कोरला सडक सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री लम्साल

हिमाल प्रेस २० असार २०८३ २१:२३ | Saturday, July 4, 2026
28
SHARES
कोरला सडक सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री लम्साल

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

उनले छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने बताए।

शनिबार कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने बताए। कोरला सडक योजनाको निरीक्षण गर्दै मन्त्री लम्साल शुक्रबार मुस्ताङको लेतमा बसेका थिए।

कोरला सडकको प्रगति बुझ्न तथा सडकको अनुगमन गर्न गएका मन्त्री लम्सालले उत्तर–दक्षिण जोड्ने कोरला सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।

‘यो साल कोरलानाकासम्मको सडकका लागि अस्फाल्ड कालोपत्रको ठेक्का खोल्नुपर्छ, हामीले के गर्नुपर्छ गर्छौं,’ मन्त्री लम्सालले भने, ‘वातावरणीय परीक्षण गरिएको छैन भने गर्नुहोला, कहाँ समस्या छ ,त्यसको सहजीकरण हामी गर्छौं।’

कोरला सडक कालोपत्र गर्न कहाँ समस्या भइरहेको छ, त्यसको समाधानका लागि सम्बन्धित निकायलाई मन्त्रालयमा बोलाएर निष्कर्ष निकालिने उनको भनाइ छ। कोरलानाकासम्म कालोपत्र विस्तार गर्न सम्बन्धित पालिकाहरूको सहयोग भइसकेकाले अल्झिनुपर्ने कुनै ठाउँ नरहेको मन्त्री लम्सालले बताए।

मन्त्री लम्साले कोरला सडकका लागि सडक तथा पुलपुलेसालगायत सबै आवश्यक पूर्वाधारको ठेक्का ‘टेन्डर’ खोलेर यो साल नै कालीगण्डकी करिडोर सडक अन्तर्गतको कोरला सडकलाई ‘कम्प्लिट’ गर्नुपर्ने उल्लेख गरे।

‘तपाईंहरू ढुक्कले काम गर्नुस्, टेन्डर खोल्नुपर्ने भए खोल्नुस्, बजेट छैन भनेर रोकिनु पर्दैन,’ मन्त्री लम्सालले आयोजनालाई निर्देशन दिँदै भने, ‘काम नगर्ने निर्माण व्यवसायको ठेक्का रद्द गर्नुस् र काम गरिरहेकालाई छिटोछरितो काम गर्ने वातावरण मिलाउनुस्।’

कोरला सडकअन्तर्गत म्याग्दी खण्डको निरीक्षण गरेका मन्त्री लम्सालले उक्त सडकका सडक ‘एलाइमेन्ट’ परिवर्तन गर्नुपर्ने हो वा दिगो पूर्वाधार बनाउनुपर्ने त्यसको निक्र्योल गर्न आयोजना कार्यालयलाई निर्देशन दिए। आयोजनालाई सडक खन्ने उपकरणहरू समस्या भएमा त्यसको व्यवस्था मिलाइने मन्त्री लम्सालले उल्लेख गरे।

प्रकाशित: २० असार २०८३ २१:२३ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast