फिफा विश्वकप

नर्वे टोलीलाई ओस्लोमा लाखौं समर्थकको अभूतपूर्व स्वागत

हिमाल प्रेस ३० असार २०८३ १३:४९ | Tuesday, July 14, 2026
14
SHARES
नर्वे टोलीलाई ओस्लोमा लाखौं समर्थकको अभूतपूर्व स्वागत

विश्वकपबाट बाहिरिए पनि नर्वेको राष्ट्रिय फुटबल टोलीलाई स्वागत गर्न सोमबार राजधानी ओस्लोका सडकहरू समर्थकहरूले भरिभराउ बनाए। नर्वेको ऐतिहासिक विश्वकप यात्राको अन्त्य भए पनि देशभर उत्सवको माहोल छायो।

सोमबार दिउँसो गर्मीयामको घाममा शाही दरबार परिसरमा विशाल भीड जम्मा भएको थियो। अनौपचारिक अनुमानअनुसार १ लाखभन्दा बढी समर्थक उपस्थित थिए।

शनिबार इंग्ल्यान्डसँग अतिरिक्त समयमा २-१ ले पराजित भएपछि नर्वेको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगिएको थियो। अन्तिम चारमा पुग्ने नर्डिक राष्ट्रको सपना चकनाचुर भए पनि देशले आफ्ना खेलाडीहरूलाई नायकका रूपमा सम्मान गर्‍यो।

नर्वेको टोली स्वदेश फर्किँदा विमानस्थलमा परम्पराअनुसार वाटर क्यानन सलामी दिइयो। त्यसपछि टोलीले राजधानीमा विजययात्रा (होमकमिङ परेड) सुरु गर्‍यो।

समर्थकहरूले शाही दरबार अगाडिको चौक भरिएपछि भीड मुख्य सडक कार्ल योहान्स गेटसम्म फैलिएको थियो। टोलीले सबैभन्दा पहिले राजा हाराल्डसँग भेटघाट गरेको थियो।

समर्थक क्याथरिन ब्रेलान्डले रोयटर्ससँग भनिन्,‘मलाई अत्यन्त गर्व लागेको छ। यो अनुभव अविश्वसनीय रह्यो। म नर्वे र स्पेन दुवै ठाउँमा थिएँ, तर जहाँ भए पनि नर्वेलीहरूको उत्साह सधैं महसुस भयो।’

त्यसपछि टोली शाही दरबारको भर्‍याङमा उभिएर समर्थकहरूलाई अभिवादन गर्न बाहिर आयो जहाँ रोयल गार्ड सम्मानका साथ उभिएका थिए।

टोलीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड भने अन्तिम चरणको कार्यक्रममा उपस्थित थिएनन्। उनी चाँडै प्रस्थान गरेकाले दरबारको भर्‍याङमा टोलीसँग मिलेर गरिएको अन्तिम ‘भाइकिङ रो’ उत्सवमा सहभागी हुन पाएनन्। उक्त कार्यक्रममा युवराज हाकोनले ढोल बजाउँदै नेतृत्व गरेका थिए।

मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले भने,‘अमेरिकाबाट फर्किने हाम्रो उडान चार घण्टा ढिलो भएकाले एर्लिङ र सान्डर (बेर्गे) ले आफ्नो अर्को विमान समात्नुपर्‍यो।’

त्यसपछि टोली खुला छाना भएको बसमा ओस्लो सहरभरि परेडमा निस्कियो। ओस्लोमा समर्थकहरूको अत्यधिक भीडका कारण बस केही समय रोकियो। यहाँसम्म कि प्रहरीलाई बाटो बनाउन कठिन भएपछि एकपटक बसलाई पछाडि फर्काउनुपरेको थियो। तर खेलाडीहरूले बसमै बियर पिउँदै समर्थकहरूलाई हात हल्लाएर उत्सव जारी राखे जुन राति अबेरसम्म चल्यो।

समर्थक निकोलाई सिभेसिन्दले भने,‘यस वर्ष नर्वेली टोलीले गरेको प्रदर्शन मेरो कल्पनाभन्दा धेरै माथि थियो। सम्पूर्ण नर्वेलीहरूले यो टोलीलाई सम्मान गर्नुपर्छ किनभने उनीहरूले यो विश्वकपभरि असाधारण प्रदर्शन गरेका छन्।’

परेडका क्रममा एउटा रोचक घटना पनि भयो। सडकमाथि झुन्डिएका विद्युत् तारहरूका कारण डबल डेकर बस रोकियो। माथिल्लो तलामा उभिएर झन्डा फहराइरहेका खेलाडीहरूलाई तारमुनिबाट बस पार गर्न बस्न बाध्य हुनुपरेको थियो।

यसअघि प्रशिक्षक सोलबाकेनले क्वार्टरफाइनलमा जुड बेलिङ्घमले बराबरी गोल गर्नु अघि बल मैदानमाथिको क्यामेरा तारमा लागेको विश्वास व्यक्त गरेका थिए। तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने गोल हुनुअघि बल कुनै तारमा नलागेको रूपमा अस्वीकार गरेको छ।

परेड सुरु भएको केही घण्टापछि टोली १.३ किलोमिटर लामो यात्रा पूरा गर्दै सिटी हल स्क्वायर पुग्यो। त्यहाँ पनि हजारौं समर्थक टोलीलाई स्वागत गर्न प्रतीक्षारत थिए। टोलीका कप्तान मार्टिन ओडेगार्डले नर्वेली प्रसारक एनआरकेसँग भने,‘यस्तो समर्थन पाउँछौं भन्ने कसैले कल्पना पनि गरेको थिएन। अमेरिकामा र स्वदेश नर्वेमा हामीले पाएको साथ अपेक्षाभन्दा धेरै ठूलो थियो। यो साँच्चिकै अविस्मरणीय अनुभव बनेको छ।’

प्रकाशित: ३० असार २०८३ १३:४९ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast