काठमाडौँ- सीजी मोटर्सले अत्याधुनिक प्रविधिसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
सोमबार आयोजित लन्च कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगर वडा नं. ३ का अध्यक्ष प्रेम थापाले रिबन काटेर उद्घाटन गरेका थिए।
यस भ्यानको मुख्य आकर्षण ७५.४१ kWh क्षमताको ‘ब्लेड ब्याट्री’ हो। यस सेग्मेन्टमै पहिलो रहेको कम्पनीको दाबी छ। यसले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्ने बताइएको छ।
१२० किलोवाट क्षमताको शक्तिशाली मोटरले सशक्त प्रदर्शन सुनिश्चित गर्छ भने फराकिलो र आरामदायी इन्टेरियरले यात्रुलाई सहज अनुभव दिने कम्पनीको भनाइ छ।
किंग लङ्ग सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल सवारी निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।
कम्पनीका अनुसार नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित र उच्च क्षमतायुक्त यातायातको मागलाई ध्यानमा राखेर यो सवारी ल्याइएको हो।
हालसम्म किंग लङ्गले नेपालभर ५,००० भन्दा बढी युनिट बिक्री गरिसकेको छ भने २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस सेन्टर र १४ डिलर नेटवर्कमार्फत सेवा दिँदै आएको छ।
यो नयाँ १६ सिटर भ्यानको प्रारम्भिक मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।




