सीमभञ्ज्याङको काख चुनियाँमा जन्मेँ। त्यसैको सेरोफेरोमा खेल्दै हुर्किएँ। कहिले महभीर त कहिले तारेभीर। ओखेको खोँच चहार्दै। मावलीघरको बलमटारको टारमा उफ्रँदै बाल्यकाल बिताएँ।
तातो हावापानी खाँदै राप्तीको बगर र काँसघारीमा डन्डीबियो खेल्दै युवावस्था बित्यो।
भीमफेदी र बाह्रघुम्तीको उकालोमा जीएमसीको गाडीमा ठसठस कनेर सीमभञ्ज्याङको नेटो काटेर काठमाडौँ आइयो। त्यसयता जीवनको तीन चौथाइ भाग राजधानीमा घोटिएरै बित्यो।
तर अहिले जीवनको उत्तरार्धमा आएर अधुरा रहेका चाहना पूरा गर्ने मेसो मिलेको छ। यात्रा गर्ने रहर पलाएको छ। कारण- जिजीविषा। अर्थात् जिउने चाह। यसै बाँच्ने चाहले हिँड्न प्रोत्साहित गरेको छ। जीवनमा केही पाइला हिँड्न उत्साह थपेको छ। केही परको क्षितिज हेर्ने अभिलाषा जागेको छ।
हिँडाइलाई जीवनको लागि उत्तम शारीरिक व्यायाम भनिन्छ। हामी नेपालीको लागि पहाड हेर्ने भन्दा पनि बाँच्ने कला हो। तर आधारभूत सुविधाको समेत अभाव हुने पहाडले मान्छेलाई त्यहाँ बस्न अनुमति दिँदैन। शिखर-बेसीको दिनचर्यामा व्यस्त छन् त्यहाँका बासिन्दा। अन्यथा पहाड सुनसान र तराई आबाद हुने थिएनन् होला।
हिजोआज म हिँड्न पल्किएको छु। कहरले होइन रहरले हिँडिरहेको छु। बाध्यताले होइन चाहनाले हिँडिरहेको छ। किनकि हिमालसँग आकर्षित भएको छु।
चिसो हिमालको मीठो मुस्कान, पहाडका थुम्का र टाकुरामा फुलेका लालीगुराँस, गमक्क परेर बादलमा लुकेका चुली खोज्दै हिँड्छु। बेसीबाट हेर्दा चुली पर छ, हिमाल टाडा छ। त्यहाँसम्म पुग्न सकिएला या नसकिएला थाहा छैन।
जवानीका व्यसन-दुव्र्यसनले पोलेको फोक्सो, तराईको तातो हावाले गलाएको शरीर। जतिजति उकालो लाग्यो, हावा पातलिँदै जान्छ र त्यसमा अक्सिजनको कमी हुँदै जान्छ। फोक्सोले अक्सिजन तान्न नसकेपछि लेक लाग्छ। लेक लागेपछि टाउको दुख्न थाल्छ।
लेकमा फुल्ने हरिया, पहेँला र नीला भुइँफूल विषालु हुन्छन् र त्यसैको हावाले लेक लागेको पनि भन्ने गरिन्छ। तर वास्तवमा लेक लाग्ने भनेको सास फेर्न चाहिने अक्सिजनको मात्रा नपुगेर हो।
उहिले हाम्रा हजुरबुबाको पालामा गोसाईंकुण्ड जाँदा घरमा लेनदेन बाँकीबक्यौता सबैको हिसाब देखाएरमात्र यात्रा सुरु गर्थे। तर अहिले अवस्था त्यस्तो छैन। तत्काल उपचार सम्भव छ। जीवन संकटमा पर्दैन।
‘प्रकृतिप्रेमी समूह’ले दसैँताका सुन्दरीजलदेखि गोसाईंकुण्डसम्मको सातदिने पदयात्रा आयोजना गर्ने खबर सुने। मन अधीर भयो। यात्रामा जाने हुटहुटी जाग्यो। तर उमेर र शारीरिक अवस्थाले साथ दिने हो कि होइन, त्यसमा भने शंकै थियो।
तैपनि मनले नमानेपछि ललितपुर, सातदोबाटो गएर नाम लेखाएँ। नाम लेखाए पनि मनमा द्विविधा भने रहिरह्यो, यो उमेरमा हिमशिखरको यात्रा उचित हो कि होइन। तर शरीरभन्दा मन बलियो भएपछि केही कुराले छेक्दैन।
