बेइजिङको सबैभन्दा अग्लो गगनचुम्बी भवन ‘सिटिक टावर’ (चाइना जुन) मा सानो विमान ठोक्किएपछि क्षतिग्रस्त भएको भाग। तस्बिर : एपी/रासस
काठमाडौँ– चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवनमा शुक्रबार एउटा विमान ठोक्किँदा विमानका पाइलटको मृत्यु भएको छ भने विमानबाहिर रहेका १३ जना घाइते भएका छन्। बेइजिङजस्तो कडा रूपमा हवाई क्षेत्र नियन्त्रित सहरमा भएको यो घटना निकै असामान्य मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बेइजिङको चाओयाङ जिल्ला प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
विज्ञप्तिमा उल्लेख छ, ‘जुन २६ को साँझ ५:५५ बजे चाओयाङ जिल्लाको पूर्वी तेस्रो रिङ रोड नजिक उडिरहेको एक इन्जिनयुक्त दुई सिटे हल्का स्पोर्ट्स विमान एउटा अग्लो भवनसँग ठोक्किएको थियो।’
विमानमा पाइलट मात्र सवार थिए र घटनास्थलमै उनको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे भने कुनै जानकारी दिइएको छैन। यो दुर्घटना जानाजानी गराइएको हो वा प्राविधिक कारणले भएको हो भन्ने विषय अझै स्पष्ट भएको छैन।
दुर्घटनापछि भवनको बाहिरी भागमा रहेका दुई ठूला सिसाका प्यानल फुटेर एउटा प्वाल बनेको देखिएको छ। शनिबारसम्म उक्त भागलाई अस्थायी रूपमा छोपिएको थियो। प्रारम्भिक मूल्यांकनअनुसार भवनको संरचनामा ठूलो क्षति पुगेको देखिएको छैन।
दुर्घटनाग्रस्त भवन १०८ तले र ५२८ मिटर अग्लो ‘सिटिक टावर (चाइना जुन)’ हो, जुन बेइजिङको केन्द्रीय व्यापारिक जिल्ला (सीबीडी) मा अवस्थित छ। यो सरकारी स्वामित्वको सिटिक समूहको मुख्यालय हो।
यो भवन प्रसिद्ध फोर्बिडेन सिटीबाट करिब ६ किलोमिटर (३.७ माइल) टाढा छ। साथै चीनका शीर्ष राजनीतिक नेताहरूको कार्यालय रहेको झोङनानहाइ परिसर पनि यसै क्षेत्रनजिक पर्छ।
दुर्घटनापछि घटनास्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। केही सडक सवारीसाधनका लागि बन्द गरिएका थिए भने प्रहरीले सर्वसाधारणलाई तस्बिर खिच्न रोक्नुका साथै खिचिसकेका तस्बिरसमेत मेटाउन लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनापछि भवनसम्बन्धी सामाजिक सञ्जालमा पोस्ट गरिएका अधिकांश सामग्री चिनियाँ प्लेटफर्महरूबाट छिट्टै हटाइएका थिए। यो घटना बेइजिङमा मे महिनादेखि अनुमति बिना ड्रोन खरिद, भाडामा लिन वा उडाउन प्रतिबन्ध लगाइएपछि भएको हो। सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको थियो।
बेइजिङमा पछिल्लो पटक सन् २०२२ मा विमान दुर्घटना भएको थियो। त्यसबेला चाङपिङ र फाङसान जिल्लाबीचको उडानमा रहेको पर्यटक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो।




