आलुखेतीले गाउँको अर्थतन्त्र धान्दै, वार्षिक दुई करोडसम्मको निर्यात

हिमाल प्रेस ८ जेठ २०८३ ६:३७ | Friday, May 22, 2026
4
SHARES
आलुखेतीले गाउँको अर्थतन्त्र धान्दै, वार्षिक दुई करोडसम्मको निर्यात

बैतडी- समय-समयमा परेको वर्षाले बैतडीका आलु किसान उत्साहित बनेका छन्। पाटन नगरपालिका-८ का किसान केशव विष्ट यस वर्ष आलु उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षामा छन्। वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्टले पर्याप्त वर्षाका कारण उत्पादन र आम्दानी दुवै बढ्ने विश्वास व्यक्त गरे।

‘समयमै पानी परेकाले उत्पादन राम्रो हुने आशा छ। खेतहरू आलुखेतीले हरियाली बनेका छन्,’ उनले भने,‘आलुसँगै मौसमअनुसारका अन्य तरकारी पनि उत्पादन गर्दै आएका छौँ।’

पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका प्रमुख पकेट क्षेत्र मानिन्छन्। यहाँका अधिकांश किसान आलुसँगै मौसमी तथा बेमौसमी तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्।

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लाबाट वार्षिक डेढदेखि दुई करोड रुपैयाँ बराबरको आलु निर्यात हुने गरेको छ। केन्द्रका प्रमुख हरिदत्त जोशीले यस वर्ष पर्याप्त वर्षाका कारण उत्पादन विगतको तुलनामा करिब २० प्रतिशतसम्म बढ्न सक्ने बताए।

तर उत्पादन बढ्ने सम्भावना भए पनि शीतभण्डार र सिँचाइको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। आलुको बीउ सुरक्षित राख्न किसानले डडेल्धुरासम्म लैजानुपर्ने बाध्यता छ।

शीतभण्डार बने, सञ्चालन भएनन्

प्रदेश र संघीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमा निर्माण भएका दुई शीतभण्डार वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छन्। किसान नरबहादुर विष्टका अनुसार शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपज सुरक्षित राख्न र आलुको बीउ संरक्षण गर्न कठिनाइ भइरहेको छ।

खोड्पेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न शीतभण्डार अहिलेसम्म सञ्चालनमा आएको छैन। कृषि ज्ञान केन्द्रका प्रमुख जोशीका अनुसार शीतभण्डार निर्माणका लागि अनुदान लिएका सञ्चालक हाल सम्पर्कविहीन छन्।

त्यसैगरी, साविक नयाँ सहर आयोजनामार्फत ८४ लाख २९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको अर्को शीतभण्डार विद्युत् जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन।

सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी विशाल श्रेष्ठका अनुसार विद्युत् जडान र केही प्राविधिक उपकरण जडानका लागि आगामी आर्थिक वर्षमा बजेट माग गरिएको छ।

प्रकाशित: ८ जेठ २०८३ ६:३७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast