काठमाडौँ- दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएको र अन्य ठगीमा परेका नेपालीहरुको उद्धार कार्य जारी रहेको जानकारी दिए।
कम्बोडियाबाट ४ सय ९१, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उनले बताए। उनले पछिल्लो तीन वर्षमा २१ हजारभन्दा बढी नेपाली कम्बोडिया भ्रमणमा गएको तथ्यांक प्रस्तुत गरे।
त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको र नेपालीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको धारणा राखे।
पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा पर्नसक्ने प्रभावका बारेमा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकिएको उनले बताए। उनले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको र मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपाल सरकारको स्पष्ट अडान रहेको भन्दै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकिएको बताए।



