काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ तेज विनायक बस्ने ३४ वर्षका सन्तोष प्रधान रहेका छन्।
ललितपुर जिल्ला अदालतले २०८२ साल माघ १३ गते बैंकिङ कसुर मुद्दामा प्रधानलाई २ दिन कैद र १० लाख रुपैयाँ बिगोको पाँच प्रतिशतले हुने ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशालाबाट प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वयनका लागि २०८३ साल साउन १५ गते ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।
प्रधानविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा गरी कुल ४ करोड ५२ लाख ८४ हजार ९३६ रुपैयाँ बराबरको बिगो रकमका अन्य बैंकिङ कसुर मुद्दाहरू पनि दर्ता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर ललितपुरमा १० लाख, प्रहरी वृत्त बौद्ध काठमाडौँमा ९ लाख, प्रहरी वृत्त नयाँ बानेश्वरमा ५ लाख, जिल्ला प्रहरी परिसर भक्तपुरमा ९ लाख, प्रहरी वृत्त जनसेवा काठमाडौँमा १ करोड २५ लाख ४२ हजार ९३६ रुपैयाँ र २ लाख ९४ लाख ४२ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्।


