काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान,नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताएका छन्।
मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्।
शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै उनले डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ। बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो। राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ। भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ। युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षाले सहयोग गर्नुपर्छ। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरिनुपर्छ,’ उपराष्ट्रपति यादवले भने।
कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई मदन भण्डारी मेमोरियल कलेजले निरन्तरता दिएको बताए। कलेजलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता थियो।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेजको स्थान उच्च दशमा उत्कृष्ट शैक्षिक प्रतिष्ठानमा रहेको बताए।
क्याम्पस प्रमुख बाबुराम अधिकारीले कलेज स्थापनाकालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिए।




