संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिताबारे के भन्यो परराष्ट्र मन्त्रालयले?

हिमाल प्रेस १० असोज २०८३ १९:०८ | Saturday, September 26, 2026
10
SHARES
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिताबारे के भन्यो परराष्ट्र मन्त्रालयले?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भई शनिबार स्वदेश फर्किएका छन्। उनको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताए।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन मंगलबार (असोज ६ गते) संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए।

उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भइरहेको छ।

प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले गत महिना भोटेकोशीमा गएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको निमित्त सचिव ढकालले बताए।

प्रधानमन्त्री शाहले उक्त विपद्बाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए।

यस अवसरमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोलगायत विपद्को जोखिम बढ्दै गएको बताएको उनले जानकारी दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए।

साथै प्रधानमन्त्री शाहले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गरेको निमित्त सचिव ढकालले बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएको उनले बताए।

यसैगरी, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गरेका थिए। यस अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

महासभाको क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जी –७७ र चीनलगायत मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहेको निमित्त सचिव ढकालले बताए।

साथै, संयुक्त राष्ट्रसंघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा पनि मन्त्री खनालले सम्बोधन गरिरहेका छन्।

परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गरिरहेका छन्।

प्रकाशित: १० असोज २०८३ १९:०८ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast