यी राजमार्गमा आज पनि गुड्नेछैनन् सवारी

हिमाल प्रेस १३ साउन २०८३ ९:५० | Wednesday, July 29, 2026
यी राजमार्गमा आज पनि गुड्नेछैनन् सवारी फाइल तस्बिर

काठमाडौँ- केही दिनदेखि जारी अविरल वर्षा र त्यसका कारण सिर्जित बाढी एवं पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग र सहायक सडकहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न विशेष आग्रह गरेको छ।

प्रहरीका अनुसार काठमाडौँको नागार्जुनस्थित सीतापाइला-धार्के सडकखण्ड र ललितपुरको बागमती गाउँपालिकास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यस्तै, मकवानपुरतर्फको कान्ति लोकपथमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समय (साँझ ५:०० देखि बिहान ५:०० सम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको चारकिलो र कोदारी क्षेत्रमा पहिरो जाँदा सडक ठप्प छ। रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेसी र दोलखाको लामासाँघु-रामेछाप सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यद्यपि, दोलखामा वैकल्पिक मार्ग प्रयोग गरी सवारी सुचारु गर्ने प्रयास भइरहेको छ।

रोशी खोलाको बहाव बढ्न सक्ने जोखिमका कारण रातको समयमा (साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म) सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थितिको विचार गरी सवारी साधन सञ्चालन भइरहेका छन्।

मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत यातायात सुचारु गरिएको छ। उता भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश अन्तर्गत लमजुङको बेसीसहर-चामे सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने बागलुङको कालीगण्डकी कोरिडोर एकतर्फी मात्र सुचारु छ। लुम्बिनी प्रदेशको रोल्पास्थित घोराही-थवाङ-शहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी कोरिडोर (जाजरकोट-डोल्पा सडकखण्ड) पनि बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

विभिन्न स्थानमा अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहे तापनि निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण कार्यमा कठिनाइ भइरहेको छ। नेपाल प्रहरीले सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्राका लागि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा नेपाल प्रहरीको टोल फ्री नम्बरमा फोन गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।

प्रकाशित: १३ साउन २०८३ ९:५० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast