चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले रास्वपालाई अब आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गरिने बताएका छन्।
चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा जारी रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले अब संगठनात्मक र वैचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको दाबी गरे।
रास्वपा कुनै विभाजन वा अप्राकृतिक राजनीतिक सम्झौताबाट नभई देशभित्र लामो समयदेखि सञ्चित निराशा, आक्रोश र परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्तिका रूपमा जन्मिएको पार्टी भएको वाग्लेले बताए। उनले पार्टीलाई नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्ने प्रयासका रूपमा व्याख्या गरे।
उनका अनुसार विगतका आन्दोलनहरूले लोकतन्त्र र संविधान ल्याए पनि त्यसको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकसित हुन नसकेको बताए। निर्वाचन भए पनि उत्तरदायित्व कमजोर रहनु, राज्यको आकार बढे पनि क्षमता नबढ्नु तथा सेवा प्रवाहमा सुधार नआउनु जस्ता समस्या आजको संकटको मूल कारण भएको उनको भनाइ थियो।
उनले नेपालको मुख्य समस्या स्रोतको अभाव नभई गलत प्रोत्साहन संरचना भएको उल्लेख गर्दै राजनीति र अर्थतन्त्र दुवै क्षेत्रमा पहुँच र शक्ति केन्द्रित प्रणाली हावी भएको टिप्पणी गरे।
वाग्लेले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन गर्ने नभई राजनीतिक संस्कार नै रूपान्तरण गर्नु रहेको बताए। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ, नियन्त्रणमुखी शासनबाट प्रतिस्पर्धात्मक अर्थतन्त्रतर्फ र पहुँचमुखी प्रणालीबाट नागरिक केन्द्रित लोकतन्त्रतर्फ अघि बढ्ने पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।
उनले रास्वपालाई विद्रोह मात्र नभई निर्माणको शक्ति बन्नुपर्नेमा जोड दिँदै अब पार्टीले उत्तर पनि दिन सक्ने, शासन पनि चलाउन सक्ने र परिणाम पनि दिन सक्ने क्षमता प्रदर्शन गर्नुपर्ने बताए।
वाग्लेले देशमा यस्तो लोकतन्त्र, अर्थतन्त्र र राज्य संरचना चाहिएको बताए जहाँ क्षमता र परिश्रमको आधारमा अवसर मिलोस्, युवा विदेशिन बाध्य नहुन् र प्रत्येक नागरिकले आफ्नै देशमा भविष्य देख्न सकून् भन्ने दृष्टिकोण प्रस्तुत गरे।
सम्बोधनको अन्त्यमा उनले महाधिवेशनलाई रास्वपाको संगठनात्मक पुनर्संरचना मात्र नभई नेपालको राजनीतिक पुनर्जागरणको सुरुवातका रूपमा लिनुपर्ने बताए।




