काठमाडौँ – सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन्। सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ।
बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन्।
यसअघि उनले सिनेमा ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए। छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो। साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत दखिएका थिए।
सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन्। १२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए।
त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन्। यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन्।
त्यसो त, उनको अभिनय यात्रा भने सहज थिएन। आर्थिक अभावका कारण कुनै समय उनीसँग कोठाभाडासमेत तिर्ने अवस्था थिएन। त्यही संघर्षका बीच उनले अभिनेता अनमोल केसी अभिनीत सिनेमा ‘फर्की फर्की’ र ‘सानो संसार’, साथै गायक सुजन चापागाईंको चर्चित गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्ट (एक्स्ट्राज) का रूपमा काम गरेका थिए।
अध्ययनकै क्रममा राति पठाओ फुड डेलिभरी गर्दै उनले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिएका थिए।
अभिनयप्रतिको लगावलाई शैक्षिक रूपमा पनि अघि बढाउँदै उनले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट फिल्म अध्ययनमा स्नातक (अभिनय मुख्य विषय) पूरा गरे। हाल उनी फिल्म स्टडीजमै स्नातकोत्तर अध्ययनको तयारीमा छन्।
वर्षौंको मिहिनेत, निरन्तर संघर्ष र अभिनयप्रतिको समर्पणपछि अब उनी ‘ल्याङ्ग ल्याङ्ग’मार्फत नयाँ परिचय स्थापित गर्ने तयारीमा छन्। निर्माण टिमले पनि उनको अभिनय क्षमताले सिनेमालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा भोलानाथ कटवालको लगानीमा बन्नेछ। यसअघि सिनेमामा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन्।
सिनेमामा मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक चौहानले बताए। सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन्।


