ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको होइन : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २५ साउन २०८३ १५:४१ | Monday, August 10, 2026
8
SHARES
ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको होइन : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्ने बिषयमा सत्यता नरहेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा नै सुविधान सम्पन्न ट्रमा सेन्टर निर्माण गरिने स्पष्ट पारिन्।

उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण सम्पन्न हुन केही समय लाग्ने भएकाले तत्कालका लागि लहानमा अस्थायी प्रकारको ट्रमा सेन्टर बनाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरिन्।

मधेश प्रदेशको सिरहास्थित लहान प्रादेशिक अस्पतालमा सिटी स्क्यान, जनशक्ति, ब्लड बैंक र बिरामीको चाप उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने योजना रहेको उनले बताइन्।

ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको दीर्घकालीन प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ। उनले लहानको ट्रमा युनिट ढल्केबरको विकल्प नभई ढल्केबरमा भौतिक संरचना तयार नहुञ्जेलसम्मका लागि गरिएको अन्तरिम र व्यावहारिक व्यवस्था मात्र भएको स्पष्ट पारिन्।

मन्त्री मेहताले एउटा ठाउँमा पूर्वाधार निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको र यसलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादको रूपमा नलिन आग्रह समेत गरिन्।

यस विषयमा अनावश्यक विरोध वा आन्दोलन नगर्न र नागरिकलाई तत्काल सेवा पुर्‍याउने कार्यमा सहयोग गर्न जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूलाई उनले अनुरोधसमेत गरिन्।

धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले सोमबार नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका गरेका थिए। उनीहरूले सोमबार साँझ त्यहाँ राँको जुलुससमेत प्रदर्शन गरेका थिए।

प्रकाशित: २५ साउन २०८३ १५:४१ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast