भूकम्पपीडित टर्की-सिरिया : निराशा, भोक र ठण्डीले गाँजिँदै

हिमाल प्रेस २७ माघ २०७९ ९:४४
6
SHARES
भूकम्पपीडित टर्की-सिरिया : निराशा, भोक र ठण्डीले गाँजिँदै भूकम्प प्रभावित टर्कीको कहरामानमरासमा समाधिस्थलअघि प्रार्थना गर्दै एक स्थानीय। तस्बिर : रोयटर्स

काठमाडौँ- भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या अब २० हजार नाघेको छ। ठण्डी, भोक र निराशाले गाँजिएका लाखौँ टर्कीस र सिरियाली घरविहीन छन्। भवनका भग्नावेशमा पुरिएकाहरूको जीवित उद्धार हुने आश पनि कम हुँदै गएको छ।

टर्कीको हटाय सहरमा भग्नावशेषबाट एक दुई वर्षीय बालकको जीवितै उद्धार गरिँदा स्थानीयमा केही हदसम्म आत्मविश्वास बढेको छ। तर जति जति मृतकको संख्या बढ्दैछ, त्यति त्यति नै आफ्ना परिवारका सदस्य र आफन्त जीवित नभेटिने हुन् कि भन्ने डर बढिरहेको छ।

मृतकको ताजा आँकडाले यसपालिको भूकम्पलाई सन् १९९९ को भूकम्पभन्दा विध्वंसकारी साबित गरेको छ। उत्तरपश्चिम टर्कीमा गएको त्यो भूकम्पमा १७ हजारभन्दा बढी मारिएका थिए।

दक्षिणी टर्कीमा गत सोमबार गएको यो भूकम्पका कारण राष्ट्रपति रेसिप तायिप एर्दोगनले आमनिर्वाचन सार्ने सम्भावना पनि बढेको बताइँदैछ। करिब दुई दशकदेखि टर्कीस सत्ताको केन्द्रमा रहेका एर्दोगनलाई मे १४ मा हुने भनिएको निर्वाचनमा विपक्षीहरूले कडा टक्कर दिने अनुमान छ।

निर्वाचन मितिबारे बहस सुरु भइरहँदा भूकम्प पीडितहरुमा भने सरकारप्रति आक्रोश छ। उद्धार र राहत सामग्री वितरणमा ढिलाइ भइरहेको पीडितहरुको गुनासो छ। यसकारण तोकिएकै समयमा निर्वाचन भइहाले, भूकम्पको प्रभाव निर्वाचन परिणाममा पनि देखिनसक्ने विश्लेषकहरूको अनुमान छ।

टर्की जस्तै सिरिया पनि यतिबेला पीडामा छ। युद्धग्रस्त त्यस देशमा पहिलो पटक संयुक्त राष्ट्रसंघका प्रतिनिधि राहत लिएर पुगेका छन्। राहत सामग्रीले भरिएका ट्रकहरु इडलिब सहर पुगेका छन्। इडलिब सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहर हो, जहाँ झण्डै ४० लाखको बसोबास छ। र तीमध्ये धेरैसो युद्धका कारण विस्थापित नागरिक हुन्।

त्यहाँ संयुक्त राष्ट्रसंघको पहलमा राहत सामग्री पुगे पनि यसलाई पर्याप्त मानिएको छैन।

दुई देशमा घरविहीन बनेका लाखौँ मानिस स्थानीय सुपरमार्केट, मस्जिदमा आश्रय लिइरहेका छन्। सडकमै पनि पाल टाँगेर बस्नेको संख्या धेरै छ। एक त ठण्डीका कारण उनीहरू निदाउन सकिरहेका छैनन्। त्यसमाथि खाना र पानीको अभाव त छँदैछ।

भूकम्पको केन्द्रविन्दू टर्कीस सहर कहरामानमरासका ४० प्रतिशत घर भत्किएका छन्। केमालपासा, इस्केन्ड्रम जस्ता सहरमा पनि क्षति भयावह छ। टर्कीस अधिकारीका अनुसार देशभर करिब ६५ सय भवन पूर्णरुपमा ध्वस्त बनेका छन्। आंशिक क्षति पुगेकाको त हिसाबकिताब नै छैन।

टर्कीका स्वास्थ्यमन्त्री फेहरिट्न कोकाका अनुसार भूकम्पमा परेर टर्कीमा १७ हजार ४ सय ६ को ज्यान गएको छ। सिरियाबाट आएको आँकडा ३३ सय छ। १२ वर्षदेखि सरकार र विद्रोही समूहबीचको युद्ध खेपिरहेको सिरियामा मृतकको संख्या अझ धेरै हुनसक्ने अनुमान छ।

राष्ट्रपति बसर अल असाद नेतृत्व सरकारको नियन्त्रणमा रहेको सिरियाली भूभागमा करिब १३ सय ४७ को मृत्यु भएको आँकडा छ। उता विद्रोही ‘सिरियन सिभिल डिफेन्स’ समूहले उत्तरी सिरियामा २ हजार ३० ले ज्यान गुमाएको बताएको छ।

सिरियाको जान्डारिस सहरका इब्राहिम मेन्काविन मृत शरिरलाई हाल्न सकिने सेतो ‘बडी ब्याग’ बाकेर हिँडिरहेका छन्। ‘मेरी आमा, मेरो भाईको छोरा, उसका दुई श्रीमतीलाई हालसम्म उद्धार गर्न सकिएको छैन र ती सबैको मृत्यु भइसकेको अनुमान छ। यदि तिनलाई मृत अवस्थामा बाहिर निकालियो भने शव राख्न ब्याग चाहिन्छ। यसकारण म यी ब्याग बोक्न बाध्य छु,’ मेन्काविनले रोयटर्ससँग भनेका छन्।

गृहयुद्धका कारण थलिएको सिरियामाथि पश्चिमा देशहरूले आर्थिक प्रतिबन्ध लगाएका छन्। जसकारण असाद सरकार पहिलेबाटै संकटमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघका लागि सिरियाली प्रतिनिधिले पश्चिमाको प्रतिबन्धकै कारण आज सिरिया सरकारसँग उद्धारका लागि पर्याप्त स्रोत र उपकरण नभएको जिकिर गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियालाई मानवीय सहयोग गर्न आह्वान गरेका छन्। सिरियाको उत्तरपश्चिम सीमानाबाट सहज रुपमा राहत सामग्री प्रवेश गर्ने वातावरण सिर्जना गर्न पनि उनले आग्रह गरेका छन्। सिरियाको उत्तरपश्चिम सीमाना टर्की र इराकसँग जोडिएको छन्। त्यहाँ विभिन्न विद्रोही समूह, टर्कीस सेना, रुसी सेना लगायतको उपस्थिति छ।

रोयटर्सको सहयोगमा

प्रकाशित: २७ माघ २०७९ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =