काठमाडौँ- लामो टकरावबीच नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी विघटन भएको छ। माओवादीको स्थायी समिति बैठकले पञ्चा सिंह नेतृत्वको कमिटी भंग गरेको हो। २०७८ भदौको २२ औँ राष्ट्रिय सम्मेलनबाट सिंह अध्यक्षमा चुनिएकी थिइन्। लामो रस्साकस्सीपछि पूर्णता पाएको सिंहको नेतृत्व दुई वर्ष नपुग्दै विघटन भएको हो। स्थायी कमिटीले सिंह नेतृत्वमाथि पनि संगठनको काम गर्नसमेत रोक लगाएको छ।
उपाध्यक्ष पवन कार्कीले समानान्तर कमिटी बनाएर गतिविधि सञ्चालन गर्न थालेपछि सिंह दबाबमा थिइन्। सिंहको कार्यशैली र उनले बनाएको टिममा कार्की समूह असन्तुष्ट थियो। सिंहले गरेका कामकारबाही अवैध भएको आरोप लगाउँदै कार्की समूह आन्दोलित बनेको थियो।
सिंह नेतृत्वको क्रान्तिकारीमा दीपेश पुन महासचिव भए। पुन महासचिव बनेसँगै क्रान्तिकारीको विवाद झनै झाँगियो। उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश नेताकै छोरा भएका आडमा महासचिव बनेको कार्की समूहको आरोप थियो। कार्की समूहले सिंहमाथि आर्थिक हिनामिनाको आरोपसमेत लगाएको थियो।
‘उहाँ अयोग्य हुनुभयो। संगठन अगाडि बढाउन सक्नुभएन,’ कार्की समूहका प्रवक्ता उपदेश यादवले हिमाल प्रेससँग भने, ‘हामीले नयाँ नेतृत्व चाहेका हौँ।’
माओवादी स्थायी समितिले दुवै कमिटीले गतिविधि गर्न रोक लगाएको छ। तत्काल आयोजक कमिटी बनाउने सर्कुलरसमेत पठाएको प्रवक्ता यादवको भनाइ छ। ‘हामीलाई तत्काल आयोजक कमिटी बनाउने र स्ववियु चुनावपछि सम्मेलन गर्ने भनिएको छ,’ यादवले भने। तर आयोजक कमिटीको संयोजक सिंहलाई तोके मान्य नहुने कार्की समूहको अडान छ। सिंह र पुन दुवै अयोग्य भएकाले अन्य विकल्पमा जानुपर्ने कार्की समूहको जोड छ।
यस्ता छन् विवादका कारण
क्रान्तिकारीमा विवाद राष्ट्रिय सम्मेलनबाटै सुरु भएको हो। बन्दसत्र सुरु भएलगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद गरे। नाराबाजी र तोडफोड भएपछि घोषणासभा अनिश्चित बन्यो।
त्यसको केही दिनपछि प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष चयन गरे। अध्यक्ष चयन गरे पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै झनै विवाद चुलिँदै गयो।
अध्यक्ष सिंहले २०७८ मंसिर २७ गते ३ जना केन्द्रीय सदस्यको नाम खाली राखेर १९९ सदस्यीय केन्द्रीय समिति सदस्य तय गरिन्। उनले ३९ सदस्यीय केन्द्रीय आयोग, ५६ सदस्यीय केन्द्रीय प्रतिनिधि, विशेष प्रदेशसहित ८ वटा प्रदेश कमिटीका पदाधिकारी बनाइन्।
त्यसपछि २०७८ पुस ७ गतेका लागि अध्यक्ष सिंहले केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएर शपथ गराइन्।
त्यसपछि संगठनको दोस्रो पूर्ण बैठक २०७९ वैशाख ३ र ४ गते बस्यो। पार्टी अध्यक्ष प्रचण्ड र विद्यार्थी इन्चार्ज हितमान शाक्य उपस्थित रहेको उक्त बैठकले महासचिव दीपेश पुनलाई चयन गर्दै १९ उपाध्यक्ष रहनेगरी ४१ सदस्यीय पदाधिकारी गठन गर्यो भने केन्द्रीय समिति १९९ बाट २९९ पुर्याउने निर्णय गर्यो।
२०७९ असार ५ गते बसेको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनमा असन्तुष्ट रहेको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुटसम्म भयो। लगत्तै असन्तुष्ट कार्की पक्षले असोज ७ गते पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गरेर विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वसँग माग गर्यो।
कार्की पक्षले पत्रकार सम्मेलन गरेर अध्यलाई पदमुक्त गर्नुपर्ने र विशेष महाधिवेशन गर्न माग गरेपछि संगठनले उपाध्यक्ष पवन कार्कीसहित केन्द्रीय सदस्य वसन्ता भण्डारी, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, पदम नेपाली रविन बस्नेत, समिर बुढाथोकी गरेर १० जनालाई संगठनले अनिश्चितकालका लागि निलम्बन गर्यो।
संगठनले तेस्रो पूर्ण बैठकबाटै विभिन्न विभाग गठन भएको विज्ञप्ति असार १३ गते जारी गर्यो।
संगठनले निलम्बन गरेको केही दिनपछि असोज १५ गते असन्तुष्ट पक्षले अध्यक्ष सिंहले विधानअनुसार काम नगरेकाले अवैध कमिटी खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने मागसहित उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय अलग्गै समानान्तर कमिटी घोषणा भयो । त्यसपछि संगठन औपचारिक रूपमा फुट्यो।
पार्टीले सुरुमै विद्यार्थी इन्चार्ज हितमान शाक्यलाई विवाद समाधान गर्न भन्यो। तर उनले नसकेको अभिव्यक्ति दिए।
विवाद समाधानका लागि पार्टीले पूर्व विद्यार्थी नेता रमेश मल्लको संयोजकत्वमा तीन सदस्य कार्यदल बनायो। कार्यदलले छानबिन गर्यो। कार्यदलले ‘विद्यार्थी मात्र नभई नेताको समेत सहभागिता भएको’ निष्कर्ष निकाल्यो। अध्यक्ष प्रचण्डले समेत विवाद समाधानका लागि प्रयास गरे तर सम्भव भएन। समानान्तर समूहले देशभर संगठन विस्तार थालेको थियो। सिंहमाथि नैतिक प्रश्न उठाउँदै समानान्तर गतिविधि गर्न थालेकाले पार्टीले बन्देज लगाएको हो।
‘पञ्चा र दीपेश संयोजक भए अमान्य ’
समानान्तर कमिटीले पञ्चा र दीपेश संयोजक भए अमान्य हुने अडान राखेको छ। पञ्चा अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन्।
उनी पार्टीमा गइसकैको र कार्यशैली ठीक नभएकाले अयोग्य भएको कार्की समूहको दाबी छ।
यता दीपेश पनि संयोजक बन्न नहुने बताउँदै आएको छ। तर पार्टीले भने सिंहलाई नै संयोजक तोकेको जनाएको छ। सिंहकै कारण समस्या आएकाले विकल्प खोज्नुपर्ने कार्की समूहको भनाइ छ। तर क्रान्तिकारीको सम्मेलन स्ववियु निर्वाचनपछि गर्ने बताइएको छ।