आँट गरियो। तर आयोजकले शारीरिक क्षमताको परीक्षण नगरी यात्रामा सहभागी नगराउने भयो। परीक्षणका लागि बोलाइयो लोहारचोकमुनि नक्खु खोला तीरमा। यो लोहारचोकको पुरानो नाम ‘घट्टेचोक’ थियो रे! अर्थात् नक्खुखोलाको तीरमा कुनै समय घट्ट थियो होला र यसैबाट यस ठाउँको नाम घट्टेचोक भएको हुन सक्छ।
अहिले नक्खु खोलाले धार परिवर्तन गरेर पर गएको छ। घट्ट पनि छैन। ठाउँको नाम परिवर्तन भएर लोहाचोक भएको छ। नामैले इंगित गरेजस्तो यहाँको बस्तीमा प्रायः विश्वकर्माहरूको बाहुल्य छ।
शारीरिक परीक्षणमा ‘स्टामिना’ जाँच गर्ने रहेछन्। नाकै ठोक्किने ठाडो २०० मिटर उकालोमा १० पटक तलमाथि गरेपछि पास हुने जानकारी आयोजक संस्थाका संयोजक डाक्टर उमेश श्रेष्ठले दिए। त्यसमाथि १० किलो वजन बोकेर एक घण्टाभित्र १० पटक तलमाथि गर्नुपर्ने रहेछ।
ब्याकप्याकमा १० केजी बालुवा, झोलाको आफ्नै तौल र एक बोतल पानीसमेत गर्दा ११ केजी तौल बोकेर तलमाथि गर्ने भइयो। तल नक्खु खोलामा पुगेपछि एउटा चिट पाइने र माथि तोकिएको बिन्दुमा आएपछि फेरि एउटा चिट पाइने। कसले कति पटक तलमाथि गर्यो भन्ने थाहा पाउनका निम्ति चिटको व्यवस्था गरेको रहेछ।
यात्रा गर्न २१ वर्षका युवादेखि ७७ वर्षका वृद्धले इच्छा देखाएका थिए। आयोजक संस्थाले गरेको परीक्षामा कोही पास भए, कोही फेल। आफू भने पास हुनेको सूचीमा परियो।
उकालो चढेर हिमालको चोटीसम्म नै पुग्ने भएपछि फोक्सोलाई र खुट्टालाई दरिलो बनाउनै पर्यो। त्यसका लागि नियमित अभ्यास आवश्यक थियो। तोकिएको समय आउन हप्ता दिनभन्दा बढी बाँकी थियो। सात दिनसम्म नियमित अभ्यास गर्दा ज्यानले कसो भार नथाम्ला भनेर हरेक दिन एउटा झोलामा १५ केजी बालुवा बोकेर एक घण्टाको दरले झ्यालखाँको ओरालो ओर्लंदै रुद्रमतीको किनार हुँदै गोल्फुटार उकालो-ओरालो गर्न थालेँ।
नियमित अभ्यासले शारीरिक स्फूर्तिमात्र नभएर ताकत पनि बढाउने रहेछ। पदयात्रामा आवश्यक पर्ने २८ किसिमका वस्तुको सूची पाइयो। जसमा दाँत माझ्ने बुरुसदेखि प्राथमिक उपचारमा आवश्यक औषधिसम्म थियो।
एउटा ट्रकिङ ब्याग किनेर सबै सामान त्यसमा राखियो। असोज २५ प्रस्थान र असोज ३१ फर्किने समय तोकिएको थियो।
सुन्दरीजलबाट हाम्रो पदयात्रा सुरु भयो। प्राकृतिक सुन्दरताले परिपूर्ण ठाउँ हो, सुन्दरीजल। तैपनि त्यहाँ नअलमलिएर सरासर पदयात्रामा अगाडि बढ्यौँ।
शरद ऋतुको आगमन भइसक्दा पनि मनसुन अझै केही दिन लम्बिने जलवायु तथा मौसम विभागको प्रक्षेपण थियो। पदयात्राको कार्यक्रम बनाउँदा यस विषयलाई पनि ध्यानमा राखिएको थियो नै।
मनसुनको ढिलाइका कारण पदयात्रीहरूलाई असहज लागिरहेको थियो। तर मौसम विभागले पदयात्रा सुरु गरेकै दिनबाट मनसुन बाहिरिने घोषणा गरेकाले केही राहत भने महसुस गरिरहेका थिए।
बादलका रेसा आकाशमा अझै थिए। बादलका ती झुण्डले प्राकृतिक सौन्दर्य थपिरहेका थिए। यात्रा सुरु गर्दा खुलेको आकाशले मनचंगा बनायो।
सहयात्रीहरूसँग गफिँदै, रमाउँदै, लौरो टेक्दै अघि बढ्दै गयौँ। बागद्वारबाट निक्लेकी बागमती, झरनाको झंकारले मोहित बनायो।
हामी मूलखर्क पुग्यौँ। खर्क भनेपछि गाईबस्तुका लागि चरिचरन र गोठ राख्ने ठाउँ। संयोगले हाम्रो समूहमा नेपाली सेनाबाट अवकाशप्राप्त लेििफ्टनेन्ट कर्नेल पुडासैनी थिए। कुनै समय उनैको गोठ पनि यहाँ रहेछ। पुरानो सम्झना एकछिट घोत्लिए, भूतपूर्व कर्नेल।
हामीले काठमाडौँबाट देख्ने शिवपुरीको घना जंगल मूलखर्कबाट हेर्दा तरेली परेको अलौकिक हरियालीजस्तो देखिन्छ।
बिहान साढे ८ बजे सुरु गरेको यात्रा मध्याह्न भइसकेको थियो। स्याउको दाना टोक्दै यात्रा गरिरहे पनि बिस्तारै ऊर्जा घट्दो थियो। मूलखर्क चेकपोस्ट (उचाइ २००० मिटर) काटेपछि आयोजकले साथमा बोकेर लगेको तयारी खाना खायौँ।
बोर्लाङ भञ्ज्याङ (२,४७० मिटर)बाट ओरालोे लागेर २,१०० मिटरको उचाइमा पुगेपछि चिसापानी पुगिन्छ। यहाँबाट पनि घुमेर बागमती नदीको स्रोत बागद्वार पुग्न सकिने रहेछ। यहाँसम्म सुन्दरीजलबाट चारपांग्रे जिप चल्ने रहेछ।
साँझ पर्दैथ्यो। पहिलो दिन बासका लागि तोकिएको ठाउँ पुग्न अझै बाँकी थियो। हामी वारि भित्तामा थियो र पुग्नु थियो १,९५० मिटरको उचाइमा रहेको थकुने भञ्ज्याङ। अझै ओरालो झर्न बाँकी थियो।
१,७७० मिटर पाटी भञ्ज्याङ पुग्दा घाम डुब्दै थियो। चार किलोमिटरको ठाडो उकालो हिँड्न बाँकी थियो।
दिनभरि १०-१२ केजीको ब्याकप्याक बोकेर जंगल, पहाड, पहरा, कन्दरा छिचोल्दै हिँड्नु पदयात्रीका लागि सहज थिएन। काँध गलेर गिलित्तै बनाउने रहेछ।
तीन दाना स्याउ टोकेको भरमा अविराम हिँड्नुपर्दा पेटका आन्द्राले झुत्ती खेल्न थालेका थिए। खुट्टा काम्न थालेका थिए। ‘आन्द्रा लागे झुत्ती खेल्न, खुट्टा लागे काम्न, सक्तिनँ महाराज पथ्थरघट्टा थाम्न’ भनेजस्तो अवस्था थियो हाम्रो।
हिन्दी उखान छ- ‘डूबते को तिनके का सहारा’। उखानजस्तै आइकरको ड्रम ट्रक हाम्रो सहारा बन्यो। जसले प्रतिव्यक्ति सय रुपैयाँमा पुर्याइदिने भयो। हामी ट्रक पछाडि कोचिन राजी भयौँ।
अनेक संकटबाट बचेर बाँकी रहे पो जीवन। सम्भावित संकट कसरी आउँछ कसरी थाहा हुँदैन। आसन्न संकट मुखैमा देखिँदा पनि हाम्फालेर भाग्न नसकिने रहेछ।
गाडी चल्यो। तर चालक रहेछ सोही ट्रकको सहायक। एक नम्बर गियरमा चार किलोमिटको उकालो लग्यो। थेचार्नुसम्म थेचार्यो। हुँडल्नुसम्म हुँडल्यो। धन्न घोप्टो पारेन। जीवन भन्नु नै यस्तै संयोगले बनेको हुन्छ भन्ने लाग्यो। जेनतेन थकुने भञ्ज्याङ पुग्यौँ। त्यही थाकेको ज्यानलाई टेका लगाइयो।
थकुने भञ्ज्याङ मेलम्ची नगरपालिका, सिन्धुपाल्चोकमा पर्छ। यात्राको क्रममा बागमती, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लाका क्षेत्र हुँदै हिँड्यौँ।
थकुने भञ्ज्याङका मालिक जिर लामा रसिक र फरासिला रहेछन्। उनी त्यहाँका सामाजिक मात्र नभई राजनीतिक अभियन्ता पनि रहेछन्। नेकपा समाजवादीमा आबद्ध रहेछन्।
दोस्रो दिनको यात्रा थकुने भञ्ज्याङदेखि मागेनगोठसम्मको थियो। यात्राको हिसाबले यो अति कठिन दिन थियो। थकुने भञ्ज्याङको १,९५० मिटर उचाइबाट सुरु गरेर ३,८०० मिटरको उचाइमा पुगी ३,७०० मिटरमा आएर बास बस्ने पूर्वयोजना थियो।
तर मागेनगोठमा बास बस्नका लागि पुग्न सक्ने अवस्था रहेन। थकुने भञ्ज्याङबाट सुरु गरेको यात्रा जोगिनडाँडा २,४७० मिटर उचाइ पार गर्दै गोल्फु भञ्ज्याङमा बिहानको खाना खाएर २,५०० मिटर अग्लो कुटुमसाङमा बास बस्न पुगियो।
कुटुमसाङको सौन्दर्य अघिल्लो साँझभन्दा बिहान बेजोड थियो। पूर्व पारि डाँडा हेलम्बुको अपरिमित दर्शनीय तरेली परेको फाँट, अझै माथि शिरफूल हिमाल हाँसेको। एकाबिहानै उठेर मुटु काम्ने चिसो हावामा बाहिर टहलिँदै दोर्जे लाक्पा हिमाल र आमा यांग्री हिमालमा परेको सूर्यरश्मिको रक्तिम आभालाई नियाल्दा चिसोको ‘स्याँ’भन्दा मुखबाट ‘आहा!’ निस्कन्छ।
तेस्रो दिनको हाम्रो यात्रा कुटुमसाङबाट सुरु भयो। कुटुमसाङदेखि ठाडापट्टि भञ्ज्याङसम्म उक्लिँदा ३,८०० मिटरको उचाइसम्म पुगेर ३,७०० मिटरमा झररे बास बसियो। तेस्रो दिनको यात्रा हिमालले भन्दा पनि अरू नै कारणले अविस्मरणीय रहन गयो।
३,२८५ मिटरको उचाइमा रहेको मागेनगोठमा गएर बिहानको खाना खाने योजनाबमोजिम हिँड्यौँ। यात्रामा एक जना साथी टाउको दुखेर हिँड्न सक्नुभएन। उनलाई जसोतसो मागेनगोठसम्म ल्याइयो। मागेनगोठ अत्यधिक रमणीय छ।
‘मागेन’ को अर्थ तामाङ भाषामा ‘ज्वाइँ’ हुने रहेछ। छोरी माग्न आउने हुनेवाला ज्वाइँले यहाँ राखेको गोठमा एक वर्ष चौँरीगाईको रेखदेख, हेरचाह गरेर बिताउनुपर्ने रहेछ। घरव्यवहारमा कुशल देखिए छोरी पाल्न सक्छ भन्ने लाग्यो भने बल्ल छोरी बिहे गरेर पठाउने चलन रहेछ।
त्यसैको विम्बका रूपमा यो ठाउँको नाम मागेनगोठ रहेको हो भन्ने भनाइ रहेछ। सो कुरा मागेनगोठका होटल सञ्चालक पेम्बा लामाले भनेका हुन्। बास र खानपिनको उपयुक्त व्यवस्था भएको मागेनगोठ नुवाकोट जिल्लामा पर्छ।
अशक्त साथीलाई मागेनगोठमा नै आराम गर्न छोडेर समूहका बाँकी सदस्य बिहानको खाना खाएर उकालो लाग्यौँ। हामी चुचुरोसम्म आइपुग्दा मनसुन नेपालबाट बाहिर गइसक्यो होला भन्ने ठानेका थियौँ। मनसुनले बिदा माग्न अझै बाँकी रहेछ। लेकको टुप्पोमा पुगेपछि असिना र पानीले एकैचोटि बिदा माग्यो हामीसँग। बर्सादीको सहारामा लुकेर हामीले पनि मनसुनलाई बिदा गर्यौँ।
३,८०० मिटर अग्लो पहाडको टुप्पामा पुगेर तल फेदीमा तरेली परेर फैलिएका फुच्चे पहाडलाई हेर्दै, पृष्ठभूमिमा इन्द्रधनुषलाई सजाएर तस्बिर लिँदै मनसुनको बिदाइ गरियो।
आकाश खुलेसँगै सामुन्ने
हिमालको लहर खुल्यो
टल्किएर लहर दन्त
हिमाल मुस्कुरायो
बेथा हरायो
थकाइ हरायो
हिमालको परावृृत्त मुस्कानमा
हामी हरायौँ।
पारिपट्टि सेताम्मे हिमाल। ४,७०० मिटरको उचाइसम्म पुग्नु। अब दुई किलोमिटर उकालो चढ्न बाँकी, उचाइ १००० मिटर। गोसाईंकुण्ड र सूर्यकुण्ड यात्राको गन्तव्य आँखै अगाडि देखिरहेछ। लेक लाग्ने सम्भावना पनि न्यून हुँदै गएको छ। शरीरले साथ दिए यात्राको कठिन अवधि अब एक दिनमात्र थियो।
अघिल्लो दिन बिदा गरेको पानी त्यस दिन राति फेरि दर्कियो। सूर्यकुण्ड र गोसाईंकुण्डको पदमार्गमा हिउँको चाङ लगाएर गयो। विपरीत अवस्थामा एउटा निर्णय आवश्यक थियो, अगाडि बढ्ने या यात्रा स्थागित गरेर फर्कने।
तेस्रो विकल्प थियो, फेदीमा गएर कुर्ने र सहज अवस्था आएपछि शिखर पार गर्ने। ठूलो समूह र आर्थिक कारणले तेस्रो विकल्प रोज्न सकिएन। अतः हामीले व्यक्तिगत रूपमा जान चाहनेलाई अगाडि जान दिँदै बाँकी सदस्यलाई त्यहीँबाट अर्थात् ठाडोपट्टि भञ्ज्याङबाट फिर्ता आउने निर्णय गर्यौँ।
‘सोचेजस्तो हुन्न जीवन’। गन्तव्यको नजिक पुगेर खाली हात फर्किनुपर्दा निकै पीडा हुँदो रहेछ। तर सफलता-असफलता भनेको जीवन यथार्थ हो। घाम-छायाजस्तै।
हिमाललाई फेरि आउने बाचा गर्रै पाइला मोड्यौँ। जताबाट आएका थियौँ त्यतै। फेरि कुटुमसाङको बास।
कुटुमसाङमा विद्युत आपूर्ति छ। त्यहाँबाट माथि लेकतिर लागेपछि सौर्य ऊर्जाको भर पर्नुपर्छ। विद्युतीय सामग्री रिचार्ज नहुने भएकाले अतिरिक्त रिचार्जेबल पावर बैंक बोकर गएका थियौँ। त्यसैले हामी काठमाडौँबाट सम्पर्कविहीन थिएनौँ। तर दुई दिन सञ्चार सम्पर्क नहुने अवस्था आइपर्दा साथीहरू छटपटाएको पनि देखियो।
सहरको कोलाहल, अटेसमटेस, व्यस्त जीवनशैलीबाट वाक्कदिक्क भएर एकान्तको चाहना गर्नेहरूका लागि कुटुमसाङ या मागेनगोठ उपयुक्त स्थान हुन्। हिँड्नै नसक्नेहरू पनि अफरोडवाला बाटो प्रयोग गरेर चारपांग्रेमा कुटुमसाङसम्म पुग्न सक्छन्।
कुटुमसाङबाट मेलम्चीतर्फ ओर्लंदै गर्दा पारि सेतो झरना देखिन्छ। त्यो दृश्य टक्क आँखामै ठोक्किन्छ। काठमाडौँमा तिर्खाएका घाँटी भिजाउने पानीको मुहान। अजस्र प्राकृतिक सौन्दर्यको स्रोत। त्यहीँ पर छ पाँचपोखरी। कुरिरहेको अर्को यात्रा गन्तव्य।