भोटेकोशी बाढीः मधेशका १५ जना परिवारको सम्पर्कमा

हिमाल प्रेस १२ भदौ २०८३ १८:४९ | Friday, August 28, 2026
भोटेकोशी बाढीः मधेशका १५ जना परिवारको सम्पर्कमा

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका १२७ मध्ये १५ जना परिवारको सम्पर्कमा आएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा शुक्रबार टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन्।

हालसम्म सप्तरीका ३२, पर्साका २८, रौतहटका १५, बाराका १९, सर्लाहीका १०, महोत्तरीका १०, धनुषाका पाँच र सिरहाका आठ जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए।

उनका अनुसार दिउँसोसम्म पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटका ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सम्पर्कमा आएका छन्।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव र धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार परिवारको सम्पर्कमा आएका प्रवक्ता ढकालको भनाइ छ।

मधेश प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको प्रवक्ता ढकालले बताए।

बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेकाको खोजीका लागि विवरण संकलन गर्न थालिएको उनले बताए।

मधेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्।

सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायले समन्वय गरी तत्काल प्रभावकारी खोजी कार्य अघि बढाउन समन्वय भइरहेको प्रवक्ता ढकालले बताए।

सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आग्रह गरे।

प्रकाशित: १२ भदौ २०८३ १८:४९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast