३० बजे

प्रकाशित: २७ माघ २०७९ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =