दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न पूर्वराजदूत संघको आह्वान

हिमाल प्रेस १७ भदौ २०८३ १४:५३ | Wednesday, September 2, 2026
दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न पूर्वराजदूत संघको आह्वान

काठमाडौँ- नेपाल पूर्वराजदूत संघले दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आह्वान गरेको छ। संघका अध्यक्ष चोपलाल भुसाल र महासचिव भीम उदासले संयुक्त विज्ञप्ति निकालेर यस्तो आह्वान गरेका हुन्।

‘राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई दलीय स्वार्थ र मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता र ऐक्यबद्धताको भावनाका साथ सामूहिक रूपमा विपद्को सामना गर्न आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय विपद्को यो घडीमा जीवनरक्षा गर्नु तथा प्रभावित नागरिकको मर्यादा, सुरक्षा र कल्याणको संरक्षण गर्नु नै साझा जिम्मेवारी रहेको भन्दै संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ।

संघले बाढीका कारण फसेका नागरिकको तत्काल उद्धार, आपत्कालीन आश्रय, खाद्यान्न, खानेपानी, उपचार तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गर्न र अत्यावश्यक सेवालाई उच्च प्राथमिकता दिन सरोकारवाला निकायसँग आग्रह गरेको छ।

बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहको आवश्यकता र सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको संघको भनाइ छ।

खोज तथा उद्धार, राहत र आपत्कालीन कार्यमा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, नेपाली डास्पोरा, स्वयंसेवक तथा आमनागरिकको प्रयासको संघले प्रशंसा गरेको छ।

‘यस्तो कठिन परिस्थितिमा जीवनरक्षा र मानवीय सेवामा खटिएका सबैको समर्पण, साहस र तत्परताको हामी उच्च कदर गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

संघले बाढीका कारण विस्थापित भएका, परिवारबाट अलग भएका, जीविकोपार्जनको आधार गुमाएका तथा अत्यावश्यक सहयोगको प्रतीक्षामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेको छ।

प्रकाशित: १७ भदौ २०८३ १४:५३ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast