नेपाल सरकारले जेनजी आन्दोलनपछिको संघीय संसदीय चुनावमा युवा नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुईतिहाई बहुमत प्राप्त शक्तिशाली सरकारको २०८२ चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकबाट शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ७२ नम्बरमा उदयपुर जिल्लाको कोशी आसपासको इलाकालाई विकासको प्राथमिकतामा राखेको छ।
यो क्षेत्र भगवान् विष्णुको १० अवतारमध्ये तेस्रो वराह अवतारसँग सम्बन्धित भई संसारकै पहिलो धार्मिक स्थल रहेको किंवदन्ती पाइन्छ। धार्मिक-पौराणिक व्याख्यामा यस क्षेत्रको स्थान अत्यन्तै उच्च र महत्त्वपूर्ण मानिन्छ। वराहपुराणले बराह क्षेत्र (विशेषतः कोशी-तटस्थित त्रियुगा/बेलका-चतरा/बराहक्षेत्र) लाई अत्यन्त पवित्र क्षेत्रका रूपमा वर्णन गर्छ।
‘संसारकै पहिलो धार्मिक क्षेत्र’ भनेर आधुनिक अर्थमा प्रयोग हुने वाक्यांश भने मूल ग्रन्थमा जस्ताको तस्तै पाइँदैन, तर केही महत्त्वपूर्ण बुँदा छन् जसले किन यस्तो धारणा विकसित भयो भन्ने स्पष्ट पार्छ। वराहपुराणमा बराह क्षेत्रलाई वराह भगवान्को अवतरणस्थल, पापनाश गर्ने सर्वोच्च तीर्थ र सृष्टिको आदिकालदेखि पवित्र मानिएको क्षेत्रका रूपमा अत्यन्त उच्च स्थान दिइएको छ।
कसैकसैले ‘आदितीर्थ’, ‘प्रथम तीर्थ’, ‘सृष्टिकालदेखि पवित्र’ जस्ता वाक्यांशलाई संसारकै पहिलो धार्मिक क्षेत्र भन्ने आधुनिक व्याख्यामा रूपान्तरण गरेका छन्। ‘संसारकै पहिलो धार्मिक क्षेत्र’ भन्ने दाबीलाई प्रमाणित गर्ने पुरातात्त्विक वा ऐतिहासिक प्रमाण उपलब्ध हुन्छ वा हुँदैन, त्यो अर्को अनुसन्धानको विषय होला।
तर पनि वराह अवतारको प्रमुख स्थल, कोशी नदीसँग जोडिएको प्राचीन तीर्थ परम्परा, वैदिक-पौराणिक ग्रन्थहरूमा बारम्बार उल्लिखित, नेपाल-भारत दुवैमा पूजनीय, वैदिक तथा किराँत सभ्यताको केन्द्रविन्दु र सांस्कृतिक, धार्मिक तथा भू-आध्यात्मिक महत्त्व भएको हुनाले बराह क्षेत्रको महिमा धार्मिक दृष्टिले अत्यन्त उच्च छ। यही कारणले यस पवित्र क्षेत्रलाई ‘आदितीर्थ’ वा ‘सृष्टिकालीन तीर्थ’ भनेर सम्मान गरिन्छ। नेपाल र भारत दुवैका भक्तहरूको आराध्य केन्द्र हो यो स्थान।
यस इलाका केवल वैदिक-पौराणिक परम्परासँग मात्र होइन, किरात सभ्यता र खुवालुङजस्ता अत्यन्त प्राचीन र पूज्य सांस्कृतिक-आध्यात्मिक प्रतीकहरूसँग पनि गहिरो रूपमा जोडिएको छ। यो सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भूआध्यात्मिक र मिथकीय सबै तहमा रोचक छ।
यो क्षेत्र किरातहरूको भू-आध्यात्मिक भूगोल पनि हो। किरात सभ्यता (विशेषतः राई-लिम्बू परम्परा) को मूल भूगोल कोशी नदी प्रणाली, अरुण-तमोर-दूधकोशी क्षेत्र र पूर्वी पहाड-तराईको संगम यहीँ अवस्थित छ। किरात परम्परामा नदी (वाखाक्मा), ढुंगा (लुङ) र पहाड (थुम) आदिम देवत्वका प्रतीक हुन्। बराहक्षेत्र नदी-पर्वत-जंगल पवित्रताको संगम भएकाले किरातहरूको दृष्टिमा पनि यो आध्यात्मिक केन्द्र हो।
यस क्षेत्रको सम्भावना धार्मिक वा सांस्कृतिक मात्र होइन, विश्वस्तरको बराहक्षेत्र-कोशी-हिमालय पर्यटन केन्द्र बन्न सक्ने क्षमता राख्छ। अत्यन्त सुन्दर तथा मनमोहक यस इलाकाका पवित्र स्थल, कोशी नदी, जंगल, पहाड, फाँट, कोशी टप्पु र सगरमाथा तथा कञ्चनजंघाजस्ता हिमालयसँग जोडिएको पर्यटनका लागि पनि अति महत्त्वपूर्ण छन्।
यो क्षेत्र संसारका थोरै स्थानमध्ये एक हो जहाँ नदी (कोशी), जंगल (कोशी टप्पु, तराई-पहाड संक्रमण क्षेत्र), फाँट (तराईको खुला मैदान), पहाड (मध्यपहाडी क्षेत्र) र हिमालय (सगरमाथा, कञ्चनजङ्घा) एकै भूरेखामा अवस्थित छन्।
यसका अलावा राई, लिम्बू, थारू, दनुवार, माझी, मधेशी तथा पहाडी समुदायहरूको सांस्कृतिक विविधताले भरपूर चाडपर्व, नाचगान, मिथक र मौलिक इतिहासले यस क्षेत्रलाई बहुस्तरीय धार्मिक-सांस्कृतिक पर्यटनको दुर्लभ गन्तव्य बनाएको छ।
धार्मिक, सांस्कृतिक, पर्यटन मात्र होइन, यो क्षेत्र नेपालको कृषि-भूगोल, जल-स्रोत, जैविक विविधता, र भविष्यका कृषि-नवप्रवर्तनका लागि पनि रणनीतिक रूपमा अत्यन्त मूल्यवान् छ। कृषि-भूगोलको दृष्टिले यो क्षेत्र नेपालमा थोरै स्थानमध्ये तराई-पहाड-हिमालयको एकीकृत कृषि प्रणाली जहाँ हिमालय (सगरमाथा-कञ्चनजंघा), पहाड (मध्यपहाडी क्षेत्र), फाँट (तराई), नदी-डेल्टा (कोशी-त्रियुगा तट) एकीकृत कृषि-इकोसिस्टममा जोडिन्छन्।
यसले बहु-जलवायु कृषि, विविध बाली प्रणाली, उच्च-मूल्य कृषि (चिया, कफी, अलैँची, अन्य मसला तथा फलफूलहरू), तराई-आधारित खाद्यान्न उत्पादन, मत्स्यपालन, पशुपालन र नदी-आधारित हर्टिकल्चर तथा एग्रोफरेस्ट्री जस्ता कृषि सम्भावना एकैसाथ खोल्ने ल्याकत राख्दछ।
नेपालकै सबैभन्दा विविध कृषि-इकोसिस्टममध्येको एक यो क्षेत्र जैविक विविधता र कृषि अनुसन्धान तथा नवप्रवर्तनको हिसाबले पनि उत्कृष्ट छ। भौगोलिक तथा हावापानीका हिसाबले जैविक विविधतामा जडीबुटी तथा औषधीय बोटबिरुवा, जंगली फलफूल, परम्परागत बाली, स्थानीय बिउबिजन तथा जिन जस्ता क्षेत्रहरूमा अनुसन्धानका लागि अत्यन्त महत्त्वपूर्ण छ।
अनुसन्धानका सम्भावित क्षेत्रमा क्लाइमेट रेजिलिएन्ट कृषि, फुडप्लेन, हिमाल-पहाड-तराई एग्रोइकोलोजी, इन्डिजेनस नलेज सिस्टम, जलाधार फार्मिङ सिस्टम, जैविक कृषि करिडोरका हिसाबले पनि यो क्षेत्र नेपालकै ‘प्राकृतिक कृषि ल्याबोरेटरी’ जस्तै हो।
उद्यम र बजार-जडानका हिसाबले पनि त्रियुगा-बराहक्षेत्र-इटहरी-धरान-विराटनगर कोरिडोर, त्रियुगा-कटारी-हेटौँडा-काठमाडौँ, हिमाल-पहाड-तराई, पूर्व-पश्चिम राजमार्ग, भारत-बङ्गलादेशसँगको बजार निकटता, कोशी-सगरमाथा करिडोर, हवाई-जडान (विराटनगर विमानस्थल) जस्ता सञ्जालले उद्योग, कृषि तथा अन्य व्यवसायलाई अत्यन्त सहज बनाउँछन्।
यसैले यो क्षेत्र उद्यम, व्यापार, कृषि, कृषि-व्यवसाय र अनुसन्धानका लागि अत्यन्तै महत्त्वपूर्ण, रणनीतिक र भविष्य-केन्द्रित क्षेत्र हो। सम्भावनाका दृष्टिले यो इलाका विश्व-स्तरको एकीकृत मेगा-हबमा रूपान्तरण गर्ने केवल सम्भव मात्र होइन, रणनीतिक रूपमा अत्यन्तै यथार्थपरक र उपयुक्त स्थान छ।
नेपालको भूगोल, संस्कृति, नदी-अर्थतन्त्र, जनसांख्यिकी, व्यापारमार्ग र ज्ञान-अर्थतन्त्रको सम्भावना हेर्दा यो क्षेत्र दक्षिण एसियाको सिंगापुर, स्विट्जरल्यान्ड वा सिलिकन भ्यालीजस्तै बन्न सक्ने क्षमता राख्छ।
यसलाई भूरणनीति प्रभावका हिसाबले पाँच तहमा विश्लेषण गर्न सकिन्छ।
पहिलो, नेपाल-भारत-भुटान-बंगलादेश-चीनको क्रस-रोड दक्षिण एसियन ग्रोथ क्वाड्र्यांगलको केन्द्रमा पर्छ बेलका-बराह क्षेत्र, जसले नेपालको मात्र नभई भारतका बिहार-बंगाल बजार, चीनको तिब्बत, बंगलादेशको समुद्री पहुँच, भुटान-पूर्वोत्तर भारतको व्यापार सबैलाई जोड्न सहज छ।
कोशी नदी प्राकृतिक आर्थिक करिडोरका रूपमा हिमालयदेखि तराई हुँदै बंगालको खाडीसम्म फैलिएको छ। यही करिडोरमा मेगासिटी, रेल-मेट्रो, द्रुतमार्ग, सामुद्रिक बन्दरगाह, विश्वविद्यालय, उद्योग, वाणिज्य, बैंकिङ तथा पर्यटन सबै जोड्न सकिन्छ।
दोस्रो, पूर्वाधार विकासमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने सम्भावना पूर्ण रूपमा सम्भव छ। किनभने किनकि भारतको सीमासँग नजिक, पूर्वी नेपालको सबैभन्दा ठूलो आर्थिक केन्द्र, कोशी करिडोरको प्रवेशद्वार, हिमालय-तराई-भारत-बंगलादेश जोड्ने एयर-हब बनाउन सकिन्छ।
विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटन, व्यापार, बैंकिङ, मेडिकल हब, कृषि-निर्यात, टेक-स्टार्टअप, ग्लोबल कनेक्टिभिटी सबैमा क्रान्ति आउँछ।
उदयपुर-त्रियुगा-बेलका-बराहक्षेत्र-विराटनगर-मेची द्रुतमार्ग र द्रुत रेल बनाएर तराई-पहाड-हिमालयलाई एक घण्टाभित्र जोड्ने, कोशी नदीको दुवै किनारलाई एकीकृत गर्ने र मेगासिटीको आधारभूत संरचना तयार गर्ने काम गर्छ।
द्रुत रेल (हाइस्पिड रेल) सम्भव छ किनभने कोशी किनार अपेक्षाकृत् सीधा र स्थिर भूआकृति, नदी-तटीय एलिभेटेड ट्र्याक निर्माण गर्न सकिने र भारत-नेपाल-बंगलादेश रेल नेटवर्कसँग जोडिने सम्भावना प्रबल छ।
तेस्रो, कोशी किनारमा पहाड-तराई जोडेर विद्यमान सम्पूर्ण संरचना हटाएर ‘मेगा स्मार्ट सिटी’ निर्माण गर्न सकिने नेपालकै सबैभन्दा महत्त्वाकांक्षी तर सम्भव परियोजना हुन सक्छ। सम्भावित नाम बेलका-बराह महापुर (मेगा स्मार्ट सिटी या हिमालयन सिलिकन भ्यालीका रूपमा) बनाउन सकिन्छ। यसका विशेषतामा नदी-किनारमा हरित-सहर, पहाड-तराई मिश्रण, स्मार्ट ट्रान्सपोर्ट (ट्राम, मेट्रो तथा केवलकार समेत), अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय पर्यटन केन्द्र, अन्तर्राष्ट्रिय वित्तीय केन्द्र, टेक-हब/स्टार्टअप-हब, आधुनिक अस्पताल/मेडिकल सिटी, अन्तर्राष्ट्रिय व्यापार-केन्द्र, तथा उच्चस्तरीय अत्याधुनिक आवासीय क्षेत्रका रूपमा नेपालका विद्यमान सहरभन्दा धेरै योजनाबद्ध विकास सम्भव छ।
चौथो, ज्ञान-अर्थतन्त्र : विश्वविद्यालय-हब र अनुसन्धान-सिलिकन भ्याली बनाउन अति योग्य। जसअन्तर्गत वैदिक सनातन विश्वविद्यालयमा संस्कृत भाषाका सम्पूर्ण ग्रन्थ, दर्शन र वैदिक सभ्यताको अध्ययन-अनुसन्धान हुन्छ। किरात-लिम्बू सनातन विश्वविद्यालय जसअन्तर्गत किरात-लिम्बू भाषा, सभ्यता, ग्रन्थ र दर्शनहरूको अध्ययन-अनुसन्धान हुन्छ।
अर्को विज्ञान-प्रविधि विश्वविद्यालय जहाँ संस्कृतका ग्रन्थहरूलाई जोडेर एआई, रोबोटिक्स, डाटा साइन्स, स्पेस साइन्स, रिन्युएबल इनर्जी तथा इन्जिनियरिङ इनोभेसनको अध्ययन र अनुसन्धान हुन्छ। अर्को कृषि विश्वविद्यालय जहाँ हिमालयन एग्रोइकोलोजी, क्लाइमेट रेजिलिएन्ट क्रप्स, अल्टिच्युड-बेस्ड, बायोटेक्नोलोजी, इकोसिस्टम सर्भिसेस र जैविक विविधता तथा रैथाने प्रजातिका बाली-नाली/जडीबुटीको अध्ययन, अनुसन्धान र विकास हुन्छ।
पर्यटन विश्वविद्यालय जहाँ हिमालयन, कोशी/जल, नेचर, एडभेन्चर, कल्चर, इकोटुरिज्म र हस्पिटालिटी म्यानेजमेन्टको अध्ययन-अनुसन्धान हुन्छ। योगसाधना तथा आयुर्वेद विश्वविद्यालय जहाँ नेचर-बेस्ड स्पिरिचुअलिटी, योग, साधना, जडीबुटी, आयुर्वेदिक तथा औषधिविज्ञानको अध्ययनअनुसन्धान हुन्छ। यी सबै मिलेर ‘हिमालयन नलेज एन्ड इनोभेसन बेल्ट’ बनाउन सकिन्छ।
पाँचौँ, यो क्षेत्रलाई वित्तीय हब बनाउने सम्भावना पनि अत्यन्तै यथार्थपरक छ, जहाँ औद्योगिक उत्पादन, सीमा व्यापार, पूर्वाधार र ज्ञान-अर्थतन्त्रको संयोजन छ। त्यहाँ वित्तीय नवप्रवर्तन र वित्तीय सेवाको केन्द्र बनाउने सम्भावना हुन्छ नै। नजिकै अन्तर्राष्ट्रिय विमानस्थल, सीमा व्यापार, औद्योगिक उत्पादन, पर्यटन, ज्ञान-अर्थतन्त्र, विश्वविद्यालय-हब, द्रुत रेल तथा हरित पूर्वाधारका साथमा वित्तीय नवप्रवर्तन अत्यावश्यक हुन्छ।
भारत, चीन तथा बंगलादेशको सीमासँग नजिक तथा अन्तर्राष्ट्रिय आकर्षणका साथमा अन्तर्राष्ट्रिय वित्तीय हब बनाउन सकिन्छ। पहिलो लगानीको स्वरूप सम्पूर्ण पूर्वाञ्चलवासी हरेक नागरिकको सेयर लगानीबाट हरेक परियोजना सुरु गर्न सकिन्छ। सम्भावित वित्तीय हब सेवाहरूमा क्रसबोर्डर बैंकिङ एन्ड फरेक्स, स्टार्टअप इन्क्युबेसन फाइनान्सिङ, डिजिटल फाइनान्सिङ तथा फिनटेक इनोभेसन, एक्सपोर्ट-इम्पोर्ट क्रेडिट सर्भिस तथा ग्रिन फाइनान्स इको-प्रोजेक्ट हुन सक्छन्।
यो इलाकालाई वित्तीय हब बनाउने सम्भावना अत्यन्तै बलियो छ। भूरणनीति, औद्योगिक आधार, सीमा व्यापार, पूर्वाधार, ज्ञान-अर्थतन्त्र, र नवप्रवर्तनको संयोजनले यो क्षेत्रलाई नेपालको को इस्टर्न फाइनान्सियल इनोभेसन क्यापिटल बनाउने बलियो देखिन्छ।
अन्त्यमा छैटौँ, यो क्षेत्रलाई सिलिकन भ्याली-स्तरको नवप्रवर्तन हब जस्तै बनाउन सकिन्छ किनकि नेपाल-भारत-बंगालादेश-भूटान-चीनका युवा प्रतिभा आकर्षित गर्न, सस्तो र हरित तथा सौर्य ऊर्जा उत्पादन गर्न, नदी-किनारमा टेक-पार्क निर्माण गर्न, अन्तर्राष्ट्रिय आवागमन बढाउन, विश्वविद्यालय-उद्योग-अनुसन्धान त्रिकोणीय अर्थतन्त्र निर्माण गर्न, पर्यटन + कृषि + टेक हाइब्रिड अर्थतन्त्र निर्माण गर्न र नेपाल सरकारले चाहेमा यो क्षेत्र दक्षिण एसियाको नवप्रवर्तन र पर्यटनको राजधानी बन्न सक्छ।
वास्तवमा नेपालका लागि यो २१औँ शताब्दीको सबैभन्दा ठूलो विकास-दृष्टि बन्न सक्छ। दीर्घकालीन दृष्टि, राजनीतिक इच्छाशक्ति र योजनाबद्ध कार्यान्वयनमा राज्यको तत्परता र इच्छाशक्ति भयो भने यो क्षेत्रलाई विश्वकै उत्कृष्ट नमुना विकास मोडेल बनाउने क्षमता छ।
पूर्वाधार, ज्ञान-अर्थतन्त्र, नवप्रवर्तन, संस्कृति, मौलिकता, प्रकृति, जलवायु, र भौगोलिक अद्वितीय संयोजन सायदै संसारको कुनै ठाउँमा होला! यो सरकारलाई दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली मेगा भिजन तयार गरेर कार्यान्वयन गर्न संसारमा उदाहरणीय काम गरेर देखाउन सफलता मिलोस्। नेपालका लागि २१औँ शताब्दीको सबैभन्दा ठूलो विकास-दृष्टिले मूर्तरूप पाओस्! शुभकामना! ‘
काफ्ले फिनल्यान्डस्थित तुर्कु स्कुल अफ इकोनोमिक्स, तुर्कु विश्वविद्यालयका अनुसन्धानकर्ता हुन्।





