सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीले शपथ लिँदै

हिमाल प्रेस ८ भदौ २०८३ १८:०० | Monday, August 24, 2026
सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीले शपथ लिँदै

बुटवल- सत्ता समीकरण फेरिएपछि नेकपा एमाले र नेकपासहितको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशमा पूर्णता पाउने भएको छ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथको तयारी गरेको जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र लुम्बिनी प्रदेशसभा सचिवालयलाई पठाइएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गर्न लागेको पत्रमा उल्लेख छ।

नेकपा, जसपासहितको एमाले नेतृत्वको मन्त्रिपरिषद्‌मा चेतनारायण आचार्य मुख्यमन्त्री दोहोरिएका छन्। नेकपाबाट द्विपेन्द्र कुमार पुनको नेतृत्वमा ३ जना सरकारमा सहभागी हुने जनाइएको छ।

रोल्पाका पुनलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएको छ भने नेकपाकै प्रमुख सचेतक दाङका इन्द्रजीत थारुलाई अर्थ मन्त्रालय र बर्दियाकी कृष्ण कुस्मा थारुलाई कृषि भूमि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ।

यसैगरी मन्त्रिपरिषद्‌मा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रमजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यी मन्त्रीहरूलाई भने मन्त्रालयको जिम्मेवारीसहित निरन्तरता दिइएको छ। लुम्बिनीमा मुख्यमन्त्री सहित ९ जनाको मन्त्रीमण्डल बन्ने छ।

प्रकाशित: ८ भदौ २०८३ १८:०० | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast