काठमाडौँ- प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अलजजिराले जनाएको छ । सरकारी तथ्यांकअनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेको छ। एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन्।
सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको कुल संख्या दुई हजार ९७३ पुगेको छ। यो अघिल्लो शनिबारको तथ्यांकको तुलनामा २७ प्रतिशत बढी हो।
संक्रमण र मृत्यु दुवैको संख्या असाधारण रूपमा बढ्दै जाँदा कंगोको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारीमध्ये एक बन्ने चिन्ता व्यक्त गरिएको छ।
कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको भाइरसले महामारीलाई थप जटिल बनाएको बताइएको छ। मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ र हालसम्म यसका लागि कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको स्थापना प्रक्रियामा संलग्न जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले अल जजिरासँग कुरा गर्दै प्रमाणित खोपको अभावका कारण भाइरस ‘डढेलो जसरी फैलिरहेको’ बताएका छन्।
उनका अनुसार अफ्रिकी मुलुकहरूमा जनस्वास्थ्यका स्रोतसाधन पहिलेदेखि नै सीमित रहेको त्यसमाथि महामारी सक्रिय सशस्त्र द्वन्द्व प्रभावित क्षेत्रमा फैलिरहेकाले नियन्त्रण प्रयास थप चुनौतीपूर्ण बनेको छ।
यसैबीच, वैज्ञानिकहरू महामारीको फैलावट रोक्ने उपाय अन्तर्गत अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन ग्रुपले शुक्रबार तीव्र गतिमा विकसित गरिएको परीक्षणमूलक खोपको पहिलो मात्रा एक स्वयंसेवकलाई दिइएको जनाएको छ । यस परीक्षणबाट भविष्यमा बुन्दिबुग्यो प्रजातिविरुद्ध प्रभावकारी खोप विकास हुने अपेक्षा गरिएको बताइएको छ।


