काठमाडौँ- नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि मोबाइल नम्बरबाटै एकैपटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सक्ने सुविधा ल्याएको छ। यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार यसअन्तर्गत १ हजार २४३ मा २ हजार एसएमएस, ३ हजार १०८ मा ५ हजार र ६ हजार २१५ मा १० हजार एसएमएस पठाउन सकिनेछ।
‘यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ,’ टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट groupsms.ntc.net.np लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गर्नुपर्छ। त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ।’





