इबोला विश्वव्यापी महामारी अवस्थामा पुगेको छैन : डब्लूएचओ

हिमाल प्रेस ७ जेठ २०८३ १०:०१ | Thursday, May 21, 2026
8
SHARES
इबोला विश्वव्यापी महामारी अवस्थामा पुगेको छैन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी)को अवस्थामा नपुगेको स्पष्ट पारेको छ। बुधवार आयोजित एक पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिनुभएको हो । मंगलवार बसेको डब्लूएचओको आपतकालीन समितिको बैठकले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डामा देखिएको इबोलाको वर्तमान अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा व्याख्या गरे पनि यसलाई विश्वव्यापी महामारी मान्न नसकिने निष्कर्ष निकालेको हो ।

हालसम्मको तथ्यांकअनुसार, कंगोको इटुरी र उत्तरी किवु प्रान्तका बुनिया र गोमा जस्ता सहरहरूमा ५१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यद्यपि, कङ्गोमा यो संक्रमणको स्तर अझ व्यापक हुनसक्ने अनुमान गरिएको छ । यस्तै, युगान्डाको राजधानी कम्पालामा कंगोबाट भ्रमण गरी आएका दुई व्यक्तिमा संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । कङ्गोमा कार्यरत एक अमेरिकी नागरिकमा पनि संक्रमणको पुष्टि भएको डब्लूएचओले जनाएको छ ।

पुष्टि भएका संक्रमितबाहेक करिब ६०० संदिग्ध बिरामीहरू फेला परेका छन् भने १३९ जनाको मृत्यु संदिग्ध अवस्थामा भएको छ । भाइरस पहिचान हुनुअघि नै लामो समयदेखि सक्रिय रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी महानिर्देशक टेड्रोसले दिनुभएको छ ।

इबोलाका कारण हुने थप मानवीय क्षति रोक्न र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिकार्यका लागि तत्काल कदम चाल्नुपर्नेमा डब्लूएचओले जोड दिएको छ । संक्रमण नियन्त्रणका लागि डब्लूएचओले जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण र आर्थिक सहयोग परिचालन गरिसकेको छ । महानिर्देशक टेड्रोसले आपतकालीन कोषबाट थप ३४ लाख अमेरिकी डलर स्वीकृत गरिएको जानकारी दिनुभयो । जससँगै इबोला नियन्त्रणका लागि कुल सहयोग रकम ३९ लाख अमेरिकी डलर पुगेको छ ।

प्रकाशित: ७ जेठ २०८३ १०:०१ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast