सिटिजन लाइफको ‘Version Next’ सार्वजनिक, उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सम्मानित

हिमाल प्रेस १८ साउन २०८३ १७:२९ | Monday, August 3, 2026
सिटिजन लाइफको ‘Version Next’ सार्वजनिक, उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सम्मानित

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूको सम्मानका लागि आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

गत साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौँको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो नयाँ आई सोलुसन प्रणाली ‘Version Next’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गरेका थिए। कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित यस प्रणालीले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट र रोबोटिक डग प्रस्तुत गरिएको थियो। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक सन्देशसहितको प्रस्तुति दिएको थियो। यसबाहेक हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

पुरस्कारतर्फ बुटवल शाखा प्रथम बीमा शुल्क संकलनका आधारमा देशकै उत्कृष्ट शाखा घोषित भएको छ। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर बनेका छन् भने नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट ‘Citizen Leader’ घोषित भएका छन्।

यस्तै, गीता पौडेल सर्वाधिक बीमालेख (पोलिसी) जारी गर्ने अभिकर्ता र दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन्।

कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरू समेत समावेश गरिएको थियो। सम्मान, मनोरञ्जन, प्रविधि र प्रेरणाको संयोजन रहेको उक्त कार्यक्रम सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ साउन २०८३ १७:२९ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast