काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन्।
उद्घाटनस्थल खुलामञ्चमा भव्य मञ्चसहित बन्दसत्रका लागि तीनवटा ठूला हल तयार पारिएका छन्। महाधिवेशन प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ‘हेल्थ डेस्क’, सञ्चारकर्मीका लागि मिडिया सेन्टर तथा सहभागीका सवारीसाधन पार्किङको व्यवस्थासमेत गरिएको छ।
महाधिवेशनमा करिब ७ हजार ७०० प्रतिनिधि सहभागी छन्। विपद्पछिको अवस्थालाई ध्यान दिँदै कांग्रेसले महाधिवेशनमा तडकभडकपूर्ण प्रचार नगर्ने नीति लिएको छ।मुख्य गेट र डिजिटल बोर्डमार्फत मात्रै प्रचार सामग्री प्रस्तुत गरिएको छ।
महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ।









