‘लालिमा’ की आमा बनेकी उषा 

हिमाल प्रेस १९ फागुन २०८२ १६:०० | Tuesday, March 3, 2026
36
SHARES
‘लालिमा’ की आमा बनेकी उषा 

काठमाडौँ- फिल्मी क्षेत्रमा प्राय: अभिनेत्री आमाकाे भूमिकामा देखिन रुचाउँदैनन्। आफूलाई सधैं अभिनेत्रीकै चरित्रकाे अफर स्वीकार्न  तयार हुन्छन्। तर अभिनेत्री उषा रजककाे हकमा भने त्याे फरक देखिएकाे छ।

उमेरले उनी ४० कटेकी छैनन्। फागुन २९ मा प्रदर्शन हुने फिल्म ‘लालिमा’ मा उषा आमाको भूमिकामा छिन्। प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी फिल्ममा पहिलाे पटक आमा बनेकी हुन्।

दर्शककाे चाहनाअनुसार नै आमाकाे भूमिका गर्न इच्छुक भएकाे उनकाे भनाइ थियाे। यसबारे उषाले भनिन्, ‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो। दर्शकको त्यही प्रतिक्रिया र सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी छु।’

त्यसाे त उनलाई फिल्ममा मुख्य भूमिकामै अफर आएकाे थियाे। ‘फिल्मकाे कथा पढिसकेपछि मैले आमाको रोल गर्छु भनेँ,’ उनले सुरूमा निर्देशकले गरेकाे अफरबारे सुनाइन्।

भविष्यमा पनि उनी आमाको भूमिका गर्न तयार छिन्। उनलाई आमा वा दिदीको भूमिका गर्नु नराम्रो लाग्दैन। ‘हाम्रो दायित्व भनेकाे कलाकारको रूपमा कथालाई अगाडि सार्नु हो,’उनी भन्छिन्, ‘विशेषगरी दक्षिण एसियाली राष्ट्रमा उमेर ढल्किएपछि आमा, दिदी वा भाउजुको भूमिका गर्न मात्र योग्य ठानिन्छ। मैले त छानेरै ‘लालिमा’ मा आमाको भूमिका गरेँ।’

फिल्ममा उनी राेशनी कार्कीकाे आमा बनेकी हुन् अर्थात् लालिमाकी आमा। उनको पात्र शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ। फरक क्षमताको पात्र उनले पहिले एक फिल्ममा काम गरिसकेकाे बताइन्।

लालिमा नै फिल्मकाे मुख्य पात्र हुन्। अन्य भूमिकामा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।

फिल्म याैनकर्मीकाे जीवनकथा र मनाेवैज्ञानिक अवस्थामा आधारित छ। रोशन मिराजको लेखन र निर्देशनमा बनेको फिल्म यही फागुन २९ गते प्रदर्शन हुँदैछ। फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।

प्रकाशित: १९ फागुन २०८२ १६:०० | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast