काठमाडौँ- सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपाल बजारमा नयाँ ऊर्जा पेय ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ। यससँगै कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्जपछि आफ्नो पेय पोर्टफोलियोलाई थप विस्तार गरेको छ।
कम्पनीका अनुसार नयाँ उत्पादनले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने लक्ष्य राखेको छ। सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंकभन्दा बाहिर ऊर्जा पेय श्रेणीमा पनि आफ्नो स्थान विस्तार गर्दै लगेको जनाएको छ।
२५० एमएल क्यानमा उपलब्ध क्याम्पा इनर्जी गोल्ड बुस्टको मूल्य रु. ८० तोकिएको छ। कम्पनीले यसलाई देशभरका खुद्रा आउटलेटहरूमा आफ्नो वितरण सञ्जालमार्फत उपलब्ध गराइसकेको जनाएको छ। उत्पादन मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा तयार गरिएको हो।
कम्पनीका अनुसार प्रारम्भिक बजार प्रतिक्रियामा उत्पादनको स्वाद, क्याफिन प्रभाव र ‘एनर्जी किक’ प्रति उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
सीजी रिलायन्स बेभरेज प्रा. लि. चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी हो। आरसिपिएल रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतको एफएमसिजी व्यवसाय हो।
आरसिपिएलले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः बजारमा ल्याएको थियो। त्यसयता ब्रान्डले तीव्र विस्तार गर्दै भारतसहित यूएई, ओमान, बहराइन र नेपालमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।



