माओवादी र एमालेले राजनीतिक इमान्दारी छोड्दैनन् : रास्वपा

हिमाल प्रेस १९ माघ २०७९ २१:३१
4
SHARES
माओवादी र एमालेले राजनीतिक इमान्दारी छोड्दैनन् : रास्वपा फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पूर्ववत् शर्त नछोड्नेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी कार्यालय वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पार्टी प्रवक्ता मुकुल ढकालले आफूहरू माओवादी र एमालेले राजनीतिक इमान्दारी नगुमाउने र रास्वपासँग पहिले राखेका शर्तहरू यथावत रूपमा कार्यान्वयन हुनेमा ढुक्क रहेको बताएका छन्।

‘माओवादी र एमालेले राजनीतिक इमान्दारी छोड्दैनन् भन्नेमा हामी ढुक्क छौं,’ उनले भने।

सत्तासाझेदार सात दलबीच भएको सहमतिअनुसार रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए। तर उनको दोहोरो नागरिकता विवादका कारण सर्वोच्च अदालतको शुक्रबारको आदेशपछि लामिछानेले सरकार छोड्नु परेको छ।

उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट साविककै नेपाली नागरिकताको प्रमाण पत्र लिइसकेका छन्। तर सर्वोच्चको पूर्णफैसला नआएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रविलाई गृहसहित सोही पदमा सरकारमा नलैजाने संकेत गरेका छन्।

यसैबीच बिहीबार बसेको रास्वपा बैठकमा नेताहरूले सत्ता घटकका प्रमुख माओवादी र एमाले रास्वपालाई गृह मन्त्रालय दिने पूर्वसहिमतिमा यथावत रहनेमा आफूहरू ढुक्क रहेको बताएको बैठकपछि प्रवक्ता ढकालले जानकारी गराए।

उनले रास्वपा सरकारमा रहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन समय लाग्ने पनि बताएका छन्। बैठकले रास्वपाले तत्काल सरकार छोड्न नहुने निर्णय गरेको हो। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकअघि नै २ दिनको लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने नर्णय गरेको ढकालले बताए।

‘राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय माग्नु भएको छ। उहाँले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिइने छ,’ रास्वपा उपमहासचिवसमेत रहेका ढकालले भने, ‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन समय माग्नुभएको हो।’

बैठकमा अधिकांश नेताहरूले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएको ढकालले जानकारी दिए।

प्रकाशित: १९ माघ २०७९ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =