चाइना जर्नल

सम्झनाको लहर र वसन्तको सयरमा रमाउने चिनियाँ पर्व छिङमिङ

अजय अलौकिक २० चैत २०८२ १८:२० | Friday, April 3, 2026
42
SHARES
सम्झनाको लहर र वसन्तको सयरमा रमाउने चिनियाँ पर्व छिङमिङ

वर्तमान विश्व मानवसिर्जित द्वन्द्वको चपेटामा फसेको छ। प्रकृति भने पुष्पकालको यो ऋतुमा मनमोहक बनेको छ। तर आजका मानिसहरू विभिन्न झमेलाबीच प्राकृतिक सौन्दर्यपान गर्न बिर्सिरहेका छन्। साथै, जेनतेन मानवपुर्खाले बनाएका प्रकृतिपूजक तथा मानवीय चालचलनका संस्कृतिमा रमाउने कोसिस गरिरहेका छन्। यद्यपि, विश्वभर परिस्थिति यस्तो नहुन पनि सक्छ।

अहिले, चीनमा चीनको परम्परागत चाडहरू मध्ये एक छिङमिङ पर्व मनाइँदैछ। यो पर्व आफैँमा मार्मिक छ, साथसाथै वसन्त ऋतुको आनन्दोत्सवको रूपमा पनि लिइने गरिन्छ। खासमा २,५०० वर्षभन्दा पुरानो इतिहास बोकेको यो पर्वको दिन पितृपुर्खाहरूको सम्मान गर्ने गरिन्छ।

यो पुर्खाहरूको सम्मान गर्ने एउटा पवित्र दिन मात्र पनि होइन, चिनियाँ २४ सौर्यअवधि बिन्दु (जसले वर्षदिनको चार ऋतु छुट्याउँछ) मध्येको छिङमिङ बिन्दु पनि हो। चिनियाँ पात्रो अनुसार यो वसन्त विषुव हो। यो पर्व चिनियाँ पात्रोअनुसार तेस्रो महिनाको पाँचौँ दिनमा पर्दछ। यस वर्ष छिङमिङ पर्व ग्रेगोरियन पात्रो अनुसार, चौथो महिनाको पाँचौँ दिन अर्थात् अप्रिल ५ तारिख परेको छ।

वासन्ती शीतल हावा र हरियाली वातावरण तथा नीलो आकाश बीचको यो समय निकै मनमोहक हुने भएकोले नै यो पर्व तथा सो बिन्दुलाई छिङमिङ भनिएको होला। यहाँ छिङ र मिङको अर्थ सफा र चम्किलो हुन आउँछ।

छिङमिङ पर्वको बेला चीनभरि नै शान्त तथा भावपूर्ण दृश्य देखिन्छ। सायद चिनियाँ समुदाय रहने विश्वका विभिन्न भागमा पनि यस्तै दृश्य पाइन्छ होला। यो दिन भौतिक संसारबाट बिलाइसकेका आफ्ना प्रियजनलाई सम्झने तथा उनीहरूको चिहान सफा गर्ने गरिन्छ। त्यसकारण यसलाई अङ्ग्रेजीमा टुम्ब स्वीपीङ डे भनिन्छ।

२५०० वर्षभन्दा अघिदेखि चल्दैआएको यो चिहान सफाइ दिवस संस्कार चिनियाँको आत्मिक पर्व हो, जहाँ पूर्वजहरूको सम्मान गरिन्छ। यो दिन चिनियाँहरूले पुर्ख्यौली चिहानबाट झारपात उखेल्छन्, सफा गर्छन्, शिलालेखहरू सफा गर्छन्, माटो थप्छन् र चिहानहरूमा बैँश रूखका हाँगाहरू (दुर्भाग्यबाट बचाउने प्रतीकको रूपमा लिइन्छ) राख्छन्।

साथै, चिहानमा चढाउने भेटीहरू भने हामीजस्ता विदेशीहरूलाई रूचिकर लाग्न सक्छन्। मृतकलाई मनपर्ने खानेकुरा, चिया, रक्सी, फलफूल त भइहाल्यो, यसका साथै, नक्कली नोट (जोस पेपर), दैनिक आवश्यक वस्तु तथा गाडी वा अरू विलासिता वस्तुका चित्रहरू कोरिएका कागजहरू पनि चढाइन्छ। हुन त, नेपालमा पनि गाईको ठाउँमा गाईअंकित पैसा चढाउने गरिने हुँदा नौलो भन्न मिल्दैन। यी सबै विविध चित्रअंकित कागजहरू वितेका आफन्तजनको सम्झनामा जलाइन्छ। यो विश्वास गरिन्छ कि यी उपहारहरू मृतक प्रियजनहरूको मृत्युपछिको जीवनसम्म पुग्ने छन्।

यो मृत्युपछि पनि पारिवारिक बन्धनलाई जीवित राख्ने तरिका हो। यो श्रद्धा हो, सम्झना हो र यो श्राद्ध हो।

नेपालसहित विश्वका विभिन्न देशमा पनि छन्, यस्तै परम्परा

हामी नेपालीहरूले पनि आफ्ना पितृपुर्खाको सम्झनामा वार्षिक श्राद्ध गर्ने या सम्झने परम्परा छँदैछ। यसबाहेक, विशेषतःहिन्दुमार्गीहरूले सोह्र श्राद्ध गर्ने चलन पनि रहेको छ। जसरी हिन्दु परम्परामा मृतकको शान्तिको कामना र जीवितहरूका लागि सौभाग्य वा आशीर्वादका लागि श्राद्ध गरिन्छ यसरी नै चिनियाँहरू छिङमिङ पर्वमा पितृ पक्षको प्रार्थना गर्दछन्। र, यो पनि विश्वास गर्छन् कि यसले सौभाग्य ल्याउँछ र कृतज्ञता प्रकट गर्छन्।

संसारभर नै यो परम्परा रहेको पनि देखिन्छ। मेक्सिकोमा पूर्वजहरूसँगको हर्षपूर्ण पुनःमिलनको रूपमा रंगीन, संगीतमय पर्व, जापान तथा युरोपमा पनि यस्तै पर्व मनाइन्छ जहाँ चिहान सफा गर्ने, मैनबत्ती बाल्ने, फूल चढाउने गर्छन् र कोरियामा त चिनियाँ छिङमिङ पर्वकै दिन सोही पर्व वा चिनियाँ परम्परासँग मिल्दोजुल्दो पर्व मनाउने गरिन्छ, अरे।

यी सबै पर्वहरूले पूर्वजहरूको न्यानो सम्झना गर्दछ र संसारभरका संस्कृति, परम्परा एकाकार भएको पनि देखिन्छ। पूर्वजहरूको सम्मान र मृतकलाई सम्झने सार्वभौमिक मानवीय परम्परा नै हो।

वसन्त यात्रा

विगतको सम्मान गर्ने, वर्तमानलाई अँगाल्ने र परिवारलाई नजिक राख्न सिकाउने यी पितृपुर्खाको पर्व सँगसँगै चीनमा छिङमिङ पर्वले परिवार र पुस्ता बीच पुलको पनि काम गरेको छ। यो हिजोआज स्प्रीङ आउटिङ अर्थात् वसन्त यात्राको रूपमा पनि प्रचलित छ। सन् २००८ देखि यो पर्वको दिन चीनमा राष्ट्रिय सार्वजनिक बिदा दिने गरेको छ। सप्ताहन्तसँगै बिदा समायोजन गरेर ३ दिनसम्मको बिदा दिने चलनबाट चीनमा यो पारिवारिक पुनःमिलन, लामो वा छोटो दुरीको यात्रा तथा पर्यटन सिजनको रूपमा अर्थतन्त्रलाई चलायमान बनाउने घटकसमेत बनेको छ।

परम्परागत रूपमा, चिनियाँ परिवारहरू पितृपुर्खाका चिहानहरूमा जान्छन्, झारपात उखेल्छन्, सफा गर्छन्, माटो थप्छन् र मृतकलाई मनपर्ने खानेकुरा, फलफूल, इत्यादी चढाउँछन्, र साथै जोस पेपरलगायत विविध वस्तुचित्रित कागज जलाउँछन्।

शोक मनाउने र कृतज्ञता व्यक्त गर्नेबाहेक चिनियाँ परिवारहरू वसन्तको स्वागत गर्दै मनोरम वातावरणको मजा लिने क्रममा पहाड चढ्ने, चंगा उडाउने, पिकनिक मनाउने गर्छन्, जुन चलन आज पनि पछ्याइरहेका छन्। यद्यपि आधुनिक चीनमा पर्व मनाउने केही तरिका र चलनमा भने परिवर्तन आएका छन्, समय सँगसँगै रूपान्तरण भएका छन्।

आधुनिक परिवर्तन

आजको छिङमिङ पहिलेको तुलनामा धेरै फरक देखिन्छ। पूर्वजहरूलाई सम्मान गर्ने र जीवनको मूल्य बुझ्ने मुख्य आध्यात्मिक भाव उही नै छ, तापनि आधुनिक जीवन, सहरीकरण, प्रविधि, वातावरण र कानुनले परिवर्तन ल्याएको छ। जुन वर्तमान परिप्रेक्ष्यमा अर्थपूर्ण र रोचक पनि छन्।

मुख्यतः मृत्युपछि गरिने दाहसंस्कारमा नै ठूलो परिवर्तन भएको छ। हाल, लास गाड्ने प्रचलनमा कमी आएको छ र सहरी क्षेत्रमा त जलाउने नै गरिन्छ। जमिनको अभाव र जमिनको मुल्य आकासिनुले गर्दा सहरमा चिहान कम भएका छन्। यद्यपि, अस्तुलाई संरक्षण गरी राख्ने समाधि भवन वा स्थलहरू छन्। यी समाधिस्थल र चिहानमा पूजा गर्ने तरिकामा पनि आधुनिकता थपेको छ। पर्यावरणमैत्री पूजाको चलन चलेको छ।

नक्कली पैसा र कागजहरू जलाउने नभई सरसफाइपछि साना बिरुवाहरू, ताजा फूलहरू चढाउने तथा इलेक्ट्रोनिक मैनबत्तीहरू बाल्ने गरिन्छ। यी आधुनिक हरित विकल्पले आगोको जोखिम र वायु प्रदूषणबाट जोगाउँछ।

पहाडपर्वतमा भएका चिहानमा जलाउने यी भेटीहरूबाट डढेलोको सम्भावना नकार्न सकिँदैन। अहिले यस्ता पहाड र उद्यानहरूमा आगो निषेध गरेबाट पनि यो पारम्परिक चलनमा व्यापक रूपमा हरित विकल्प अपनाएको देखिन्छ।

हिजोआज वातावरणमैत्री सँगसँगै डिजिटल पनि भएको छ। विदेशमा वा अन्य सहरमा बस्ने वा व्यस्त मानिसका लागि ‘क्लाउड समाधि सफाइ’ को रूपमा अनलाइन स्मरण प्लेटफर्मले पनि व्यापकता पाएको छ।

परिवारसँगै भर्चुअल समाधिको अवलोकन र भर्चुअल मैनबत्ती बाल्ने तथा मृतकको सम्झनामा सन्देश लेख्ने वा उनको बारेमा लेख्ने पनि गरिन्छ। साथै अनुष्ठानको समयमा प्रत्यक्ष प्रसारणमार्फत् परिवारका सदस्य जोडिने चलन पनि छ। प्रविधिबाट जोडिएर रीतिरिवाजलाई अपनाउने यो तरिका हिजोअस्तिभन्दा अहिले स्वीकारेको देखिन्छ।

छिङमिङ अब परिवारबाट विस्तार पनि भएको छ। पारिवारिक पुर्खा मात्रै होइन सहिद र सार्वजनिक व्यक्तित्वहरूको स्मरण र सम्मान गर्ने पर्व पनि बनेको छ। सहिद, सैनिक, अग्निनियन्त्रक तथा उद्धारकर्ता, डक्टर र समाजमा योगदान पुर्‍याएका सार्वजनिक कर्मचारीहरूलाई सम्मान गर्ने चलन बसेको छ। साथै सार्वजनिक स्मारक स्थल र युद्ध स्मारक पार्कहरूको भ्रमण गर्ने चलन चलेको छ।

विगतमा छिङमिङ गम्भीर पर्वको रूपमा लिइन्थ्यो भने अहिले युवाहरूका लागि पितापुर्खाको सम्झना सँगसँगै वसन्त याममा घुम्नजाने, हरिया वन, उद्यान र रंगीचंगी फूल, वनस्पतिको अवलोकन तथा चंगा उडाउने, पिकनिक, क्याम्पिङ, हाइकिङको रूपमा रमाइलो वसन्त यात्रा पनि भएको छ।

आज छिङमिङ किन महत्त्वपूर्ण छ भन्दा यसले विगतको सम्मान गर्न र वर्तमानमा पूर्ण रूपमा बाँच्न सिकाउँछ। आजको व्यस्त डिजिटल युगमा डिजिटल संसारमा मात्रै रम्ने होइन प्रकृतिको आनन्द लिन तथा जीवनलाई उत्सवको रूपमा मनाउन पनि सिकाउँछ। दु:ख र सुख एकसाथ सँगै बाँच्न सकिन्छ भन्ने दर्शन पनि यसमा लुकेको छ।

प्रकाशित: २० चैत २०८२ १८:२० | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast