माओवादीमा बन्यो जम्बो पदाधिकारी टिम, विवाद बढ्ने डरले ब्युँताइयो पुरानै संरचना

हिमाल प्रेस २६ माघ २०७९ १०:०४
22
SHARES
माओवादीमा बन्यो जम्बो पदाधिकारी टिम, विवाद बढ्ने डरले ब्युँताइयो पुरानै संरचना फाइल तस्बिर

काठमाडौँ- दुई उपाध्यक्ष थपिएसँगै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी टिम जम्बो बनेको छ। माओवादीमा अब पदाधिकारी मात्रै २२ जना भएका छन्।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी टिम बनेको हो।

पछिल्लो स्थायी समिति बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाएको छ। यसअघि सापकोटा सभामुख भएकाले माओवादीको सक्रिय राजनीतिमा थिएनन्। भुसाल भने यसअघि उपमहासचिव थिइन्।

‘उहाँ (भुसाल)ले उपाध्यक्ष बन्न चाहना गरेकाले बनाइएको हो,’ स्थायी समिति सदस्य माधव सापकोटाले भने, ‘अब पदाधिकारी टिम पूरा भयो।’

अहिले माओवादीको ४४ सदस्यीय स्थायी समिति र ३८६ सदस्यीय केन्द्रीय कमिटी बनेको छ। नेता व्यवस्थापन प्रमुख समस्या बनेको माओवादीमा महाधिवेशन सकिएको डेढ वर्षपछि मात्र पदाधिकारी टिमले पूर्णता पाएको हो।

२०७८ पुसमा माओवादीको आठौँ महाधिवेशन सकिएको थियो। महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी गठन गर्न सकेको थिएन। नेताहरूको हानथापकै कारण पदाधिकारी चयन गर्न एक वर्ष कुर्नु पर्‍यो।

गएको साउनमा मात्र माओवादीले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तय गर्‍यो। नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरालाई उपाध्यक्षको जिम्मेवारी दिएको माओवादीले त्यसलगत्तै महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष तय गर्‍यो।

महासचिवमा वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको टकराव देखिएपछि उपाध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकस देखिएको थियो। अन्ततः शर्मा र पुनलाई उपमहासचिवमा थन्क्याउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवमा देव गुरुङलाई ल्याए।

पार्टीभित्रको बढ्दो गुटगत टकरावलाई न्यूनीकरण गर्न अध्यक्ष प्रचण्डले तत्काल विशेष महाधिवेशन बोलाउने आश्वासन दिए। तर मिति भने तय हुन सकेन।

गुटले बनेको जम्बो पदाधिकारी

प्रचण्डले महाधिवेशन बोलाउँदा माओवादीको पदाधिकारी १५ सदस्य हुने उल्लेख थियो। तर नेता व्यवस्थापनकै कारण झनै ठूलो भयो। लामो समय त माओवादीमा केन्द्रीय कमिटी मात्र रह्यो।

प्रचण्डले बैठक बोलाउँदा समेत पूर्वस्थायी कमिटीको बोलाउने गरेका थिए। पदाधिकारी तय गर्न सकस देखेकै कारण प्रचण्डले संख्या बढाएर २२ पुर्‍याए। जसोतसो पदाधिकारी निर्माण गरे पनि गुटगत गतिविधि भने चुलिन छाडेन।

प्रचण्डलाई सुरुमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा व्यवस्थापन गर्नै सकस भयो। तत्काल ‘वरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गरेर श्रेष्ठलाई जिम्मेवारी दिइयो।

महरालाई उपाध्यक्ष पद थमाइयो। महरा उपाध्यक्षसहित प्रवक्ता बने। तर आफू अन्तरमुखी स्वभावको भएकाले प्रवक्ता नबन्ने बताए।

प्रचण्ड-महराबीच विश्वासको संकट देखियो। तर प्रचण्डले महरालाई प्रवक्तामै राखे। तर माओवादीका विभाग भने गठन भएनन्।

पुरानै संरचनामा माओवादी

माओवादी पुरानै संरचनामा फर्किएको छ। विभाग गठनमा समस्या आउने देखेपछि प्रचण्डले पुरानै संरचना ब्युँताएका हुन्। जुन संरचना नेपाल कम्युनिस्ट पार्टी पूर्ववत् रुपमा विभाजित हुँदाका हुन्।

आठौँ महाधिवेशनअघि माओवादी अर्थ विभागको प्रमुखमा वर्षमान पुन थिए। कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, संगठन विभागमा जनार्दन शर्मा प्रमुख थिए।

यस्तै स्कुल विभाग इन्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल, प्रवास समिति इन्चार्ज नारायणकाजी श्रेष्ठ थिए। माओवादीले त्यतिबेला प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरूको जिम्मेवारी तोकेको थियो। सोही जिम्मेवारी दिने निर्णय भएको छ।

प्रकाशित: २६ माघ २०७९ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast