काठमाडौँ- जेठभित्र महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को इतर पक्षले पार्टीका अभिभावकहरूसँग सामूहिक भेट गरेको छ।
आइतबार महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा गएको टोलीले पूर्वअध्यक्ष पशुपतिशमशेर राणाको निवास ‘विजयवास’ पुगेर राप्रपाका अभिभावक नेताहरूसँग भेटेको हो।
भेटमा उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। उक्त भेटमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेत उपस्थित थिए।
अभिभावक नेताहरूले इतर पक्षले उठाएको विषय गम्भीर रूपमा लिएका थिए। इतर पक्षसँगको भेटपछि समस्याको निकास खोज्न अभिभावक नेताहरूले गम्भीर छलफल गरेको बुझिएको छ।
केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तत्काल मिति घोषणा गरी अन्योलता चिर्नुपर्ने धारणा महामन्त्री राणाले राखेका थिए। यसै गरी विश्वसनीय रूपमा महाधिवेशन आयोजना गर्न कुनै निष्पक्ष व्यक्तित्वको संयोजनमा महाधिवेशन आयोजक समिति गठन हुनु पर्ने कुरा ध्यानाकर्षण गराएको नेता सगुन सुन्दर लावतीले जानकारी दिए।
पार्टीलाई नयाँ ऊर्जा र ताजगी दिन महाधिवेशनको विकल्प नभएको भन्दै रोकेर राखिएको प्रक्रिया तत्काल खुला गर्नुपर्ने असन्तुष्ट पक्षको भनाइ छ। हालसम्म २७ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जेठमा महाधिवेशन सम्पन्न गर्न कुनै कठिनाइ नहुने कुरा छलफलमा उठेको थियो। चुनावी असफलतापछि कार्यकर्तापंक्तिमा रहेको अन्योलतालाई चिर्न समयमै महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेको विषय भेटमा राखिएको थियो।
नेता लावतीले पार्टीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नयाँ नेतृत्व र नयाँ कार्यदिशाका लागि महाधिवेशन अनिवार्य भएको र यसमा अभिभावकहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको बताए। पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर विवाद बढ्दै जाँदा असन्तुष्ट पक्ष पार्टी अभिभावकका रूपमा रहेका वरिष्ठ नेताहरूका पुगेका हुन्।



