फिफा विश्वकप २०२६

अर्जेन्टिनासँगको हारपछि इजिप्ट प्रशिक्षकको प्रतिक्रिया : ‘मेस्सीलाई जिताउन धाँधली भयो, अरू खेल हेर्दिन’

हिमाल प्रेस २४ असार २०८३ ७:२१ | Wednesday, July 8, 2026
26
SHARES
अर्जेन्टिनासँगको हारपछि इजिप्ट प्रशिक्षकको प्रतिक्रिया : ‘मेस्सीलाई जिताउन धाँधली भयो, अरू खेल हेर्दिन’

गएराति विश्वकप २०२६ को अर्जेन्टिना र इजिप्टबीचको खेलमा साविक विजेता अर्जेन्टिनाले जित हासिल गर्‍यो। मंगलबार एटलान्टामा भएको खेलमा इजिप्टले सुरुआतमा २–० को अग्रता बनाए पनि साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। तर खेल विवाद मुक्त भएन। अर्जेन्टिनाले लगाएको तेस्रो गोललाई लिएर इजिप्टका खेलाडी र म्यानेजर टिम असन्तुष्ट भने। तर उनीहरूको कुरा सुनुवाइ भएन र गोल दिइयो। योसँगै  इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले विश्वकप फुटबलको क्वाटरफाइनल पुग्ने ऐतिहासिक अवसरबाट आफ्नो टोलीलाई धाँधली गरेर वञ्चित गरिएको आरोप लगाएका छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा आक्रामक रूपमा प्रस्तुत भएका हसनले भने, “म यसलाई सामान्य भाग्यको खेल भनेर मिठो भाषामा टार्न चाहन्न । आज हामीमाथि सरासर धोकाधडी भएको छ । हामी ठूलो अन्यायको सिकार भएका छौँ ।” इजिप्ट १–० ले अघि बढिरहेको अवस्थामा मोस्ताफा जिकोले अर्को गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसअघि लिसान्ड्रो मार्टिनेजमाथि फल भएको देखाउँदै उक्त गोल खारेज गरिदियो । त्यसपछि पनि जिकोले अर्को गोल गर्दै इजिप्टलाई पहिलोपटक विश्वकपको अन्तिम आठनजिक पुर्‍याएका थिए ।

त्यसपछि अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै गोलअन्तर घटाए । पहिलो हाफमा पेनाल्टी गुमाएका लियोनेल मेसीले जारी विश्वकपमा आफ्नो आठौँ गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

विवाद यतिमै रोकिएन । इन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गर्नुअघि अर्जेन्टिनाका आलेक्सिस म्याक अलिस्टरले इजिप्टका हाम्दी फाथीको जर्सी तानेको भन्दै इजिप्टले पेनाल्टीको माग गरेको थियो ।

“मैले मैदानमा खेल भावना वा निष्पक्षताको कुनै सम्मान देखिनँ,” हसनले भने, “हाम्रो स्पष्ट पेनाल्टीलाई रेफ्रीले बेवास्ता गरे । भीएआरले समेत त्यसको समीक्षा गरेन । हाम्रो दोस्रो गोल अचम्म ढंगले रद्द गरियो । जर्सी तानिएको स्पष्ट भिडियो हुँदाहुँदै पनि त्यसको समीक्षा नगरिनु अन्यायपूर्ण हो ।”

यस्तो अन्याय आफूलाई स्वीकार्य नभएको भन्दै हसनले अब यस विश्वकपका बाँकी कुनै पनि खेल नहेर्ने घोषणा गरे ।

खेलको सुरुमै यासेर इब्राहिमको हेडरमार्फत इजिप्टले अग्रता लिएपछि अर्जेन्टिनाले निकोलास टागलियाफिकोलाई लडाएको भन्दै पेनाल्टी पाएको थियो । तर, मेसीको प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले उत्कृष्ट बचाउ गरेका थिए । आठपटकका ब्यालोन डीओर विजेता मेसीले विश्वकपमा पेनाल्टी सुटआउटबाहेक प्रहार गरेका आठमध्ये चार पेनाल्टी गुमाइसकेका छन् । तीमध्ये दुईवटा यसै प्रतियोगितामा भएका हुन् ।

प्रशिक्षक हसनले खेल अधिकारीहरूमाथि विश्वकपका ठूला स्टार खेलाडीलाई प्रतियोगितामा टिकाइराख्ने दबाब रहेको आशंका व्यक्त गरे । “सायद उनीहरू विश्वविजेतालाई प्रतियोगिताबाट बाहिर निकाल्न चाहँदैनथे । सायद उनीहरू मेसीलाई अगाडि बढेको हेर्न चाहन्थे,” ‘बीइन स्पोट्र्स’सँग उनले भने, “फुटबलमा कहिलेकाहीँ खेलको प्राविधिक पक्षभन्दा बाहिरी तत्वहरू हाबी हुन्छन् । विश्वविजेता अर्जेन्टिनाले हरेक तहबाट सहयोग पायो ।”

प्रकाशित: २४ असार २०८३ ७:२१ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast