‘हामीले समुदायमै बसेर काम गर्न थालेको पाँच वर्ष भयो। राउटे समुदाय बसाइँ सर्दा हामी पनि उनीहरूसँगै सार्नुपर्ने हुन्छ। उनीहरूलाई पानी र काठको निकै समस्या भएको हामीले देखेका छौँ।’
सुर्खेत- खानेपानी र काठदाउराका लागि पटकपटक बसाइँ सर्नुपर्दा राउटे समुदायको जीवन थप जोखिममा परेको छ।
राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। आफूहरूको जीवनशैली १५–२० वर्षअगाडिको भन्दा फेरिएको उक्त समुदायकी गमला शाही बताउँछिन्।
दैलेखको नारायण नगरपालिका-८ मा बस्दै आएकी शाही भन्छिन्, ‘१५ वर्षअघिसम्म बस्ती छेवैको खोलामा पानी हुन्थ्यो। अहिले पानी बोक्न टाढाटाढा जानुपर्छ। त्यही भएर जता नजिक पानी हुन्छ, त्यतै बसाइँ सर्छौँ।’
राउटेले बसाइँ सर्न थालेको झन्डै दुई दशक हुन लागेको छ। ०६१ मा राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिका–१ स्थित राते खोलामा पुग्यो।
खोलामा पानीको मूल भएकाले बस्तीबाट टाढा जानु परेन। धारा बनाएर जीवन राम्ररी चल्दै थियो। खोलामा पानी आउन छाडेपछि करिब दुई महिना बसेर राउटेहरू सुदूरपश्चिम बसाइँ सरे। धारालाई अहिले पनि राउटे खोला भन्ने गरिएको सोही ठाउँका स्थानीय प्रेमबहादुर कठायतले बताए।
‘खोलामा पानी आउँथ्यो,’ उनले भने, ‘अहिले त खोला बगरजस्तो भएको छ। बर्खामा मात्रै पानी आउँछ।’
१४ वर्षपछि घुम्दैफिर्दै फेरि रातेखोलामा पुग्दा राउटे समुदायका महिलालाई पानीको निकै सास्ती भयो। ‘०७५ सालमा आएको बेला त पानी थिएन,’ कठायतले भने, ‘उनीहरू केही दिन बसेर अन्तै गए।’
०७६ असोजमा गुराँस गाउँपालिकास्थित धरमपोखरा पुगेको राउटे सुमदाय एक साता पनि बसेन। त्यहाँ पानीको मात्र होइन काठको पनि समस्या झेल्नुपर्यो।
राउटे समुदायमा काठको छाप्रो बनाउने काम महिलाले गर्छन्। डाँडामा बसाइँ सरेका उनीहरूले पानीको मुहान त भेट्टाए तर पानी पाएनन्। ‘हामी बस्ने छाप्रो बनाउने काठ पनि पाइएन,’ गमला भन्छिन्, ‘हाम्रो बाउआमाको पालामा जताततै मूल हुन्थ्यो भन्छन्। खै हाम्रो पालामा त पानीको मूल छैन।’
धरमपोखरामा पानी र काठ अभाव भएपछि राउटे महिलाको आग्रहमा मुखियाले अन्यत्रै बसाइँ सर्ने निधो गरे। ‘पानी भएन, काठ पनि छैन कसरी बस्ने?,’ राउटे मुखिया सूर्यनारायण शाहीले भन्छन्, ‘जनताले दुःख भयो भन्यो, हामीले अर्को ठाउँ गयौँ।’
०७७ भदौमा दैलेखको गुराँस गाउँपालिकास्थित हिउँपोखरी पुगेको राउटे समुदायले त्यहाँ मुस्किलले १५ दिन पनि बिताउन सकेन। आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा मात्र राउटे समुदाय बसाइँ सर्छन्।
पछिल्लो समय भने खानेपानी अभावका कारण बसाइँ सर्ने क्रम बढेको छ। ‘घण्टौँ लगाएर पानी लिन जानुपर्थ्यो,’ सम्झना शाही भन्छिन्, ‘सबै महिलाले मुखियालाई पानीको समस्या भएको भनेपछि बसाइँ सार्यौँ।’ खानेपानी अभाव भएपछि राउटे महिलाको आग्रहमा मुखिया बसाइँ सार्ने निधोमा पुगे। त्यहाँबाट उक्त समुदाय गुराँस गाउँपालिकाको अर्काे स्थानमा बसाइँ सर्यो।
