बौद्धमा खुल्यो नेपालीपन झल्किने ‘बौद्ध बुटिक इन’

हिमाल प्रेस २७ जेठ २०८३ १४:४४ | Wednesday, June 10, 2026
बौद्धमा खुल्यो नेपालीपन झल्किने ‘बौद्ध बुटिक इन’

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा नेपालीपन र आधुनिक सुविधाको एउटा गन्तव्य थपिएको छ। बौद्ध बुटिक इन नाममा खोलिएको पर्यटकीय गन्तव्यले रैथाने कला, संस्कृति र आत्मीय सत्कारलाई एउटै छानामुनि समेट्ने उद्देश्य राखेको छ।

युवा उद्यमी विवुध लुइँटेलको परिकल्पना र नेतृत्वमा तयार भएको होटलले नेपालको परम्परागत वास्तुकलालाई महत्त्व दिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई नेपाली मौलिक पहिचान दिने उद्देश्यले युवा उद्यमी लुइँटेलले नेपालको माटो र संस्कृतिको झल्को आउने गरी बौद्ध बुटिक इनको निर्माण गरेका हुन्।

बौद्ध बुटिक इनको विशेषता यसको निर्माण र साजसज्जामा प्रयोग भएका सामग्री हुन्। प्रवेशद्वारमा आगन्तुकहरूले नेपालको प्राचीन इतिहास र जीवन्त संस्कृतिको अनुभव गर्न पाउँछन्।

प्रवेशद्वारमै प्रस्तरका कलात्मक मूर्ति सजिएका छन्। यी मूर्तिहरू ललितपुर बुङ्मतीका सिद्धहस्त स्थानीय कलाकारहरूले कुँदेका हुन्। होटलका भित्तामा नेपाली काष्ठकलाका गौरव टुँडालहरू सजाइएका छन्। होटलभित्र छिर्नासाथ पुरानो मल्लकालीन दरबार वा सांस्कृतिक सम्पदाभित्र प्रवेश गरेको भान हुन्छ।

हस्तनिर्मित फर्निचर, तेलिया इँट र ढुंगाले नेपालीपन झल्काएको छ। लुइँटेलका अनुसार होटलमा सम्भव भएसम्म र भेटिएसम्मका सबै सामान नेपाली नै प्रयोग गरिएका छन्। होटलका कोठा तथा बैठकमा राखिएका फर्निचरहरू कालिगढहरूले हातैले बनाएका हुन्। कोठाका टेबलहरूमा समेत नेपाली हस्तकलाको पहिचान बोकेको ‘आँखीझ्याल’ को बुट्टा कुँदिएको छ। भित्ताहरूमा परम्परागत सुर्की र चुना लगाइएको छ भने भुइँमा तेलिया इँट छन्। यसले पुरानो शैलीको नेपाली घरको आनन्द र शीतलता प्रदान गर्छ।

भर्‍याङमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट ल्याइएका ढुंगा बिच्छ्याइएका छन्। ‘पर्यटकलाई नेपाली कला, माटो र प्रविधिको स्वाद पस्कन खोजेका हौँ त्यसैले भेटिएसम्मका हरेक चिज स्वदेशी नै प्रयोग गरेका छौँ’, लुइँटेल भन्छन्।
होटलमा २५ वटा आकर्षक कोठा छन्, जसमा चारवटा विशेष स्टुडियो अपार्टमेन्ट छन्। स्टुडियो अपार्टमेन्ट विशेष गरी लामो समय काठमाडौँमा बस्न चाहने पाहुना लक्षित गरी निर्माण गरिएको हो। यिनमा बैठक कोठा, बेडरुम, अत्याधुनिक भान्छा छ।

लुइँटेलले भने, ‘बौद्ध क्षेत्र विश्वभरका बौद्ध धर्मालम्बी र अनुसन्धानकर्ताहरूको प्रमुख केन्द्र हो। यहाँ बौद्धदर्शन र धर्मको अध्ययन र ध्यानका लागि हरेक वर्ष सयौँ विदेशी विद्यार्थी र भिक्षु आउँछन्। विदेशी विद्यार्थी वा पर्यटकहरूले कोठा भाडामा लिएर बस्दा सुरक्षा, सरसफाइ, पानी जस्ता दैनिक व्यवस्थापनमा कठीनाइ भोग्नुपर्छ। त्यस्ता पाहुनाले स्टुडियो अपार्टमेन्टमा बस्दा होटलको सुविधा त पाउँछन् नै, साथमा आफ्नो कोठाको भान्छामा चिया र नास्ता आफैं पकाएर खान पाउँछन्।’

नेपाल आउने अधिकांश विदेशी भारत, चीन, थाइल्यान्ड, म्यानमार, श्रीलंका र भियतनामबाट पर्यटक वा तीर्थयात्रीका रुपमा आउँछन्। तिनको मुख्य गन्तव्य पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ र दरबार क्षेत्र हुने गर्छ। हिन्दु र बौद्ध दुवै धर्मको आस्थाको केन्द्र नजिकै रहेकाले बौद्ध बुटिक इनले यी क्षेत्रमा आउने तीर्थयात्रीलाई उत्कृष्ट आतिथ्य दिने लक्ष्य राखेको छ।

होटलका माथिल्ला तला र छानोबाट बौद्ध स्तुप प्रस्टसँग देखिन्छन्। बिहान र बेलुकाको समयमा कोठाबाटै वा छतमा बसेर कफीको चुस्की लिँदै बौद्धको शान्त र आध्यात्मिक वातावरणको आनन्द लिन पाउनु यहाँको बसाइको अविस्मरणीय अनुभव हुनेछ।

प्रकाशित: २७ जेठ २०८३ १४:४४ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast