सडकमा लापरबाही कहिलेसम्म?

आगोले निल्यो तीन किशोर जीवन : बथनाहाको पीडा

गोपाल झा २६ चैत २०८२ १६:४६ | Thursday, April 9, 2026
80
SHARES
सडकमा लापरबाही कहिलेसम्म?

मधेश प्रदेशको बर्दिवास-जलेश्वर सडकखण्डको बथनाहामा भएको विभत्स मोटरसाइकल दुर्घटनाले फेरि एकपटक सवारी सुरक्षा, युवा भविष्य र सामाजिक जिम्मेवारीको प्रश्नलाई तीव्र रूपमा उठाएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्किरहेका विद्यार्थीहरू सवार दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको आगलागीमा तीन जनाको घटनास्थलमै जलेर मृत्यु भयो भने बाँकी तीन जनाको अवस्था गम्भीर छ।

यो घटना मात्र होइन, यो एउटा चेतावनी हो- हामी कति लापरबाहीपूर्ण ढंगले सडकमा हिँडिरहेका छौँ? कलीलो उमेरका यी विद्यार्थीहरूको अकाल मृत्युले सम्पूर्ण मधेश प्रदेशलाई स्तब्ध बनाएको छ। आमाबुबाको सपना, परिवारको आशा र समाजको भविष्य एकैपटक खरानीमा मिलेको यो दृश्यले हामी सबैलाई सोच्न बाध्य बनाएको छ। दुर्घटना आफैँमा आकस्मिक हो तर कैयन् दुर्घटना आकस्मिक हुन्नन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-०८२ मा मात्रै देशभर २५ सय ४९ जनाको सडक दुर्घटनामा ज्यान गएको छ। औसतमा दैनिक सात जनाभन्दा बढीले सडकमा प्राण गुमाइरहेका छन्।

मधेश प्रदेश यसमा सबैभन्दा अगाडि छ। यहाँ वार्षिक ५ सय भन्दा बढी दुर्घटना हुने र औसत दैनिक दुई जनाको मृत्यु हुने गरेको छ। यसमध्ये करिब ५८ देखि ७० प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्।

दुईपाङ्ग्रे सवारीसाधनले देशको कुल दुर्घटनाको ठूलो हिस्सा ओगटेको छ। बथनाहाको यो घटना यसको ज्वलन्त उदाहरण हो। सम्झिनुहोस्, यो पहिलो घटना होइन।

केही महिनाअघि पनि जलेश्वर आसपास तीव्र गतिमा गुडिरहेका मोटरसाइकलरूखमा ठोक्किँदा कक्षा १२ पास गरेका एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो। उनी उच्च शिक्षा पढ्न काठमाडौँको बस टिकट काटिसकेका थिए। आमाबुबाको एकल सन्तान अकालमै मृत्युवरण गरे।

मधेशका विभिन्न जिल्ला- महोत्तरी, सर्लाही, रौतहट, धनुषा, सिराहालगायतमा यस्ता घटना दैनिकजसो दोहोरिरहेका छन्। स्थानीय बासिन्दाहरू भन्छन्, ‘हरेक हप्ता यस्ता खबर सुन्नु सामान्य भइसक्यो।’ तर सामान्य बन्नु हुँदैन। यो पीडा र भयलाई हामीले सामान्यीकरण गर्न मिल्दैन।

दुर्घटनाको मुख्य कारणहरू के-के हुन्?

पहिलो र प्रमुख कारण हो- युवाहरूले तीव्र गतिमा सवारीसाधन चलाउनु (Reckless driving), लापरबाही र जथाभाबी ओभरटेक गर्ने। कम उमेरमै मोटरसाइकलको लाइसेन्स अनि बिना हेलमेट मोटरसाइकल चलाउने प्रवृत्ति बढ्दो छ।

दुई जनाभन्दा बढी मानिस चढाएर, हेलमेट नलगाई, मोबाइल फोनमा कुरा गर्दै वा ओभरटेक गर्दै गुड्ने बानीले जोखिम बढाएको छ। नेपाल प्रहरीको रिपोर्टअनुसार दुर्घटनाको ४४ प्रतिशतभन्दा बढी घटना उच्च गतिकै कारण भएको देखिन्छ।

दोस्रो कारण हो- सवारी साधनको प्राविधिक जाँचको अभाव। धेरै मोटरसाइकल पुराना (पुराना भए पनि दुरुस्त राख्न आवश्यक) , बिग्रेका-खिएका ब्रेक अनि चिल्ला भइसकेका टायर हुन्छन्।

तेस्रो- कमजोर सडक पूर्वाधार। मधेशको समतल भूमि, घना जनघनत्व र अवैज्ञानिक रूपमा बसेका बस्तीहरूबीच बनेका सडकहरूमा ट्राफिक बत्ती छैनन्, साइनबोर्ड कम छन्, खाल्टाखुल्टी र जताततै अव्यवस्थित निर्माण कार्य पनि हो।

चौथो-  चालकहरूमा ट्राफिक नियमको ज्ञान नहुनु, निस्कन हतार नहुने, निस्केपछि सडकमा हतार गर्ने प्रवृत्ति र अनुशासनको अभाव।

र, पाँचौं- अभिभावकहरूको लापरबाही। आफ्ना छोराछोरीलाई सजिलै मोटरसाइकल उपलब्ध गराउने प्रवृत्ति बढेको छ। यसबाहेक सामाजिक कारणहरू पनि उत्तिकै जिम्मेवार छन्।

मधेशमा कम उमेरमा विवाह गर्ने र विवाहमा मोटरसाइकल लिने-दिने परम्पराले युवाहरूलाई सवारीप्रति असावधानीपूर्ण आकर्षण बढाएको छ। विदेशमा रहेका अभिभावकले पठाएको रकमले सजिलै बाइक किनेर युवालाई दिने प्रचलनले पनि जोखिम बढाएको छ।

एसईई सकेकाहरूले बाइक डिमान्ड गर्ने प्रचलन छ, तराई होस् या पहाड, सबै तिर। यसमा अभिभावक पनि सचेत हुन आवश्यक छ।

बेरोजगारी, शिक्षाको कमजोर गुणस्तर र सीपमूलक शिक्षाको अभावले युवाहरू दिशाहीन बनेका छन्। उनीहरू गलत बाटोमा लाग्ने जोखिम बढेको छ। मदिरा तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति पनि मधेशमा चिन्ताजनक छ। प्रहरीले पक्राउ गरेका धेरै चालकमा मादक पदार्थको प्रभाव देखिएको छ।

सरकारी तथ्यांकले पनि यो कुरा पुष्टि गर्छ। नेपालमा सडक दुर्घटनाले वार्षिकरूपमा ठूलो आर्थिक क्षति गरिरहेको छ।‍‍‍‍‍‌‌‌

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को २०२५ को रोड सेफ्टी प्रोफाइलअनुसार नेपालको सडक दुर्घटनाको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा २८.२ छ, जुन दक्षिण एसिया र एशिया-प्रशान्तको औसतभन्दा निकै बढी हो।

मधेश प्रदेशमा यो समस्या झन् विकराल छ। यहाँको सडकमा मोटरसाइकल दुर्घटनाको अनुपात उच्च छ। तर सरकार र सम्बन्धित निकायको भूमिका कति प्रभावकारी छ? सडक सुरक्षा मापदण्डको कार्यान्वयन कमजोर छ। ट्राफिक प्रहरीको संख्या अपर्याप्त छ। जनचेतनामूलक कार्यक्रमहरू सीमित छन्।

हालैको राजनीतिक परिवर्तनपछि यसमा सुधार हुने आशा अधिकमा देखिएको छ। यद्यपि आधारभूत समस्याहरूलाई नेतृत्वले कसरी लिने हो त्यो हेर्न बाँकी छ। तर स्थानीय स्तरमा त समस्या ज्यूँका त्यूँ छन्।

‘नेतृत्व परिवर्तनले मात्र हुँदैन, व्यवहारिक सुधार चाहिन्छ,’ स्थानीय अगुवाहरू भन्छन्। मधेशका सडकहरू वैज्ञानिक मान्यताअनुसार निर्माण हुनुपर्छ। समतल भूमिमा बनेका यी सडकहरूमा ड्रेनेज प्रणाली, साइड बार, स्पीड ब्रेकर र पर्याप्त ट्राफिक लाइटको व्यवस्था हुनुपर्छ।

विकास निर्माणको नाममा जथाभावी खाल्टो खनेर, बाटो खनेर दुर्घटना निम्त्याउने काम बन्द हुनुपर्छ। स्थानीय निकायलाई सडक सुरक्षा योजना बनाउने जिम्मेवारी दिनुपर्छ। सडक खाल्टाखुल्टी भएमा निर्माण गर्ने कम्पनीलाई नै हर्जना तिराउने गर्ने गरी टेण्डर गर्नुपर्छ। सडक निर्माण भएको १० वर्षसम्म त्यसको मर्मत सम्भारको जिम्मा पनि ठेकेदार कम्पनीलाई दिँदै त्यसको कडा मोनिटर गर्न सक्नुपर्छ।

प्रहरी र स्थानीय सरकारबीच समन्वय बढाउनुपर्छ। लाइसेन्स वितरण प्रक्रिया कडा बनाउनुपर्छ। कम उमेरका युवालाई बिना अभ्यास सडकमा सवारी चलाउन दिन हुँदैन। जनचेतनाको अभावलाई हटाउन स्थानीय एफएम रेडियो, सामुदायिक रेडियो, सामाजिक सञ्जाल र विद्यालयहरूलाई जोड्नुपर्छ। ‘सेफ ड्राइभ, सेभ लाइफ’ जस्ता अभियानलाई निरन्तरता दिनुपर्छ।