राउटे फिरन्ते जीवन बिताउने समुदाय हो। उनीहरू एक ठाउँमा एक महिनादेखि तीन महिनासम्म बस्छन्। त्यही बीचमा उनीहरूका कुनै सदस्यको मृत्यु भएमा भने तुरुन्त बसाइँ सर्छन्।
पछिल्लो समय राउटे समुदाय पानी र काठ अभावमा पटकपटक बसाइँ सार्न बाध्य छ। यो समुदायमा पानी ल्याउने र खाना बनाउने प्रायः महिलाले गर्छन्। पानी अभाव भएपछि राउटे महिलाले मुखियासमक्ष आफूलाई दुःख भएको गुनासो गर्छन्। त्यसपछि मुखियाले बसाइँ सार्ने निर्णय गर्छन्।
५३ वर्षीया राउटे महिला तुलसी शाही दाउरा पनि अभाव भएको सुनाउँछिन्। ‘उः माथि पुगेर दाउरा ल्याउँछ हामी,’ उनी भन्छिन्, ‘छाप्रो नजिकै दाउरा नै छैन। तीन घण्टा हिँडेर दाउरा ल्याएर आउँछौँ मेरो छोरी र म। मेरो श्रीमान् छैन।’
वर्षमा ५ देखि ६ पटकसम्म बसाइँ सर्ने राउटे समुदाय ०७७ मा मात्रै १२ पटकभन्दा बढी बसाइँ सर्यो। दशकअघिसम्म राउटे बसाइँ सार्ने स्थानमा पानी प्रशस्त हुन्थ्यो। समुदाय ठालु भनिने लोकेन्द्रबहादुर शाही भन्छन्, ‘हामी पहिला जहाँ जान्थ्यौँ त्यहाँ पानी धेरै हुन्थ्यो। तर अहिले त पानीको मूल सबै सुकिसक्यो, अब के गर्ने?’
असोजमा दैलेखको भगवतीमाई गाउँपालिका-२ बेस्तडा बजार नजिकै बसेको राउटे त्यहाँ पनि एक महिना मात्रै टिक्यो। बस्ती नजिकै पानीको मुहान नहुँदा करिब डेढ घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता भयो।
‘हामी त तलतल जानुपर्थ्यो पानी लिन,’ राउटे महिला दुर्गी शाही भन्छिन्, ‘अनि हामीले मुखियालाई भन्यो दुःख भयो भनेर, अनि मुखियाले अर्को ठाउँ ल्यायो।’
नारायण नगरपालिकामा पनि पानीको मूल नजिकै त छ तर पानी कम छ। केही साताअघि मानव अधिकारकर्मीको टोली त्यहाँ पुग्दा पानी अभाव भएको राउटे महिलाले सुनाए।
मानवअधिकार अधिकृत किरण बरमले राउटे समुदायका लागि सबैभन्दा ठूलो समस्या खानेपानीको संकट भएको बताए। उनले भने, ‘टाढाटाढाबाट पानी बोकेर ल्याउँदा उनीहरूको स्वास्थ्यमा असर परेको छ। जाडो छल्न डाँडामा आएर बसेकाले पानी अभाव भएको हो।’
पछिल्लो समय जलवायु परिवर्तनको असरले नै पानीको संकट चुलिएको उनको भनाइ छ। ‘हामीले कुनै अध्ययन गरेका त छैनौँ,’ उनले भने, ‘तर तापक्रम बढ्दै गएपछि सुकेका खोलाका मुहानका कारण राउटे महिलाले सास्ती खेपिरहेका छन्।’
सामाजिक सेवा केन्द्र (सोसेक) को राउटे परियोजनाअन्तर्गत जोडी शिक्षकका रूपमा राउटे समुदायमा काम गर्दै आएकी दुर्गा खत्रीले पछिल्ला वर्षहरूमा राउटे समुदाय धेरै बसाइँ सार्ने गरेको बताइन्। ‘हामीले समुदायमै बसेर काम गर्न थालेको पाँच वर्ष भयो,’ उनले भनिन्, ‘राउटे समुदाय बसाइँ सर्दा हामी पनि उनीहरूसँगै सार्नुपर्ने हुन्छ। उनीहरूलाई पानी र काठको निकै समस्या भएको हामीले देखेका छौँ।’
राउटे परियोजनामै काम गरिरहेका लालबहादुर खत्रीले जलवायु परिवर्तनका कारण राउटेको पेसा संकटमा परेको बताउँछन्। जसले गर्दा राउटेले वनका काठ प्रयोगबाट कोसी, मदुस, आरीलगायत वस्तु बनाउन नसकेको उनले बताए।
‘वनमा काठ प्रशस्त हुँदैन। ती सामान बनाउन जुन पायो त्यही काठले बन्दैन,’ उनले भने, ‘काठ अभाव भएपछि पुरुषको काम पनि हुँदैन अनि मदिरा पिएरै बस्छन्। मदिराका कारण राउटे महिला र पुरुष दुवैको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ।’
जाडो र गर्मीले सताउँछ
बाह्रैमास घलेकको भरमा आधा शरीर ढाक्ने राउटेहरूलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुवैले सताउन थालेको छ। राउटेले चिसोमा निकै चिसो र गर्मीमा निकै महसुस गर्ने गरेका छन्।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पछिल्लो समय तापक्रम वृद्धि हुँदै गएको छ। राउटेहरू भित्री पहाडी भूभागमा बस्न रुचाउँछन्। जहाँ न धेरै गर्मी हुन्छ न धेरै जाडो। कार्यालयका अनुसार कर्णालीको हिमाली भूभागमा प्रतिवर्ष ०.०७४ सेन्टिग्रेट र दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका भूभागमा ०.०६ सेन्टिग्रेटका दरले तापक्रम बढ्दै गएको छ।
राउटे समुदाय जंगलका पातपतिंगर, हागाबिँगा, प्लास्टिक, त्रिपाल प्रयोग गरेर छाप्रो बनउँछन्। यस्ता छाप्रोहरूले बढ्दो तापक्रम, मुसलधारे पानी, हावाहुरी सहन सक्दैन।
छाप्रा मर्मत गर्ने कार्यबोझ बढ्ने, भएका खाद्यान्न क्षति हुने र महिला बालबालिका तथा वृद्धवृद्धा थप संकटमा परिरहेका राउटेलाई सामाजिकीकरणका लागि काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का कार्यकारी प्रमुख हीरासिंह थापाले बताए।
मौसम बदलिएँंगै पछिल्लो डेढ वर्षको अवधिमा राउटे समुदायमा रहेका एक वर्षमुनिका ६ जना बच्चाको मृत्यु भइसकेको छ। गत वर्ष शान्ति शाहीको ९ महिनाकी छोरीको मृत्यु भयो।
पानीको मुहान टाढा भएका कारण आमाहरूको धेरै समय पानी बोक्न बित्छ। जसले गर्दा बच्चाहरूले स्याहार सुसार पाउँदैनन्। त्यसैले गर्दा पनि राउटे महिलाहरू दिनप्रति दिन समस्यामा परेको बताउँछन्।
दैलेखको नारायण नगरपालिका-८ मा रहेको राउटे समुदायकी २५ वर्षीया सिलंगी शाहीको गत वर्ष पुसमा तीन महिने छोराको मृत्यु भयो। सुर्खेतको गुर्भाकोट नगरपालिकामा बस्दै आएका बेला उनले छोरा गुमाइन्।
‘हामीलाई बेस्सरी जाडो भएको छ,’ उनी भन्छिन्, ‘बच्चाहरू जाडो सहन सक्दैन अनि मर्छ।’ जाडोयाममा जंगलमा गिठा, भ्याकुर र फलफूल नपाएपछि उनीहरूले खान पाउँदैनन्।
पुरुष मदिरा सेवनमै व्यस्त हुन्छन्। ‘अहिले महिलाको काँधमा कामको बोझ थपिएको छ,’ सोसेकअन्तर्गतको राउटे परियोजनाका लालबहादुर खत्री भन्छन्, ‘महिलाले घरमा साना बच्चा छोडेर खाने कुरा खोज्न जानुपर्छ। त्यति बेला बच्चाको सुसार गर्ने कोही हुँदैन। त्यसैले दूधे बच्चाहरूको मृत्यु भइरहेको छ।’
राउटे समुदायको जनसंख्या १ सय ४४ छ।