रेडबुल मुख्य प्रायोजकमा ‘१३ औं कृति अवार्ड्स २०८३’ घोषणा, २४ नयाँ विधा थपियो

हिमाल प्रेस ९ भदौ २०८३ १७:०५ | Tuesday, August 25, 2026
रेडबुल मुख्य प्रायोजकमा ‘१३ औं कृति अवार्ड्स २०८३’ घोषणा, २४ नयाँ विधा थपियो

काठमाडौँ- नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मान ‘रेडबुल १३ औं कृति अवार्ड्स २०८३’ आयोजना हुने भएको छ। विज्ञापन संघ नेपाल (आन) ले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी महिना आयोजना हुने अवार्ड समारोहको औपचारिक घोषणा गर्दै यस वर्ष २४ वटा नयाँ विधा थपिएको जानकारी दिएको हो।

यस वर्ष रेडबुल इनर्जी ड्रिंक मुख्य प्रायोजकका रूपमा रहेको छ। नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिङ एसोसिएसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा सहभागी भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले आयोजनालाई सम्बन्धन र मान्यता दिएका छन्।

आनका अनुसार कृति अवार्ड्सले नेपाली विज्ञापन, मार्केटिङ र सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एजेन्सी, सिर्जनाकर्ता र ब्रान्डलाई सम्मान गर्दै आएको छ। १३ औं संस्करणसम्म आइपुग्दा यसले सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रमुख मञ्चका रूपमा पहिचान बनाएको जनाएको छ।

यसपटक टेलिभिजन, रेडियो, छापा, डिजिटल, सामाजिक सञ्जाल, प्रिन्ट तथा एकीकृत अभियानसम्बन्धी ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ। यसअघि नभएका डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड क्षेत्रलाई समेट्दै २४ वटा नयाँ विधा थपिएको आयोजकले जनाएको छ।

अवार्डको मूल्यांकन प्रक्रिया पारदर्शी बनाउन काठमाडौँ विश्वविद्यालय व्यवस्थापन संकायका डिन विजय केसीको अध्यक्षतामा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिङ विज्ञ रविन्द्रमान श्रेष्ठ सदस्य रहेको निर्णायक मण्डल गठन गरिएको छ। उक्त मण्डलले विभिन्न क्षेत्रका विशेषज्ञ मूल्यांकनकर्ताको मनोनयन गरी विजेताको छनोट गर्नेछ।

आनका अनुसार मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। आनका अध्यक्ष सुदीप थापाले यस वर्ष धेरै विधा समेटेर विज्ञापन क्षेत्रको सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न खोजिएको बताए।

प्रकाशित: ९ भदौ २०८३ १७:०५ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast