काठमाडौँ- धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयकी बालविकास सहजकर्ता (ईसीडी शिक्षक) माया न्यौपाने ढकाल आफूले सजाएको बालकक्षामा बाढी पसेपछि यतिखेर चिन्तित, भावुक छिन्।
उनका लागि बालकक्षा साना बालबालिकाको सपनालाई रंग भर्ने संसार थियो। तर रसुवाबाट बुधबार आएको भोटेकोशी-त्रिशूली नदीको भीषण बाढीले उनले वर्षौंदेखि मिहिनेत गरेर सजाएको त्यो संसार केही घण्टामै तहसनहस बनाइदियो।
बाढीको पानी कक्षाभित्र पस्दा खेलौना, सिकाइ सामग्री, चित्र र बालमैत्री वातावरण सबै माटो र हिलोले पुरिए। आफूले सानो सानो मेहनत गरेर बनाएको कक्षा उजाडिएको दृश्य देखेपछि माया भावुक बनिन्। ‘राम्रो ढुंगा, कागज, सिन्का पनि बच्चा खेलाउन हुन्छ भनेर टिप्न जान्थेँ। आज यो गति भयो,’ उनी भक्कानिँदै भन्छिन्।
उनले बालबालिकाका लागि बजारबाट किनिएका सामग्री मात्र नभई बाटोमा भेटिएका रङ्गीन ढुंगा, सुक्खा सिन्का, कागज र प्रकृतिका साना वस्तुसमेत संकलन गरेर खेल्दै सिक्ने वातावरण बनाएकी थिइन्। ती सबै सामग्री अहिले हिलोभित्र हराएका छन्।

विद्यालयको बालविकास कक्षा सबैभन्दा बढी प्रभावित बनेको छ। साना बालबालिकाका लागि तयार गरिएका शैक्षिक सामग्री प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। बाढीले कक्षाको भौतिक संरचनासँगै सहजकर्ताको वर्षौंको मिहिनेत र बालबालिकाको सिकाइ वातावरणमा पनि गहिरो चोट पुर्याएको छ।
अब विद्यालयमा फेरि बालबालिकाको हाँसो फर्काउने चुनौती छ। तर हिलोले कक्षा पुरे पनि बालबालिकाको सिक्ने उत्साह फेरि उठ्ने मायाको आशा छ।