अभिभावकहरूलाई सचेत बनाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यालयमा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम राख्नुपर्छ। युवाहरूलाई सीपमूलक शिक्षा दिएर बेरोजगारी घटाउनुपर्छ। रोजगारीका अवसर बढाउनुपर्छ ताकि उनीहरू गलत बाटोमा नलागून्। यो समस्या केवल ट्राफिक व्यवस्थापनको होइन, यो सामाजिक, शैक्षिक, आर्थिक र नीतिगत कमजोरीको समग्र परिणाम हो।

मधेश प्रदेशको घना जनसङ्ख्या, अव्यवस्थित बसोबास र दैनिक बढ्दो सवारीसाधनको चापले स्थिति झन् जटिल बनाएको छ। तर हार मान्नु हुँदैन। यदि हामी सबैले आ-आफ्नो जिम्मेवारी सम्हाल्यौँ भने यो प्रवृत्तिलाई रोक्न सकिन्छ। सरकारलाई मेरो अनुरोध छ- दीर्घकालीन योजनाका साथ सडक व्यवस्थापन गर्नुहोस्। वैज्ञानिक डिजाइनअनुसार सडक बनाउनुहोस् र भएकालाई पनि सुधार गर्नुहोस्।

ट्राफिक बत्ती, साइनबोर्ड र आवश्यक स्थानमा ट्राफिक सर्विलेन्स क्यामेरा जडान गर्नुहोस्। कोटेश्वर र महाराजगञ्जमा राखेका जस्ता सर्विलेन्स क्यामेरा हाईवेमा प्रयोग होस्। कहाँ के आवश्यक छ त्यसमा ध्यान दिएर निर्णय लिनुपर्छ।

कैयन् काम लहडमा हुने गरेका थिए। त्यसमा पनि सुधार होस्। पहिले पूर्वाधार विकासमा काम त भए तर व्यवस्थित हुन सकेनन्। वर्तमान सरकार त्यसलाई व्यवस्थित गर्दै अघि बढ्न आवश्यक छ।

प्रभावकारी नीति बनाउनुहोस् र त्यसको कडा कार्यान्वयन गर्नुहोस्। मदिरा सेवन गरेर सवारी चलाउनेलाई कडा सजाय दिनुहोस्। तोकिएको स्थानबाहेक अन्यत्र रोक्ने सार्वजनिक सवारीसाधनलाई ठूलै सजाय र जरिवाना तय गर्न आवश्यक छ।

लेन अनुशासन र विधि सिकाउनुहोस्। कार्यान्वयनमा कडाइ गर्नुहोस्। हेलमेट अनिवार्य बनाउनुहोस् र त्यसको पालना गराउनुहोस्। युवा क्लब, महिला समूह, विद्यार्थी संघहरूसँग मिलेर जनचेतना कार्यक्रम सञ्चालन गर्नुहोस्। अभिभावकहरू, तपाईंहरूले आफ्ना सन्तानलाई मोटरसाइकल दिनुअघि तीन पटक सोच्नुहोस्।

उनीहरूलाई ट्राफिक नियम सिकाउनुहोस्। उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुहोस्। युवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूको जीवन अमूल्य छ। एउटा लापरवाहीले पूरै परिवारलाई बिगार्न सक्छ। हेलमेट लगाउनुहोस्, गति नियन्त्रण गर्नुहोस्, नियम पालना गर्नुहोस्।

समाजका अगुवा, शिक्षक, पत्रकार र नागरिक समाजले पनि यो अभियानमा सक्रिय भूमिका खेल्नुपर्छ।

सडक सुरक्षा एउटा राष्ट्रिय अभियान बन्नुपर्छ। मधेश प्रदेशलाई दुर्घटनामुक्त बनाउने सपना साकार पार्न हामी सबै एकजुट हुनुपर्छ। अन्त्यमा, बथनाहाको यो घटनाले हामीलाई एउटा सन्देश दिएको छ- परिवर्तन अब ढिलो गर्नु हुँदैन।

यो पछिल्लो दुःखद घटनालाई हामीले भुल्नु हुँदैन। यसलाई प्रेरणाको स्रोत बनाएर सडक सुरक्षा अभियानलाई तीव्र बनाउनुपर्छ। ताकि कुनै पनि विद्यार्थी, कुनै पनि युवा, कुनै पनि परिवारले यस्तो पीडा भोग्न नपरोस्।

मधेशको समृद्धि र युवाको उज्ज्वल भविष्यका लागि सडक सुरक्षा पहिलो सर्त हो। यो हाम्रो सामूहिक जिम्मेवारी हो। हामीले यो जिम्मेवारी पूरा गरौँ। ताकि भोलिका दिनमा यस्ता दर्दनाक घटनाहरू इतिहासका पानामा मात्र सीमित रहून्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast