अबुधाबीमा ‘नेपाल-यूएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस २७ असार २०८३ १८:१९ | Saturday, July 11, 2026
64
SHARES
अबुधाबीमा ‘नेपाल-यूएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न

काठमाडौँ- अबुधाबीमा ‘नेपाल-यूएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास अबुधाबीको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो। नेपाललाई व्यापार, लगानी, पर्यटन, प्रविध र व्यावसायिक सहकार्यका लागि आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने र दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पठाएका लिखित सन्देशमा नेपालका प्राथमिकताका क्षेत्रहरुमा यूएईका लगानीकर्ता तथा व्यवसायीहरुलाई अधिकतम सहभागिताका लागि आवह्वान गरेका थिए। साथै उनले दीघकालीन र पारस्परिक हितमा आधारित साझेदारीलाई सहज बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै द्विपक्षीय आर्थिक सहयोग विस्तारका सम्भावनाहरुमाथि प्रकाश पारेका थिए। उनले नेपालमा विद्यमान अनुकूल लगानीको वातावरण, जारी आर्थिक सुधारहरु तथा स्वच्छ ऊर्जा, जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादन, पूर्वाधार विकास जस्ता क्षेत्रमा रहेका अवसरबारे लगानीकर्तालाई जानकारी गराएका थिए।

काउन्सिलर तथा नियोग उपप्रमुख रञ्जिता दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका मनोज पौडेल, डलोइट एन्ड टोचे अबुधाबीका अबिमान जोशी, फिनटेक एलायन्स नेपालका पूर्वअध्यक्ष साजन शर्माले विभिन्न विषयहरुमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा यूएईका वैदेशिक व्यापार मन्त्रालयका उपसचिव फहाद अल गार्गावी र अर्थतन्त्र तथा पर्यटन मन्त्रालयका सल्लाहकार एवं अबुधाबीका कोषाध्यक्ष जुमा मोहम्मद अल काइत मुख्य अतिथिका रुपमा उपस्थित थिए।

यसका साथै यूएई सरकारका वरिष्ठ अधिकारीहरु, नीति निर्मार्ताहरु, प्रतिष्ठित व्यवसायिक प्रतिष्ठानका सीईओ, लगानीकर्ता तथा उद्यमीहरुको भव्य सहभागिता रहेको थियो। यस्ता कार्यक्रम गरिरहने दूतावास मध्येमा यूएई अग्रस्थानमा रहेको परराष्ट्र अधिकारीहरू पनि बताउँछन्। राजदूत सक्रिय हुँदा दूतावासको गतिविधि मात्र होइन नेपालमा उच्च स्तरको भ्रमण, पोखरा तथा भैरहवामा उडान लगायतको काम पनि अघि बढेको परराष्ट्र महाशाखाका अधिकारीले सुनाएका छन्।

यसैबीच यूएईका वैदेशिक व्यापारमन्त्री थानी बिन अहमद अल जेयुदी तीनदिने नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किएका छन्। नेपाल भ्रमणमा रहँदा मन्त्री थानीले राष्ट्रपति रामचन्द्र पौडेल, श्रममन्त्री रामजी यादवलगायतसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा द्विपक्षीय हित, व्यापारलगायतका विषयमा छलफल भएको बताइएको छ। विश्वका व्यस्त मन्त्रीहरुको सूचीमा रहेका थानीको नेपाल भ्रमण यसै भएको होइन। राजदूतको लविङ र सक्रियताको कारण सम्भव भएको हो।

परराष्ट्रबाट राजदूत भएर जानेहरुमा आधामात्र यसरी सक्रिय हुने र नतिजा दिने प्रकारका रहेको विश्लेषण पनि परराष्ट्र अधिकारीहरुको छ। यसरी नै सक्रियता सबै राजदूतले देखाउन सक्नुपर्छ र राजदूतको पहुँच वा दुई तीन घण्टाको यात्रा हुने स्थानमा कन्सुलेट राख्न उपयुक्त नहुने भन्दै पटक पटक हिमाल प्रेसले लेख्दै आएको छ। यस्ता विषयमा परराष्ट्र नेतृत्वको ध्यान जान जरुरी देखिन्छ।

प्रकाशित: २७ असार २०८३ १८:१९ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast