सुन्तला बिक्रीबाट एक वर्षमै ४५ लाख आम्दानी

हिमाल प्रेस १५ माघ २०७९ ७:४८ | Sunday, January 29, 2023
सुन्तला बिक्रीबाट एक वर्षमै ४५ लाख आम्दानी तस्बिर : रासस

स्याङ्जा- यस वर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन्।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ रूपैयाँबाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री भइरहेको उनले बताए। ‘यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु,’ उनले भने, ‘सुन्तला टिप्ने क्रम जारी छ, अझै तीन लाख रूपैयाँ जतिको सुन्तला बोटमै छ।’

गत वर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो। गत वर्षभन्दा यस वर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए।

‘गत वर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन,’ उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरेँ तर कुहियो, उल्टै घाटा लाग्यो।’

उनले स्याङ्जा शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए। ३९० क्यारेट सुन्तला कुहिँदा झण्डै सात लाख नोक्सान भएको उनले बताए। अहिले उनीसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैनन्। सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुने उनको दाबी छ।

१४ वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन्। ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रूपमा सुन्तला खेती गरेका उनको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन्। उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव थिए। -रासस

प्रकाशित: १५ माघ २०७९ ७:४८ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast