नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन्। रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिए। रसियन कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले नेपाल र रुसबिचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। उनी यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनेछन्।
नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताले सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।




